सिके राउत किन विद्रोही बने ? (आत्मकथा)
राज्यद्रोहको अभियोगमा पक्राउ परेका सिके राउत किन देश टुक्र्याउने अभियानमा छन् ? उनले के कस्ता कुरा भोगे ? यसबारे उनले आफ्नो आत्मकथामा केही विवरण उल्लेख गरेका छन् । उनको देश टुक्र्याउने अभियानसँग पक्कै हामी असहमत हौंला तर उनले भोगेका कुरा पनि पढौं | प्रस्तुत छ उनको आत्मकथाको केही अंश :
मान्छे हैन मधिसे :
गाउँमा केही समय बिताएपछि म काठमाडौंका लागि प्रस्थान गरें। क्लास शुरू हुनै लागेको थियो। म आफ्नो बिछ्यौना र किताबहरू लिएर काठमाडौं आएँ। पहिला बसेकै नातेदार कहीं नै बसें, र भाडाका लागि कोठा खोज्न थालें। नातेदारले पनि अरूलाई कोठा खोजिदिन भनेका रहेछन्।
दशैंपछि मात्र म कलेजको होस्टलमा कोठा पाउने सम्भावना थियो, र कम्तीमा तीन-चार महिनाका लागि मलाई कोठा चाहिएको थियो। छात्रावासको कोठा वितरणमा समेत पहाडबाट आएकालाई प्राथमिकता दिइन्थ्यो, र त्यही भएर म कोठा पाउनेछु नै भने निश्चित थिएन।
हप्तौंसम्म हामी निकै आतुर भएर कोठा खोज्यौं। तर घरबेटीले बस्न खोजेको मान्छे मधेशी हो थाहा पाउना साथ कोठा दिन अस्वीकार गर्थ्यो। हप्तौंसम्म पनि कोठा खोज्न नसक्दा मेरो नातेदारले कलेजकै पुरानो छात्रावासमा एक जनासँग केही दिन बस्ने चाँजो मिलाइदिए। हामीले त्यहींबाट कोठा खोज्ने काम जारी राख्यौं।
त्यस खोजका क्रममा पहाडीहरूले मधेशीलाई बोलाउने विभिन्न थप कोडवर्डसँग पनि म परिचित भएँ। पहाडीहरूले हामीलाई अपमानित गर्थे, हप्काउँथे, कराउँथे, र कहिलेकाहीं आफ्नो कुकुरलाई बोलाएर पनि हामीलाई तर्साउँथे। तिनीहरूको घर नजिक जाना साथ, ‘खाली शीशीबोतल छैन, फोहर छैन, जा’ भनेर हप्काउँथे। नेवारहरूले त गाली गरेको हाउभाउले मात्र बुझिन्थ्यो, मर्स्या बाहेक अन्य शब्दहरू हाम्रा लागि मतलबहीन हुन्थे। मधेशीहरूमाथिको अमानवीय व्यवहार कुनै नौलो थिएन, काठमाडौंमा एउटा लोकोक्ति नै थियो — मनु मखु, मर्स्या ख:, अर्थात् ‘मान्छे हैन, मधिसे हो’। त्यो लोकोक्तिपछाडि आफ्नै इतिहास छ। एक जना लेखकले त्यसलाई यसरी भनेका छन्[19]—
“धेरै अगाडिको कुरा हो, जतिबेला काठमाडौंमा शौचालय हुँदैन्थ्यो र सम्भ्रान्त परिवारका महिलाहरू समेत बागमतीको किनारमा नित्यकर्म गर्न जाने गर्थिन्। तिनीहरू आफ्ना नोकर लिएर जाने गर्थिन्, जसको काम कोही मान्छे आउन लागेको खण्डमा आवाज दिएर तिनलाई सचेत गराउनु थियो ताकि तिनीहरू आफ्नो लाज छोप्न सकून्। हुस्सु लागेको एका बिहानी त्यतातिर एउटा मधेशी आएको देखेर नोकरले ‘मान्छे आयो, मान्छे आयो’ भनेर कराएछ। नित्यकर्ममा तल्लीन मालिकनी उठ्दै मधेशीतिर एक छिन टोलाइन्, अनि ‘देख्दैनस्, मान्छे हैन, मधिसे हो’ भनेर नोकरलाई बेस्सरी गाली गर्दै बेफिकिर आफ्नो काममा पुन: लागिन्।”
मधेसीले बोरामा हालेर लान्छ:
हामी पहाडीहरूका लागि भूत थियौं, कालो प्रेत थियौं र तिनीहरूले आफ्ना बच्चालाई डराउन हामीलाई देखाउने गर्थे। एक जना नेवारी साथीले मलाई अक्सर भन्ने गर्थिन् कि कसरी उनका बा-आमाले उनी सानो छँदा मधेशीको नाम लिएर तर्साउने गर्थे, ‘मधेशीले बोरामा हालेर लान्छ’ भन्दै कसरी डराउने गर्थे र कसरी उनी घरको कुनामा लुक्ने गर्थिन्।
तर सबै अपमानका बाबजूद हामीले आफ्नो खोज जारी राख्यौं। उता क्लासरूममा पनि मेरो अनुभव त्यति रमाइलो थिएन। ती दिनहरू कलेजमा मेरा प्रारम्भिक दिनहरू थिए। मैले सुनेको थिएँ कलेजमा अंग्रेजीमा पढाइ-लेखाइ हुन्छ र अंग्रेजी मै बोल्नुपर्छ। तर प्रोफेसर र विद्यार्थी दुवै मुख्यत: नेपालीमै कुरा गर्थे, र केही स्थानीयहरू आफूमा नेवारीमै। मधेशीहरू नेपाली बोल्दा व्याकरण अनुसार पूरा शुद्ध भए पनि एउटा अलग शैली झल्किने गर्दछ तर त्यो कुरा क्लासरूमदेखि राष्ट्रिय रेडियो र टीभीमा समेत उपहासको कारण बन्ने गर्दछ। त्यही भएर म आफ्नो परिचय दिन वा कुनै उत्तर दिन नेपालीमा बोल्ना साथ पूरा कक्षा कोठा अट्टहासले गुञ्जमान हुन्थ्यो र लेक्चरर गइसकेपछि पहाडी विद्यार्थीहरूले मलाई जिस्काउँथे। म नेपाली होइन भनेर उपहास गर्थे, कक्षा भित्र र बाहिर तिनीहरूले अनेकौं मजाक गर्थे।
शुरूमा ओभरसियर कोर्स पढ्न पाउँदा म निकै खुशी थिएँ। प्रथम वर्षमा साइन्समा झैं फिजिक्स, केमिस्ट्री र म्याथ पनि पढाइन्थ्यो र म ती विषयहरू कक्षामै राम्ररी पढ्न चाहन्थें। ब्रिज कोर्स मैले गरेको थिइनँ न त कुनै ट्यूशन नै पढेको थिएँ, र त्यही भएर पढाइमा म गम्भीर हुन चाहन्थें। तर कक्षाकोठाको अपमानजनक वातावरणले गर्दा म क्लास छाड्न थालें। म कहिले स्वयम्भू त कहिले गोदावरी जान थालें, पार्कमा एक्लैएक्लै गएर भौँतारिन थालें। पटक-पटक म ऐतिहासिक संग्रहालयहरू र हनुमानढोका दरबार गएँ। आफ्नो गाउँतिरका मजदुरहरूसँग भेटेर गफ चुट्न थालें। तर एक पटक तिनीहरूमध्ये एकले मलाई ‘क्लास जानु पर्दैन?’ भनेर सोधेदेखि म तिनीहरूलाई भेट्नु साटो कतै एक्लै घुम्न नै मन पराउन थालें।
शिशिर आइसकेको थिएन, दशैं नै आउन बाँकी थियो। तर मलाई जाडोको अनुभव हुन्थ्यो। मसँग जुत्ता थिएन, र जाडोले कठाङ्ग्रिएका खुट्टाका औँलाहरू बाटाका कुनै ढुंगा वा गिटीमा ठोकिँदा नराम्ररी दुख्थे। कलेजमा जुत्ता नलगाउने कोही पनि भेटिन्नथ्यो र म पनि जुत्ता लाउन लालायित थिएँ। मैले आफ्नो जीवनमा कहिले पनि जुत्ता लाएको थिइनँ। फुटपाथमा किन्दा चीज सस्तोमा पाइन्छ भनेर मान्छेहरूले भन्थे तर शर्टको कुरा सम्झँदा त्यहाँ कुनै कुरा किन्ने हिम्मत ममा बाँकी थिएन। त्यही भएर मैले एउटा राम्रो पसलमै गएर जुत्ता किन्ने विचार गरें।
असनको एक गल्ली हुँदै एका बिहानै गइराखेको बेलामा म एउटा जुत्ता पसलमा छिरें। पसल भरखरै खुलेको थियो। साहुले उदार हुँदै किसिम-किसिमका जुत्ताहरू देखायो। मेरो पैताला लामो थियो, र उसले देखाएका जुत्ताहरू मध्ये एक जोडीमा मात्र आरामदायी रूपमा छिर्न सक्थ्यो। तर त्यसको दाम निकै नै बढी थियो। मसँग त्यति पैसा थिएन, र म त्यही भएर नकिनिकनै जान खोजें। तर उसले मलाई जानबाट रोक्यो। म उसको पहिलो ग्राहक परें रे, र नकिनिकन जाँदा उसलाई अपशकुन हुने भन्ने कुरा उसले बतायो। तर म उसलाई मद्दत गर्न असमर्थ थिएँ — मैले किन्न सक्ने जुत्तामा पैताला अटाउँदैनथ्यो र पैताला अटाउन सक्ने जुत्ता किन्ने पैसा मसँग थिएन। पैताला नअटाउने सानो जुत्ता किन्न उसले जोर गरिरह्यो, र म अस्वीकार गरिरहें। अन्त्यमा ऊ रिसायो र एउटा जुत्ता उठाएर मेरो गालामा हिर्कायो। के भएको हो भनेर एक छिन त मैले बुझ्नै सकिनँ, केही पल ल्याप्स भए जस्तो, अकस्मात् आँखाअगाडि अँध्यारो भएर झिल्का बले जस्तो लाग्यो। ल्याप्सबाट निस्केर होश आएपछि म मुस्कुराएँ। उसले फेरि त्यही गालामा मलाई हिर्कायो। धमिलिएको दृष्टिमै म पसलबाट बाहिर निस्केर हिँड्न थालें र भीडमा हराएँ — शून्य सोच र अचेत मष्तिष्क लिएर। म विना जुत्ता नै क्लास गइरहें।
दशैंको विदा नजिकै आउन लागेको थियो। तीन-चार जना मिलेर खोजिरहँदा पनि मैले अझै कोठा भेटाएको थिइनँ। मसँग त्यति उत्साह बाँकी थिएन। ती सबै अपमान र अमानवीय तथा निम्न दर्जाको नागरिकको व्यवहारले वाक्क हुँदै म आफ्नो पढाइ छोडेर घर फर्कने भनेर सोचें।
मैले साझा बसको टिकट बूक गरें, त्यसमा कम पैसा लाग्थ्यो। मसँग धेरै पैसा बाँकी थिएन र यसपालि फेरि बसभाडा दिन दुई रूपैयाँ पनि नहोस् भनेर नदोहोरिऊन् भनेर म सतर्क थिएँ। मेरो टिकट विदाको केही अगाडिकै दिनको लागि भए पनि त्यो दिनसम्म खान पुग्ने पैसा मसँग थिएन। मैले क्यालेन्डर लिएँ र त्यसमा कुन-कुन दिन, कुन-कुन समय खाना नखाने भनेर अल्टरनेट रूपमा चिनो लगाएँ। लगातार भोकै बस्नुभन्दा त्यसरी ‘उपवास’ बस्नु उपयुक्त लाग्यो। बाँकी दिनहरू त्यसरी नै जाने दिनको प्रतिक्षा गर्दै बिताएँ।
आखिर त्यो दिन आइपुग्यो। आफ्ना सबै सामानहरू समेटे, बिछ्यौना र सिरक बाँधे, र घरको लागि प्रस्थान गरें। बसमा बसिरहेको बेला म नेपाल तराई विद्यार्थी नवजागरण संघले कलेजमा गर्न लागेको स्वागत कार्यक्रमका लागि दिएको आमन्त्रण पत्र हेर्दै थिएँ कि सँगै बसेको यात्रुको ध्यान मतिर आकृष्ट भयो। उनले पनि त्यो कार्यक्रममा जान नसकेको खेद गर्दै आफू त्यस संस्थाका संस्थापकहरू मध्ये एक भएको कुरो बताए। उनले मधेशी हुनुको आफ्ना अनुभवहरू साटे र त्यो संस्था किन स्थापना गर्नुपरेको भन्ने कुरा पनि गरे। मधेशी विद्यार्थीहरू काठमाडौंमा डरले कसरी आफ्नो ढोका प्राय: चुकुल लाएर राख्ने गर्थे, कसरी तिनीहरूले कुनै पहाडी नेताको तस्वीर आफ्नो कोठामा झुण्ड्याएर राख्नुपर्थ्यो र कसरी हरेक कुरा पहाडी विद्यार्थीहरूले चाहे बमोजिम गर्नुपर्थ्यो भन्ने कुरा बताए। क्यान्टीन र होस्टलमा मधेशीहरूमाथि हुने गरेको पिटाइ, पहाडीहरूले खुकुरी निकालेर मधेशीहरूलाई गर्ने गरेको खेदाइ आदि कुराहरूको चर्चा गरे। सिभिल इन्जिनियरिङ भवनको माथिल्लो तल्लाबाट पहाडीहरूले मधेशीलाई फालेको घटनाको बारेमा पनि बताए। त्यसरी कुरा गर्दै हाम्रो बाटो कट्यो र अन्त्यमा आफू बचेको महशूस गर्दै म घर पुगें।
सिरक-बिछ्यौना समेत आफ्ना सबै कुराहरू लिएर म घर फर्केको थिएँ र घरमा त्यसले सबै असमञ्जसमा परेका थिए। ठूल्दाइ रिसाउनुहुन्थ्यो भने भाउजूले फेरि जाने कि नजाने भनेर सोध्नुहुन्थ्यो।
महिना भरको विदामा घरमा आफ्नो कुरा कसरी बताउने बारेमा म अलमलमै रहें। मेरो कदम कुनै ऐनालाई ढुंगाले जोरले हानेर चकनाचूर पारे झैं लाग्थ्यो, र काठमाडौं त्याग्ने कि नत्याग्ने भनेर म फेरि-फेरि सोचिरहन्थें। म आफ्नो यथार्थ, ती अपमानका घटनाहरू, ती अमानवीय व्यवहारहरू पनि कसैलाई भन्न असमर्थ थिएँ — त्यो गाउँलेहरूका अगाडि भन्नु आफ्नै साख छोट्टयाए जस्तो लाग्थ्यो।
मेरो ओभरसियर पढ्ने अवसर परिवारको लागि आशाको किरण थियो। दाइहरू बेरोजगार हुनुहुन्थ्यो, घरको आर्थिक स्थिति पहिला कहिले नभए झैं गिरेको थियो। त्यसका अलावा मेरो उपलब्धिमा गाउँलेहरू उत्तिकै हर्षित थिए। त्यो अवसर छोड्नु तिनीहरूको आशा चकनाचूर पार्नु बाहेक केही थिएन, र मेरो लागि एउटा अमेटनीय दाग पनि। त्यसले बुवालाई पनि ठूलो धक्का पुग्ने निश्चित थियो। दाइहरूको दुर्दिनपछि उहाँको आशा ममाथि नै टिकेको थियो र त्यही भएर सारा कठिनाइका बाबजूद उहाँले मलाई अगाडि पढाउने हिम्मत गर्नुभएको थियो। त्यही भएर अन्त्यमा जे-जस्तो भए पनि काठमाडौं फेरि फर्कने विचार गरें। त्यसपटक ठूल्दाइ मलाई भारदह छोड्न आउनुभएको थियो, र बाटोमा धैर्य राखेर कडा मेहनत गर्न भन्नुभयो।
भारदहबाट काठमाडौंसम्मको बस यात्रा निकै नै अपमानजनक हुने गर्दथ्यो। एजेन्टबाट टिकट बूक गराए पनि लहान कटेपछि वा बस पहाडी क्षेत्रमा पुगेपछि खलासी र बसस्टाफले सीट छोड्न बाध्य बनाउँथ्यो। त्यही सीटकै टिकट काटेर त्यहाँ कुनै पहाडीलाई बसाइन्थ्यो र मलाई तल बस्नुपर्थ्यो। त्यहाँ यात्रीहरू कुल्चेर हिँड्थे, पहाडीहरू कोस्थे, हुत्याउथे र नानाभाँतीका गालीहरू दिन्थे। कहिलेकाहीं सामान फालिदिन्थे। खाना खाए-नखाए पनि लात्ती र गाली खाँदै बसमा रात बित्थ्यो। र यो क्रम लगभग हरेक पल्ट जाँदा हुन्थ्यो। अन्त्यमा म त्यो रूटबाट जानै छोडें र राजबिराजमा चिनेको काउन्टरबाट सीट बूक गराउन थालें। राजबिराजको रूटबाट जाँदा पनि कहिलेकाहीं त्यस किसिमको घटना दोहोरिरह्यो।
॰कोर्सको प्रथम सेमेष्टरमा आखिर मैले डेरा पाउनै सकिनँ र अन्त्यमा त्यस समय काठमाडौंमा भएको मेरो कजनले आफ्नो साथीलाई मैले छात्रावास नपाएसम्म सँगै राख्न आग्रह गरे। केही महिनाका लागि म उनीहरूसँगै बसें। म फ्लोरमा कागज बिछ्याएर त्यसमा आफ्नो बिछ्यौना लगाएको थिएँ। त्यो काठमाडौंमा मेरो पहिलो जाडो थियो। मसँग पर्याप्त लुगा थिएन, र निकै नै जाडो लाग्थ्यो।
केही महिनापछि छात्रावासमा कोठा पाएपछि म अरू दुई मधेशीसँग पुरानो छात्रावासमा सरें। त्यहाँ मेरा धेरै साथीहरू बने र घंटौसम्म हामी गफगाफ र रमाइलो गर्दथ्यौं। साथीहरू मध्ये शुशील चौधरीसँग म धेरै कुरा गर्थें, हाम्रो समाजका विविध पक्षहरूका बारेमा। छुट्टीमा हामी सँगै खाना बनाउँथ्यौं। हामी यतिका धेरै सँगै बस्थ्यौं कि प्रथम वर्षभरि गल्तीले पहाडी साथीहरूले मलाई शुशील चौधरीको नामले बोलाउँथे र हरेक पटक मैले उनीहरूलाई सम्झाउनुपर्थ्यो।
ती दिनहरूमा म वेद र अन्य धर्मग्रन्थका मन्त्रहरू उच्चारण गरिरहन्थें, धर्मग्रन्थहरूको पाठ पनि गरिरहन्थें। त्यो देखेर एक दिन भर्खरै परिचय भएका मेरा एक साथीले म ब्राम्हण हो कि भनेर सोधिहाले। म केही बोल्नुअगावै नजिकै उभेका एक पहाडी ब्राम्हण साथीले मजाक उडाइहाले — ‘त्यो त अनुहारबाटै देखिन्छ नि!’ म स्कूलमा हुँदा पनि प्राय: ब्राम्हण र राजपूत साथीहरू बीच नै घेरेको हुन्थें तर कसैबाट त्यस्तो मजाक मैले सुनेको थिइनँ, र त्यो दिनको सानो टिप्पणीले मलाई किन हो किन बिझाइरह्यो।
कलेजमा रंगभेदको शिकार म भइरहें। तर यसपालि म दृढ थिएँ, र त्यति अत्तालिन्नथें। गाली गर्ने वा अपमानजनक शब्दहरू प्रयोग गर्नेतिर म नहेरिकनै आफ्नो बाटो लाग्थें। म तिनीहरूबाट निरूत्साहित नहुने अठोट गरें। पहाडीहरूको शिकार नहुनु परोस् भनेर म पहाडी साथीहरूसँगै बस्न थालें, र तिनीहरूको बोली-व्यवहार आफूमा उतार्न थालें। म जति खेर पनि नेपाली मै बोल्न थालें, नेपाली लोकगीत र दोहोरी गाउन थालें, र हरेक कुरा नेपाली कै चर्चा गर्न थालें। आफ्नो भाषा बोल्न, वा आफ्नो तिरका कुनै चीजको चर्चा गर्न मैले पटक्कै छाडिदिएँ। किनकि मधेशतिरका भाषा बोल्ना साथ वा उतातिरका कुनै कुराको चर्चा गर्ना साथ पहाडीहरूले तुरुन्तै जिस्काउन थाल्थे र अपमान गर्न थाल्थे। आफ्नो मूल, आफ्नो ठाउँ, आफ्नो चाडपर्व, आफ्नो संस्कृति वा मधेशसँग सम्बन्धित कुनै कुरालाई आफूबाट टाढा राख्नथालें र पहाडीहरूको रहन-सहनमा भिज्न थालें। त्यही भएर दोश्रो वर्षमा नयाँ छात्रावासमा सर्ने अवसर आउँदा म दुई पहाडी रूममेटका साथमा कोठा सरें। तिनीहरूसँग बस्दा मेरो एक्सेन्ट पश्चिम नेपालतिरको पहाडीहरूले बोल्ने नेपाली झैं हुन थाल्यो। अनुहार नहेरी, मेरो आवाज मात्र सुनेको खण्डमा मधेशी नभएर पहाडी नै हो कि भनेर अनुमान शायद मान्छेहरूले लगाउँथे होला। नयाँ छात्रावासमा धेरै विद्यार्थीहरू बस्थे र त्यहाँ बढी नै दुर्व्यवहार हुन्थ्यो — खास गरी टिभी हल र अन्य साझा ठाउँमा।
एक पटक बुवा केही कामले काठमाडौं आउनुभएको थियो र मलाई भेट्न नयाँ छात्रावास आउनुभयो। राती उहाँ गाउँकै मजदुरहरूसँग बूढानीलकण्ठमा बस्नुभएको थियो। मध्यान्ह भइसकेकाले क्यान्टीन बन्द भइसकेको थियो, र खाना खान हामी बाहिर जान लाग्यौं। सिभिल इन्जिनियरिङको ब्लकनिर पुगेपछि सडक छेउमै बसिरहेका केही विद्यार्थीहरूले बुवातिर ढुंगा फ्याँके। ठूलो कदका उहाँ ठूल्ठूलै पाइला चाल्नुहुन्छ। संयोगले ढुंगा उहाँलाई नलागी उहाँको खुट्टापछाडि र मेरो अगाडि भएर गयो। बुवालाई धोती भनेर गाली गर्दै कराइरहेका केटाहरूतिर फर्केर एक नजर मैले हेरें, तर रोकिनँ। बुवाले आफ्नो जीवनभरि धोती-कुर्ता वा लुंगी नै लाउनुभयो, र ती वेषभूषा मधेशीहरू प्रति अपमान र दुर्व्यवहारका कारक थिए। कहिलेकाहीं त पहाडीहरूले मधेशीको धोती नै खोलिदिन्थे। त्यसबाट जोगाएकोमा म भगवान् प्रति आभारी थिएँ। उहाँको वेषभूषाले दिनभरि अरू ठाउँमा पनि समस्या दिइरह्यो। टेम्पुका फुच्चेको हेपाइमा हुन् कि फूल बेच्नेको सम्बोधनमा, ‘धोती’ भनेर दिनभरि सुनिरहनु पर्यो। अपमानका घटनाहरू अनगिन्ती थिए। त्यो दिन मलाई सुपरम्यानको शक्तिको इच्छा भइराख्यो ताकि म आफ्नो बुवाको सम्मानको रक्षा गर्न सक्थें।
राजा ज्ञानेन्द्रलाई पत्र :
त्यस वर्ष शिक्षा दिवसको अवसरमा तत्कालीन् राजा ज्ञानेन्द्रबाट म महेन्द्र विद्या भूषण पाउनेवाला थिएँ। बुवाको सम्मानमा मैले त्यो पदक धोती-कुर्तामा लिने ठूलो इच्छा थियो। अरू बेला जे लाए पनि विशेष अवसरहरूमा कम्तीमा धोती-कुर्ता लाउने हाम्रो संस्कार थियो र त्यही भएर त्यो चाहना जागृत भएको थियो। यस बारेमा म घरमा पनि कुरा गरेको थिएँ, र गाउँलेहरूलाई पनि जानकारी गराएको थिएँ। तर प्राप्त जानकारी अनुसार त्यो पदक थाप्न पहाडीहरूको भेष दौरा-सुरुवाल र टोपी लाउनु अनिवार्य थियो, त्यही टोपी जुन नलाइकन नेपाली नागरिकता प्राप्त हुन्नथ्यो। म मन्त्रालय गएर सचिव समक्ष आफ्नो कुरा बारबार राखें, उनले मन्त्रीलाई पनि सोधे र भने — ‘दौरा-सुरूवाल-टोपी नलाइकन देखिनुभयो भने त्यहाँको हाता भित्र छिर्न पनि दिइने छैन।’ मलाई दु:ख लाग्यो। आफ्नो घरमा र गाउँलेहरू समक्ष गरेको कुरा सम्झेर झन बिझ्यो।
मैले राजा ज्ञानेन्द्रका नाममा एउटा खुला पत्र लेखें, कम्प्युटर त मसँग थिएन, कुपन्डोलको एउटा साइबर क्याफेमा गएर प्रति पेज दश रूपैयाँका दरले टाइप गराएँ, र प्रमुख दैनिक समाचारपत्रहरू र मन्त्रालय लगायतका ठाउँहरूमा पठाएँ (हेर्नुस्, परिशिष्ट ख)। कुनै पनि पत्रिकाले त्यसलाई स्थान दिएन, न त कुनै निकायबाट नै मैले त्यसको कुनै उत्तर नै पाएँ।
कतैबाट कुनै प्रतिक्रिया नआउँदा सोचें, शायद यी कुराहरूमाथि बहस गर्नका लागि समय अपुग भएछ र यस पालि एक पटक दौरा-सुरुवालमै राजालाई भेटौं, यसबारेमा पछि कुरा गरौंला। म दुई-तीन दिनमै दौरा-सुरुवाल बनाउन लगाएँ, र त्यही लाएर राजालाई भेटन गएँ।
मैले राजाबाट पदक ग्रहण गरें र कोठा फर्कें। त्यो दिन म ज्यादै अपमानित भएको महशूस गरें, मेरो आत्मसम्मान बलात्कारित भएको महशूस गरें। पहाडी टोपी र दौरा-सुरुवाल नलाइकन अझै पनि नेपालीका रूपमा स्वीकार्य हुन नसक्दा मेरो चित्त दुखेको थियो। मेरो योग्यता, मेरो डिग्रीलाई नेपाली टोपी नलगाइदिंदासम्म पदक पाउन अयोग्य थियो।
मधेसी मास्टर :
फाइनल परीक्षा सकेपछि म इन्जिनियरिङ कलेजमा पढाउन थालें। कलेज चल्न थालेको वर्ष दिन मात्र भएकाले नयाँ-नयाँ प्रयोगशालाहरू सेटअप गर्न र सबै कुरा मिलाउन अलि बढी नै व्यस्त हुनुपर्थ्यो।
कलेजमा अरू लेक्चररहरू ड्रविङ्ग सर, सर्भे सर आदि हुन्थे, म भने पाले लगायत धेरैका लागि मधेशी सर नै थिएँ। त्यही मेरो पहिचान थियो। केही भर्खरै भर्ना भएका विद्यार्थीहरूका लागि त्यो नामले झनै बिग्रिएको रूप लिन्थ्यो। तर आभारीका साथ मैले भन्नै पर्छ — सिनियर र केही समयदेखि चिनेका विद्यार्थीहरूले भने निकै आदर गर्थे।
त्यहाँ चलिरहेको ओभरसियर कोर्सतिर मैले कहिले कुनै क्लास लिइनँ। तिनीहरू भर्खरै स्कूलबाट निस्केर आएका हुन्थे, आफ्नो ठाउँ बाहिरको ज्ञान र आफूभन्दा भिन्न समुदाय प्रति सद्भाव उनीहरूमा कमै हुन्थ्यो। केही हदसम्म त्यही कुरा भर्खरै इन्जिनियरिङमा भर्ना भएका विद्यार्थीहरूको हकमा पनि साँचो थियो। एक पटक क्लासकै नियमित काम-कारबाही गर्ने क्रममा एक जना विद्यार्थीले, “म फलो गर्दिनँ, के गर्नुहुन्छ? तपाईं केही गर्न सक्नुहुन्न।” भन्दै खुलेआम क्लासकै अगाडि मलाई चुनौती नै दिए। उसको शब्दभन्दा पनि उसको हाउभाउ र रवाफले मलाई दु:ख लागेको थियो। ती भर्खरै खुलेका प्राइभेट कलेजहरू थिए, जहाँ विद्यार्थीहरूले लाखौं खर्च गर्थे र त्यस बापत ठेकेदारी भए झैं परीक्षाको पास लिस्टमा आफ्नो स्थान र उच्च मार्क सुनिश्चित भएको ठान्थे। पैसा कमाउनै खोलिएका ती कलेजका प्रशासनका लागि पनि अरू कुराभन्दा विद्यार्थीहरूबाट पैसा उठिरहोस् भन्नु नै सबभन्दा महत्वपूर्ण हुन्थ्यो, र त्यहाँ लेक्चरर वा नियमभन्दा विद्यार्थीहरूको खुशी नै सर्वेसर्वा हुन्थ्यो। त्यसले गर्दा विद्यार्थीहरूको रवाफ भिन्नै हुन्थ्यो, र त्यहाँ पढाउन जाने लेक्चररहरूबाट त्यहाँका विद्यार्थीमा हुने गरेको अनुशासनको अभावका बारेमा मैले पहिला पनि सुनेको थिएँ।
त्यो घटनाले मेरो चित्त दुख्नुका साथै मधेशी शिक्षक र कर्मचारीहरूमाथि हुने गरेको दुर्व्यवहारका बारेमा पनि सम्झना दिलाइदिएको थियो। त्यही कलेजमा पुल्चोक क्याम्पसबाट आई पढाउने गरेका एक मधेशी लेक्चररमाथिको दुर्व्यवहारको याद पनि आयो। विद्यार्थीहरूले उनले पढाएको कुरा नोट गर्न अस्वीकार गर्दै, पहिला परीक्षामा त्यही कुरा आउने भनेर सुनिश्चित गर्न माँग गरेका थिए, र उनीसँग निकै नै अभद्र व्यवहार गरेका थिए। अर्को दिनदेखि उनी फर्केर त्यहाँ गएनन्।
मधेसी भूत छतमा सुत :
दुर्भाग्य नै भन्नुपर्छ एक्काइसौं शताब्दीमा पनि नेपाल भित्र छालाको रंगले यति धेरै महत्व राख्छ। यतिसम्म कि मधेशीहरू आफ्नो जीउ, आफ्नै रंगलाई घृणा गर्न बाध्य हुँदै आएका छन्। यही कारणले हो, मुटु कमाउने जाडोमा समेत म छात्रावासको अँध्यारा बाथरूममै नुहाउने गर्थें, अरू जस्तो छतमा वा बाहिर गएर घाम ताप्दै नुहाउने साहस गर्दिनथें। तिनीहरूले मलाई आफ्नै रूपरंगमाथि घृणा उब्जाइदिएको थियो।
कलेजमा अपमान, दुर्व्यवहार र भेदभावका अनगिन्ती क्षणहरू आए। ती नचुकाइकन यति नियमित रूपमा हुन्थे कि पछि कुनै आश्चर्य नै हुदैनथ्यो, हरेक ठाउँमा हरेक पटक। क्यान्टिनमा होस् कि टीभी हलमा, पसलमा होस् कि क्लासमा, अफिसमा होस् कि खेलमैदानमा, फोन उठाउँदा होस् कि पालेसँग कुनै जानकारी माँग्दा, हरेक क्रियाकलापका साथ नि:सन्देह रुपमा दुर्व्यवहार हुने गर्दथ्यो। हुँदाहुँदा मधेशीहरू त्यससँग यति अभ्यस्त भइसक्थे, आदी भइसक्थे कि केही महिनापछि मतलब गर्नै छोड्थे।
छुट्टीमा घर आउँदा गाउँलेहरूले मधेशी प्रतिको भेदभाव र दुर्व्यवहारका बारेमा सोध्थे। काठमाडौं वा पहाडमा बसेर फर्केकाहरूले प्राय: यथार्थ लुकाउँथे, आफ्नै साख कम होला भनेर। बहादुरीले कसैलाई पिटेको कुरा त बढाइ-चढाइ गरेर सबैले बखान गर्न चाहन्छन् तर आफ्नैपछाडि लात्ती परेको वा आफ्नो सामान बसमा पहाडीले फालिदिँदा धुरुधुरु रोएको कसले सुनाउन चाहला र? म पनि त्यसै गर्थें। अरूले झैं म बहादुरीका किस्साहरू पनि बनाएर भन्न सक्थें, तर म त्यसो गर्दिनथें।
एक पटक कलंकीमा बस समात्न जाँदा एउटा केटोले दिएको अफर नलिएपछि उसले मलाई मुखमै हिर्काएको थियो र ‘मधेशी भूत छतमा सूत’ भन्दै गाली गरेको थियो। मभन्दा झन्डै आधा कदका दुब्ला उसलाई मैले चाहेको भए शायद त्यही गोदेर सुताइदिन्थें। तर फेरि, त्यहाँ हेरिरहेका मान्छेहरूको अपेक्षा विपरीत केवल एक मुस्कान दिएर म अगाडि बढें। कसरी यस्ता घटनाहरूको बखान म आफ्ना गाउँलेहरू समक्ष गर्थें?
त्यसै गरी एक पटक सांस्कृतिक कार्यक्रममा मैले गीत गाउने योजना थियो। त्यसको लागि मैले नेपाली लोक-पप गीत नै चयन गरेर त्यसको तयारी गरें। मलाई थाहा थियो — भले पहाडीहरू दिनरात हिन्दी गीत नै सुनून्, भले हिन्दी फिल्म बाहेक जीवनमा अरू केही नहेर्दा हुन्, तर तिनीहरूलाई मधेशीबाट आएको हिन्दीको कुनै कुरा स्वीकार्य हुने छैन, र त्यही भएर नै गाउनका लागि मैले नेपाली गीतको नै चयन गरेको थिएँ। कार्यक्रम भव्य थियो र एउटा नृत्यपछि मेरो गीत राखिएको थियो। खासै बोलचाल नभए पनि प्रशंसक रहेकी सिभिलका एक महिला सहपाठीले कार्यक्रममा मेरो परिचय म कुनै ठूलो सेलेब्रिटी भए झैं दिदैं मलाई स्टेजमा आमन्त्रित गरिन्। तालीको ठूलो गडगडाहटले हल गुञ्जमान भयो, र आशा र उत्सुकताले भरिएका आँखाहरू स्टेजमा गडे। तर जसरी म स्टेजमा चढें, दर्शकको भीड कोलाहलमा परिणत भयो — ‘‘भैया आउट, भैया आउट, मर्सिया आउट” भनेर दर्शकहरू चिच्याउन थाले। तिनीहरू पक्कै नयाँ विद्यार्थी हुनुपर्दछ। म केही त आत्तिएँ। तुरुन्तै एउटा मीठो मुस्कान, जुन त्यो दिन धेरैले याद गरे, दिएर गीत गाउन थालें। केहीअगाडि शास्त्रीय संगीतको क्लास लिदैं गरेकोले हो कि, त्यो दिन गाएको राम्रै हुन गएछ र मान्छेहरूले खूब मन पराएछन्। त्यस वापतको प्रशंसा म हप्तौंसम्म पाइरहें। मलाई सम्झना छ, एकले भनेका थिए — गाली गर्दै गरेकालाई तिमीले त्यस दिन राम्रै जवाफ दिएर चुप गरेछौ।
इन्जिनियरिङको कोर्सभरि पनि मेरो गरीबी मजाकको कारक बनिरह्यो। ‘ए, उसको जुत्ता हेर, राजा जस्तो। ए, उसले त जुत्तै लाएको रहेनछ।’ आदि भन्दै साथीहरूले मजाक उडाइरहन्थे। कठाङ्ग्रिदो जाडोमा समेत जुत्ता नलगाई कलेज जान म बाध्य थिएँ। चप्पल नै लाउँथे जसले मेरा पैतालाहरू पूरा ढाक्न सक्दैनथे। आखिर सामान्य दाममा ठूला साइजका चप्पल पनि कहाँ पाइन्थ्यो र? जाडोले मेरा खुट्टाका औंलाहरू कठाङ्ग्रिन्थे।
ती दिनहरूमा कलेज जानका लागि मसँग प्राय: एउटै शर्ट-पाइन्ट हुन्थ्यो र वर्षभरि म त्यही नै लाउँथें। कहिलेकाहीं, खास गरी वर्कशप प्रैक्टिकलमा, शर्टमा अनपेक्षित रूपमा दाग लाग्ने गर्दथ्यो। पाँच-छ बजे कोठा फर्केपछि म तुरून्तै शर्ट धोएर रातभरिमै सुकाउँथें ताकि अर्को दिन म कलेज जान सकूँ। कहिलेकाहीं धारामा पानी हुँदैनथ्यो र अँध्यारो भए पनि म होस्टलको छतमा राखेको ट्यांकीबाट बचेखुचेको पानी बाल्टीले निकालेर शर्ट धुन्थें। पछि धेरै शर्ट हुँदा पनि प्राय: एउटै शर्ट धेरै दिनसम्म लाउँथें। पहिला गरीबी थियो र पछि शायद, बानी।
0 comments
Write Down Your Responses