मलेसिया पुगेको ३५ दिनमै हात काटिएपछि
मलेसिया, असोज २६ - नुवाकोटको दुई पिपलका शैलेश तामाङ ७ महिनाअघि मलेसिया उड्दा उहाँका हात गोड सग्ला थिए ।
२० वर्षका लक्क जवान तामाङ हेर्दा निक्कै फुर्तिलो हुनुहुन्थ्यो ।
तर अहिले परिस्थिती फेरिएको छ । मलेसियाको पुगेको ३ महिनामै हातका दुई वटा औंला गुमाएपछि अब उहाँसँग पुरानो फूर्ति र जोश छैन । गाउँमै बसेर १२ कक्षा पढ्दै गरेका उहाँमा एक्कासी बिदेश जाने भूत चढ्यो । ‘गाउँका सबै साथी बिदेश गएको देखेर मलाई पनि बिदेश जान मन लाग्यो’ उहाँ भन्नुहुन्छ ‘मलाई पनि एक पटक बिदेश देख्न मन लाग्यो ।’
४ महिनाअघि काठमाडौंको डमरु ओभरसिजलाई १ लाख ५० हजार रुपैयाँ तिरेर मलेसिया पुगेपछि उहाँ छाँगाबाट खसेजस्तै हुनुभयो । कारण उहाँलाई म्यान पावर कम्पनीले पेपर प्याकिङ कम्पनीमा काम गर्ने भनेर झुक्याउँदै फर्निचर कम्पनीमा पठाएको थियो ।
म्यानपावरले आफूलाई झुक्याएर विदेश उडाएको सम्झँदै उहाँ भन्नुहुन्छ ‘हामीले यहाँ आएर पलबक्स इन्डस्ट्रिज सप्लाई नामको सप्लायर कम्पनीको मातहतमा काम गर्नु पर्यो ।’
भने अनुसारको काम नपाएपछि आएको पहिलो महिना नै उहाँले स्वास्थ्य परीक्षण गर्न मान्नु भएको थिएन पनि । ‘तर के गर्ने नआउनु आइहालियो, पैसा फसिहाल्यो, बाध्य भएरै पनि स्वास्थ्य परीक्षण गरियो, काममा लागियो’ भाबुक मुद्रामा तामाङ्गले बताउनुभयो ।
पेपर कम्पनीका लागि भनेपनि बाध्य भएर फर्निचर बनाउने कम्पनीमा काम गरेका उहाँ विस्तारै सबै काम सिक्दै हुनुहुन्थ्यो । काठमा काँटी ठोक्ने, प्लाइउड बनाउने, काठ चिर्ने जस्ता सबै काम सिकिसकेका उहाँका लागि गएको जुनको ४ तारिख कालो दिन भयो । काठ चिर्दै गर्दा उहाँको हातका दुई वटा औंला काठ चिर्ने मेसिनमा परेर काटियो । उहाँको हात काटिएको दिन उहाँले मलेसियमा पाइलो टेकेको ३५ दिन मात्र भएको थियो । ‘म त्यो दिन काठलाई चिल्लो बनाउन मेसिनमा काठ छिराई रहेको थिएँ, त्यै बेलामा खै कसरी कसरी मेरो हात मेसिनमा पर्यो ।’ अनुहार राता रातो पार्दै उहाँले चार महिनाअघिको दुर्घटना सम्झनुभयो ‘मेरो हातको औंला काटिएको मलाई राम्रोसँग याद छ ।’
औला काटिने वित्तिकै भुईंमा लडेका तामाङका साथीहरुले हातमा कपडा बेरिदिएर रगत बग्न रोक्ने प्रसाग गरेका थिए । दुर्घटनामा परेको बेला कम्पनीका जिम्मेवार मानिस काम गर्ने ठाउँमा नभएकाले सँगै काम गर्ने एक महिलाका श्रीमानले ट्याक्सी बोलाएर काजाङ्ग अस्पतालमा लगेको उहाँ बताउनुहुन्छ ।
मात्र दुई दिन अस्पतालमा बसेर उपचार गराएका उहाँ त्यसपछि ड्रेसिङ गराउन दिन विराएर अस्पताल पुग्नुहुन्थ्यो । तर घाउ निको नभएपछि दुई पटक अप्रसन नै गर्नु परेको भन्दै उहाँले भन्नुभयो ‘त्यसपछि चाहिँ मलाई केहि निको हुँदै गएको जस्तो अनुभव हुन थाल्यो ।’
औला काटिएपछि जागिर गयो
जुन कम्पनीमा काम गर्दा उहाँले हातका औला गुमाउनुभयो । त्यही कम्पनीले पछि उहाँलाई कामबाट निकालिदियो । १५ दिन आराम गरेपछि फेरि काममा फर्किएका तामाङ काम गर्न नसकेको भन्दै कम्पनीले कामबाट निकालिदिएको बताउनुहुन्छ । ‘पहिलो जस्तो र अरुको जस्तो काम गर्न नसके पनि आफूले सक्दो गरेको थिएँ’ तामाङले भन्नुभयो ‘तर एक दिन कम्पनीले अरु समान काम नगर्ने हो भने तलब दिन सक्दिँन भन्यो ।’ त्यसपछि आफू काममा जान छाडेको उहाँ सुनाउनुहुन्छ ।
एकातिर औंला गुमेको पीडा त अर्कोतिर कम्पनीले काम नदिएपछि खानका लागि साथीहरुको भर पर्नु पर्ने बाध्यता । उहाँलाई कम्पनीले नेपाल फिर्ता पठाउने पहल पनि गरेको छैन र मलेसियमा खाने, बस्ने र औषधी उपचारको व्यवस्था पनि ।
उपचार गराउँदा काममा अनुपस्थित भएपछि तलब कट्टा भएको थियो । उहाँले त्यो तलब पनि पाउनु भएको छैन र दुर्घटना बिमाको रकम पनि पाउनु भएको छैन । चार महिनादेखि साथीहरुको सहयोगमा बसिरहेका तामाङ अहिले सहयोगका लागि जी फन्ट सपोर्ट ग्रुप मलेसियाको शरणमा पुग्नु भएको छ । जी फन्ट सपोर्ट ग्रुप मलेसिया अध्यक्ष जनक बिकले तामाङको पुरै हात नै काम नलाग्ने भएकोले उहाँले पाउने बिमा र राहतको रकम उपलब्ध गराएर मात्र नेपाल फर्काउन पहल थालिएको बताउनुभयो ।
via -ujyaaloonline.
0 comments
Write Down Your Responses