पारसलाई आफ्नै प्रेमिकाले फसाएको आशंका

पूर्वयुवराज पारस शाह पक्राउको घटनामा उनकी थाई प्रेमिका कनिका चान्साईको भूमिका शंकास्पद देखिएको छ । आर्थिक लाभ लिने उद्देश्यले उनले पारसलाई योजनाबद्ध रूपमा फसाएको अनुमान गरिएको छ ।
paras-shah-arrested-with-marijuna 1
थाइल्यान्डमा रहेका पारसका नेपाली साथीहरूका अनुसार पारसलाई पक्राउ गर्ने प्रहरी र कनिकाबीच चिनजान रहेको खुलेको छ । नोङ खाई प्रान्तस्थित कनिकाको घरनजिकैको गाउँबाट पारस बुधबार पक्राउ परेका थिए । ‘होटलबाट पारस घुम्न निस्किएपछि कनिकाकै सूचनाका आधारमा प्रहरीले पक्राउ गरेकोमा दुईमत छैन,’ पारसलाई सहयोग गर्दै आएका बैंककस्थित एक नेपाली भन्छन्, ‘अरूबाट प्रहरीले सुराकी पाउने कुनै सम्भावना नै छैन ।’ चेकिङको क्रममा नभई सुराकीको आधारमा पछ्याएर पारसलाई स्थानीय प्रहरीले पक्राउ गरेको उनको दाबी छ ।

पारसलाई पक्राउ गर्ने प्रहरी र कनिकाबीच चिनजान, कनिकाले नै अहिले प्रहरी र पारसबीच मध्यस्थता गरिरहेकी छिन्
धरौटीमा छुटाउन प्रहरीले सात लाख भाट (करिब २० लाख रुपैयाँ) घुस मागेको उनले पारसका साथीहरूलाई बताएकी छिन्
सुरुमा पारसलाई छुटाउन प्रहरीसँग कुरा मिले पनि पछि जेल जान सक्ने भन्दै कनिकाले थप पैसा जुटाउन भनेपछि पारसका नेपाली साथीहरू हैरान
शनिबार र आइतबार सरकारी बिदा भएकाले पारसलाई सकेसम्म सोमबार छुटाउने प्रयास
आर्थिक लाभ लिने उद्देश्यले कनिकाले पारसलाई फसाएको हुनसक्ने पारसका साथीहरूको भनाइ छ । पक्राउ परेपछि छुटाउनका लागि मोटो रकम खर्च गराउने रणनीतिका साथ कनिकाले घरनजिकैको प्रहरीलाई खबर गरेको उनीहरूको दाबी छ ।
कनिकाका पछिल्ला गतिविधिले पनि उनीहरूको दाबीलाई पुष्टि गर्छ । स्रोतका अनुसार अहिले कनिकाले नै प्रहरी र पारसबीच मध्यस्थता गरिरहेकी छिन् । धरौटीमा छुटाउनका लागि प्रहरीले सात लाख भाट (करिब २० लाख रुपैयाँ) घुस मागेको उनले पारसका साथीहरूलाई बताएकी छिन् । थाई प्रहरी विश्वमै भ्रष्ट प्रहरीको सूचीमा पर्छ ।

पारसका साथीहरू त्यति रकम घुस दिन पनि तयार भएका थिए । तर, पछि प्रहरीले थप पैसा मागेको भन्दै कनिकाले बढी रकम चाहिने बताएको स्रोतले जनाएको छ । शनिबार र आइतबार सरकारी बिदा भएकाले पारसलाई सकेसम्म सोमबार धरौटीमा छुटाउने प्रयास भइरहेको छ । सुरुमा प्रहरीसँग कुरा मिले पनि पछि जेल जान सक्ने भन्दै कनिकाले थप पैसा जुटाउन भनेपछि पारसका साथीहरू हैरान भएका छन् ।

‘पहिलेदेखि नै उनले पारसको कानुनी सल्लाहकारको रूपमा समेत काम गर्दै आएकी छिन्,’ बैंककस्थित एक नेपाली व्यवसायी भन्छन्, ‘यो केसमा पनि उनले मोटो रकम कमाउन चाहेकी छिन् ।’ स्रोतका अनुसार कनिकाले नै पारसका लागि लागुऔषध किनिदिने गरेकी थिइन् । लागुऔषध खरिदका लागि पनि उनले पारसबाट मोटो रकम लिने गरेकी थिइन् ।

यसअघि पनि पारस दुईपटक लागुऔषधसहित पक्राउ परेका थिए । त्यतिखेर पनि कनिकाको सुराकीकै आधारमा पक्राउ गरिएको नेपालीहरूको दाबी छ । ती मुद्दा लड्ने क्रममा पारसले लाखौँ भाट सिध्याएका छन्।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.