कुरा नबुझेरै मधुमेहीले रोग बढाउँदै छन्

sahayatree pic
डा. हरिहर खनाल (पीएचडी)
फिजिसियन/कार्डियोलोजिस्ट ।
चिनीरोग लागिसकेपछि जिन्दगीभर ख्याल गर्नुपर्ने क्षेत्र भनेकै खानाको बारेमा हो । तर नेपालमा अमेरिका–युरोपको खानाको मेनुलाई नेपालीमा कामचलाउ उल्था गरेर उतैको जस्तो खान सल्लाह दिने गरेको पाइन्छ । बिरामीले त्यति बेला टाउको हल्लाएर स्वीकृति जनाए पनि यस्तो सल्लाह न बिरामीले बुझ्छन्, न त प्रयोगमै ल्याउँछन् । यस्ता सल्लाहले उनीहरुको रोग कम हुनुको सट्टा बढ्दै जान सक्छ । सुपरमार्केटबाट पुर्जाअनुसारको खानेकुरा तौलेर अनि क्यालोरी हिसाब गरेर किन्नेका लागि यो युरोपिययन मेनु सहयोगी नै हुन्छ तर हाम्रो गाउँघर र सहरमै पनि सबै खानेकुराको न त क्यालोरीको अध्ययन भएको छ, न नेपाली चिनीरोगीले क्यालोरी हिसाब गरेर खान सक्छन् । यस अवस्थामा करिब–करिब क्यालोरी भार मिल्ने गरी समुदायमा प्रचलित खानाको उपयोग गर्न परामर्श दिनुपर्ने हुन्छ ।
कालिकोटका एक जना शिक्षक रामकृष्णले एउटा पर्चा देखाउँदै प्रश्न गरे– ‘डाक्टर साहेब, मलाई खानाको सही सल्लाह दिनुपर्यो ।’ उनको पर्चामा बिहान, दिउँसो र बेलुका चिनीरोगीले खानुपर्ने खानेकुराहरु लेखिएको रहेछ । एक कप चामल, ५० ग्राम मासु, एउटा अण्डा, दुई टुक्रा पाउरोटी, एक कप दूध, एक गिलास जूस यस्तै–यस्तै लेखिएको थियो । उनले आफ्ना कुरा राख्दै गए– ‘म गाउँको साधारण शिक्षकले यो सबै कहाँबाट जुटाउने ? मेरो केही आम्दानी छ र पनि सक्दिनँ भने साधारण औषधि किन्न पनि नसक्ने गरिबले के गर्नु ?’
रामकृष्णजस्तै धेरै मधुमेहीले यस्तै प्रश्न गर्ने गरेकाले यहाँ विशेष गरी मधुमेहीका लागि खानेकुराका विषयमा जानकारी दिन खोजिएको छ ।
औषधि र खानाको तालमेल मिलाउनु अनि शरीरलाई आवश्यक पर्ने ऊर्जा पूर्ति गर्ने तर अतिरिक्त हुन नदिने किसिमले निश्चित समयमा खानाको व्यवस्था मिलाउनु नै चिनीरोगी तथा चिकित्सकको आपसी दायित्व हो । कस्तो र कति खाना आवश्यक पर्छ भन्ने कुरा व्यक्तिको उमेर, लिंग, तौल, उचाइ, पेसा, शारीरिक सक्रियता, धर्म, सामाजिक तथा आर्थिक अवस्था, खाने चलन, खानाको प्राप्यता तथा छनोट (मांसहारी वा साकाहारी) आदिमा भर पर्छ । जुम्लाको किसानले पाउरोटी कहाँ पाउनु, दिनभरि अर्काको मजदुरी गर्नेले दूध–अण्डा कहाँ पाउनु ? त्यसैले ऊ बसेको ठाउँमा उसले प्राप्त गर्न सक्ने खानेकुराबाट नै उसको लागि खानाको मेनु तयार गर्नुपर्ने हुन्छ ।
शारीरिक ऊर्जाको स्रोत भनेको खाना नै हो । खाना लिँदा ६०–६५ प्रतिशत कार्बाेहाईड्रेटबाट, १०–१५ प्रतिशत प्रोटिनबाट र २५ प्रतिशतभन्दा कम चिल्लोबाट पूर्ति गर्नुपर्छ । प्रतिग्राम कार्बाेहाइड्रेटले ४ क्यालोरी, प्रतिग्राम प्रोटिनले ४ क्यालोरी र प्रतिग्राम चिल्लोले ९ क्यालोरी ऊर्जा दिन्छ । चामल, चिउरा, आलु, पिँडालु, मैदाजस्ता पदार्थ कार्बाेहाइड्रेट हुन् भने गेडागुडी, दूध, मासु, अण्डा आदि प्रोटिन हुन् । त्यस्तै घिउ, तेल, नौनी, छाली, बोसो आदि चिल्लो पदार्थ हुन् । यी खानामा पनि चिनी बढाउन सक्ने फरक–फरक गुण हुन्छ ।
खानामा जति रेसादार गुण बढी हुन्छ त्यति खानाको चिनीजन्य गुणत्व तुलनात्मकरुपमा कम हुन्छ । कुनै पनि खानाको भौतिक अवस्था, पकाउने तरिका र रेसाहरुको उपस्थितिले चिनीजन्य गुणत्व परिभाषित गर्छ । त्यो गुणत्व अन्नमा उच्च (६५–७५ प्रतिशत), फलफूल तथा तरकारीमा मध्यम (४५–५५ प्रतिशत) र गेडागुडीमा न्यून (३०–४० प्रतिशत) हुन्छ । ५० ग्राम चिनी वा ग्लुकोजको चिनीजन्य गुणत्व १०० प्रतिशत मानिन्छ । यसलाई आधारका रुपमा लिने गरिएको छ ।
स्थानीय रुपमा खाइने खानाको चिनीजन्य गुण, प्रकृति र प्राप्त हुन सक्ने ऊर्जाको मात्रा अनुमान भएपछि दिनभरिका लागि चाहिने ऊर्जाको मात्रा पत्ता लगाई खानाको मात्रा निर्धारण गर्न सकिन्छ । अनि चिनीरोग भएमा खानाकै मात्राबाट तौल ठिक्क राख्नुपर्ने, घटाउनुपर्ने वा बढाउनुपर्ने उसको शारीरिक सक्रियता र ऊर्जाको आवस्यकताअनुसार निक्र्योल गरिन्छ । खानाको सल्लाह दिँदा हप्ता, महिना, वा वर्षमा एकपटक मासु खाने वा कहिल्यै नखाने चलन, दिनको दुई छाक मुख्य खाना भात लिने परिपाटी, खानाको उपलब्धता, आर्थिक अवस्था, आदिमा ख्याल गर्नुपर्ने हुन्छ ।
मधुमेहीले के–कति खान हुन्छ ?
हाम्रो बिहान–बेलुकाको मुख्य खाना चामल वा मकैको भात हो । पुगिसरी आउनेले दिउँसो हल्का खाजा पनि खान्छन् । तर बिहान–बेलुका दुवै छाकमा एक–एक थाल भात खाने हाम्रो चलनमा सुधार गर्नु नितान्त आवश्यक छ । दुई थाल भात भनेको ३२०० क्यालोरी (४००ं४०० ग्राम ×४. ३२०० क्यालोरी) हो । अरु खानेकुराको क्यालोरीसमेत थप्ने हो भने ४००० क्यालोरी नाग्छ । त्यसैले चिनीरोगीको हकमा १८००–२००० क्यालोरी हुने गरी खानाको विविधता मिलाउन आवश्यक छ ।
खाना नियन्त्रण होइन व्यवस्थापन गर्ने हो, मिलाएर खाएमा जे पनि खान पाइन्छ भन्ने कुरा स्पष्ट बुझाउन सक्नुपर्छ । बिहान भात खाने हो भने साँझ रोटी वा च्याँख्ला खाने, त्यसमा पनि पूरा एक थाल नखाने सल्लाह दिनुपर्ने हुन्छ । त्यस्तै तरकारीमा आलु, पिँडालु, तरुलजस्ता पदार्थ नराख्ने हो भने साग, गेडागुडी, सिमी, बोडी, भ्यान्टाजस्ता तरकारी प्रशस्त खान मिल्छ । लसुन, अदुवा, खुर्सानी, जिरा, धनियाँ, बेसारजस्ता खानेकुरा पनि सुरक्षित हुन् । दिउँसो खाजाको रुपमा रोटी, चिनी नभएको बिस्कुट एवम् जौ, मकै वा चनाको सातु हल्का खान सकिन्छ । छाली हटाएको दूध वा दही दिनमा दुई गिलाससम्म र उसिनेको अण्डा एक–दुई दिनमा एउटा लिन सकिन्छ ।
त्यस्तै दूध, दही, मही सबैका घरमा सम्भव नहुन सक्छ, सम्भव हुनेले खाने गर्छन् । भैंसीको दूधमा अत्यधिक र गाईको दूधमा अलि कम चिल्लो हुन्छ । दूध खान नै वर्जित गर्नुपर्दैन । छाली (तर) निकालेको दूध पिउन हुन्छ । डेरीको चिल्लो हटाएको दूध पाएमा सो दूध पनि पिउन राम्रै हुन्छ । त्यस्तै महले औषधिको काम गर्ने हुँदा खान हुन्छ भन्ने धेरैको धारणा पाइन्छ, तर मह चिनी बढाउने खानेकुरामै पर्ने हुनाले एकदम सीमित मात्रामा मात्रै लिन सकिन्छ । उसिनेको चामललाई चिनीविहीन भनेर व्याख्या गरिन्छ, केही मात्रामा चिनीको कमी त हुन्छ तर चामलको भित्री भागमा भएको कार्बाेहाइड्रेट त कतै जाँदैन । त्यस्तै चिनीरोगीले अधिकतम सोधिने प्रश्न हो– आलु हालेर पकाएको तरकारी आलु जति पन्छाएर खानु हुन्छ कि हुँदैन ? यसमा अलि–अलि आलुको मात्रा त आएकै हुन्छ तर खानै नहुने भन्नेचाहिँ होइन । थोरै आलु खान नै मिल्छ भने आलु पन्साएको तरकारी खान नमिल्ने कुरै भएन ।
चियाको हकमा भने चिनी बन्द गर्नुपर्छ, फिक्का नै पिउने वा स्वादका लागि कृत्रिम गुलियो पार्ने चक्की राखेर पिउन सकिन्छ । यदि दिनभरि नै भात नखाने हो र रोटी वा च्याँख्ला मात्रै खाने हो भने चिनीसहितको चिया वा अलि–अलि अन्य मीठो खानेकुरा (मिठाई) तथा आलुसमेत थोरै मात्रामा खान सकिन्छ । मौसम, स्याउ, नासपाती, सुन्तलाजस्ता मौसमी फलफूल दैनिक एउटासम्म खाने तथा अनार, अंगुर, केरा, आँपजस्ता धेरै गुलिया फलफूलचाहिँ अलि–अलि खाने वा चाख्ने गरी मात्रै नियन्त्रितरुपमा लिन सकिन्छ । यस्तै काँक्रो, मूलाचाहिँ नडराईकन जति खाए पनि हुन्छ भने खर्बुजा, गाजर ठिक्क मात्रामा र मेवा दुई–चार टुक्रा मात्रै खान सकिन्छ । यी सबै कुरा एकैदिन खानेचाहिँ होइन, कुनै एक प्रकारको मात्र खाने हो । चिनी, मिस्री, चामल, चिउरा, आलुजस्ता खानेकुरामा चिनीजन्य गुण र क्यालोरी अधिक हुनाले यस्ता खानाले रगतमा चिनीको मात्रा तुरुन्तै बढाउने हुँदा व्यवस्थितरुपमा खानुपर्छ । घिउ, तेल, छालीजस्ता पदार्थको क्यालोरी मूल्य धेरै बढी हुन्छ । यस्ता खानेकुरामा कोलेस्टेरोल पनि बढी हुन्छ । कोलेस्टेरोल मुटुरोगको अतिरिक्त चिनीरोगीलाई पनि खतरनाक तत्त्व भएकाले चिल्लो जति सक्यो नियन्त्रण गर्नुपर्छ । धूमपान तथा मद्यपानले पनि स्नायु र साना रक्तनलीमा कुप्रभाव पार्ने हुनाले यस्ता कुलत भएमा छोड्नै पर्ने हुन्छ ।
अतिरिक्त ऊर्जा खानामा नपार्ने, कम ऊर्जायुक्त तथा रेसादार खानेकुरामा जोड गर्ने, सकेसम्म भोको नबस्ने, पटक–पटक गरी थोरै मात्रामा खाने, सधैँ एउटै समयमा उस्तै प्रकृतिको खाना खाने गर्नु चिनीरोगीले गर्नै पर्ने अति आवश्यक कुरा हुन् । समग्रमा भन्दा चिनीरोगीले नियन्त्रित मात्रामा जे पनि खान मिल्छ तर अतिरिक्त क्यालोरी हुनुचाहिँ भएन भन्ने कुरा मूल मन्त्रको रुपमा लिनुपर्छ । मैले सुरुमै उल्लेख गरेका कालिकोटका शिक्षक रामकृष्णको जस्तो कुरै नबुझी बस्ने हो भने मधुमेह झन् बढ्दै जान्छ । त्यसैले चिकित्सकले पनि बिरामीलाई यसबारे बुझाउन सक्नुपर्छ ।्र
शरीरको तौल निर्धारण प्रक्रिया
शरीरको उचाइ र उसको स्वास्थ्य अवस्थालाई आधार मानेर शरीरको तौल कायम राख्न सक्नुपर्छ । हरेक व्यक्तिले प्रतिदिन कति ऊर्जा दिने खानेकुरा खाइरहेको छ, वास्तवमा उसलाई कति ऊर्जाको आवश्यकता परेको छ र खाएको खानाबाट प्राप्त ऊर्जा उसलाई बढी भएको छ वा कम भएको छ भन्ने कुरा उचाइअनुसारको शारीरिक तौलकै आधारमा निर्धारण गरिने कुरा हुन् । व्यक्तिको तौल निर्धारण गर्न ब्रोका भन्ने वैज्ञानिकको सूत्र (उचाइ से.मि.–१००) प्रयोग गर्नुपर्ने हुन्छ । जस्तै १६० से.मि. उचाइको व्यक्तिका लागि १६०–१००.६० किलोग्राम तौल ठिक्क हुन्छ । तर मधुमेहीका लागि भने यसको पनि ९० प्रतिशत मात्रै तौल कायम राख्नु राम्रो हुन्छ । १६० से.मि. उचाइ हुने स्वस्थ व्यक्तिका लागि शरीरको ठिक्क तौल ६० के.जी. हो भन्ने थाहा भइसक्यो । अब ६० के.जी.को ९० प्रतिशत भनेको ५४ के.जी. हुन्छ । यो नै मधुमेहीका लागि ठिक्कको तौल हुन्छ । यसमा ३ के.जी.सम्म तल–माथि हुँदा साह्रै आत्तिइहाल्नुपर्दैन ।
त्यस्तै बीएमआई निकाल्ने निम्न सूत्र प्रयोग गरेर पनि शरीरको उपयुक्त तौल छ कि छैन निर्धारण गर्न सकिन्छ । द्यःक्ष् . ध्त्९प्न्० ⁄ ज्त् ९कत्रगबचभःभतभच० अर्थात् शरीरको तौलको द्योतक . तौल केजीमा ⁄ उचाइ वर्गमिटरमा । यो सूत्रबाट निकालिएको द्योतक पुरुषका लागि २० देखि २५ र महिलाका लागि १९ देखि २४ हुन वाञ्छनीय मानिन्छ । १२० से.मि. उचाइ र ६० किलो तौलको व्यक्तिको बीएमआई . ६० ⁄ (१.६ह१.६) . २३ हुन आउँछ । यही द्योतक २० देखि २१ को हाराहारीमा राख्न हिसाब गर्दा शरीरको तौल ५२ देखि ५४ किलो हुनुपर्ने हुन्छ । जुन पहिलो सूत्रसँग करिब–करिब मिल्न पनि जान्छ । यसरी उचाइअनुसार आफ्नो शरीरको तौल निर्धारण गरिसकेपछि सो तौल कायम राख्न खानेकुराबाट प्राप्त हुने ऊर्जामा ध्यान पुर्याउनुपर्ने हुन्छ ।
तौलअनुसार ऊर्जा निर्धारण प्रक्रिया
उचाइअनुसारको आवश्यक शारीरिक तौल निर्धारण गरेपछि न्यूनतम बाँच्नका लागि मात्रै र थप क्रियाकलाप हेरेर त्यसका लागि चाहिने ऊर्जाको मात्रा मापन गर्नुपर्छ । यसका लागि सूत्र त्यतब िभलभचनथ चभत्रगष्चझभलत ब्अतष्खष्तथ ाबअतयच प्रयोग गरिन्छ । यस सूत्रलाई नेपाली भाषामा यसरी बुझ्न सकिन्छः ऊर्जा आवश्यकताको पूर्ण मात्रा . आधारभूत जीवरासायनिक क्रियाकलापको दर ं सक्रियताको मात्रा ।
आधारभूत जीवरासायनिक क्रियाकलापको दर भन्नाले हामी जीवित रहन आवश्यक न्यूनतम ऊर्जा हो, जसको प्रत्याभूति श्वासप्रश्वास, मुटुको चाल, मस्तिष्कको काम, मृगौलाको काम तथा अन्य प्रणालीको कामको लागि रहन्छ । त्यो बेसिक मेटाबोलिक रेट (आधारभूत जीवरासायनिक क्रियाकलापको दर) २४ क्यालोरी प्रतिकिलो तौल प्रतिदिन पुरुषको लागि हुन्छ भने २२ क्यालोरी प्रतिकिलो तौल प्रतिदिन महिलाको लागि हुन्छ । यसअनुसार ६० किलो तौलको पुरुषको बीएमआर २४x६० . १४४० हुने भयो ।
त्यस्तै सक्रियताको मात्रा वा एक्टिभिटी फ्याक्टरले सक्रियताको तहअनुसार घटबढ हुन्छ र त्यो निष्क्रियहरुको लागि बेसल मेटाबोलिक रेटको २५–३० प्रतिशत, अलि–अलि सक्रिय हुनेको लागि बेसल मेटाबोलिक रेटको ३५–५० प्रतिशत तथा अलि बढी सक्रियरुका लागि बेसल मेटाबोलिक रेटको ५०–१०० प्रतिशतसम्म हुन्छ र यो अतिरिक्त प्रतिशत थपेर दैनिक आवश्यक ऊर्जाको मात्रा निकालिन्छ । उदाहरणका लागि यदि ६० किलो तौल हुने पुरुष मान्छे निष्क्रिय जीवनशैली अपनाउने गर्छ भने उसको प्रतिदिनको जम्मा आवश्यक ऊर्जा . ६०ह२४ . १४४०ं३६० . १८०० क्यालोरी भयो ।
ऊर्जा आवश्यकता धेरै बढी सक्रिय (बिहान छिटो–छिटो हिँड्ने, भर्याङ तल–माथि गरिरहने काम वा ज्यादाजसो सक्रिय भैरहने) भएमा त्यही क्यालोरी १४४०ं१४४० . २८८० भएर जान्छ । पौडीबाज, कडा खालको व्यायाम गर्ने, कुस्ती खेल्ने, फुटबल खेल्ने, सधैँ खटिरहने सैनिक भएमा त्यो क्यालोरी विशेष अतिरिक्त बनेर ३५०० देखि ४००० सम्म चाहिने हुन सक्छ । तर धेरैजसो अवस्थामा यो क्यालोरी सक्रियता र जीवनशैली हेरेर १८०० देखि ३००० सम्मको हिसाबकिताब गरी खानाको छनोट गर्ने गरिन्छ । त्यस्तै जसलाई तौल घटाउनु जरुरी छ उसको क्यालोरी नियन्त्रण गर्न आवश्यक हुन्छ भने ठिक्क तौल हुनेलाई जति आवश्यक छ त्यति मिलाउनुपर्ने हुन्छ अनि तौल कम हुनेलाई थप क्यालोरी लिन सल्लाह दिनुपर्ने हुन्छ ।sahayatree.com

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.