इबोलाको विशाल चुनौती : अर्का अमेरिकी स्वास्थ्यकर्मी संक्रमित
डल्लास (बीबीसी), आश्विन ३० - अमेरिकाको टेक्सास राज्यमा अर्का एक स्वास्थ्यकर्मीमा पनि इबोला संक्रमण देखिएको छ । अधिकारीहरूका अनुसार गत हप्ता इबोलाका कारण ज्यान गुमाएका लाइबेरियाली नागरिक थोमस डन्कनको उपचारमा संलग्न भएर संक्रमित हुन पुगेका ती दोस्रा व्यक्ति हुन् ।
राष्ट्रसंघका इबोला मिसन प्रमुखले प्राणघातक भाइरसविरुद्धको लडाइँमा विश्व पछाडि पर्दै गएको बताएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार खास गरी पश्चिम अफ्रिकामा महामारी बनेको इबोलाबाट अहिलेसम्म ४ हजार ४ सय ४७ जनाको मृत्यु भइसकेको छ । महामारीबाट सियरालियोन, लाइबेरिया र गिनी विशेष प्रभावित छन् । गत डिसेम्बरमै देखापरेको भाइरस इबोला नै हो भनेर मार्चमा मात्र पुष्टि भएको हो । इबोला मिसन प्रमुख एन्थोनी बनबरीले मंगलबार राष्ट्रसंघ सुरक्षा परिषद्को विशेष सत्रमा बताए अनुसार तत्काल इबोला नियन्त्रण नगरिए संसारले एकदमै अकल्पनीय अवस्थाको सामना गर्नुपर्ने हुन्छ ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले इबोला संकटलाई लिएर आगामी बुधबार बेलायत, फ्रान्स, जर्मनी र इटालीका नेताहरूसँग भिडियो कन्फेरेन्स गर्ने भएका छन् । टेक्सासमा संक्रमित दोस्रो स्वास्थ्यकर्मीको परिचय सार्वजनिक गरिएको छैन । गत सप्ताहन्त डल्लासको अस्पतालले निना फाम नामक २६ वर्षीया नर्स डन्कनको उपचारका क्रममा इबोलाको खतरामा परेको जनाएको थियो । हेल्थ पर्सवाइटेरियन हस्पिटलका अनुसार मंगलबारसम्म उनको अवस्था राम्रो छ ।
दोस्रो स्वास्थ्यकर्मीलाई मंगलबार ज्वरो आउनेबित्तिकै अलग कक्षमा राखिएको थियो । उनको सम्र्पकमा आएका अन्यलाई पनि निगरानीमा राखिएको छ । अमेरिकी अधिकारीहरूले यसअघि डन्कनको सम्पर्कमा आएका ४८ जना र उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूलाई निगरानीमा राखिएको जनाएका थिए । यूएस सेन्टर्स फर डिजिज कन्ट्रोल -सीडीसी) ले इबोला संक्रमणको पछिल्ला अवस्थाप्रति सरोकार राख्दै विज्ञप्ति जारी गरेको छ । सीडीसीले इबोला उपचारका लागि अस्पतालका तयारीलाई अझ मजबुत बनाइने जनाएको छ । भविष्यमा देखिन सक्ने इबोला संक्रमणका घटनालाई विशेष टोली गएर नियन्त्रणमा लिने पनि जनाएको छ । उक्त अस्पतालका नर्सहरूले आफूहरूले उपयुक्त सुरक्षाबिनै कयौं दिन इबोला संक्रमितको उपचारमा संलग्न हुनुपरेको बताएका थिए ।
उपचार कति टाढा ?
मृतक संख्या बढ्दो छ । रोग फैलँदो छ । यसैमा इबोलाको उपचार पत्ता लगाउने दौड पनि चलिरहेको छ । विशेषज्ञहरूलाई भाइरस र यसले कसरी आक्रमण गर्छ भन्ने राम्ररी थाहा छ । तर औषधिको माध्यमबाट यससँग लड्नुचाहिँ उनीहरूका लागि नौलो चुनौती हो ।
सन् १९७६ मा पहिलोपटक इबोला देखिएयता हरेकपल्ट यसको महामारी अत्यधिक सतर्कताको माध्यमबाट टारिँदै आएको हो । बिरामी र आशंकितहरूलाई अलग राख्ने, उपचारकर्ताहरूले सुरक्षा पहिरन लगाउने, राम्रो सरसफाइ र स्वास्थ्य केन्द्रमा सृजित फोहोरको उपयुक्त व्यवस्थापन गर्ने लगायतका उपायबाटै इबोला नियन्त्रण हुँदै आएको हो ।
अहिलेसम्म इबोलाको औषधि नै चाहिँ उत्पादन भइसकेको छैन । त्यसको विकास एकदमै महँगो मानिन्छ । अहिलेसम्म मुख्य औषधि उत्पादक कम्पनीहरूले पर्याप्त बजार नदेखेरै औषधि बनाउनेतिर ध्यान नदिएको मानिन्छ । यसपल्ट यो अवस्था बदल्नै पर्ने भएको छ ।
कसरी सर्छ ?
संक्रमित रगत, वमन, दिसा, वीर्य, पसिना लगायत वस्तु छेडिएको छाला, आँखा नाक र मुखका म्युकस मेब्रेनहरूको सम्पर्कमा आउँदा भाइरस सर्छ । एकपटक छिरिसकेपछि भाइरस रगतमा पुगेर तीव्र गतिमा फैलन्छ । यसले मानिसका कोषहरूलाई आक्रमण गर्दै कमजोर बनाउँदै जान्छ । तर इबोला फ्लुजस्तो हावाबाट सर्ने होइन । संक्रमितसँग एकदमै नजिकको प्रत्यक्ष सम्पर्क नभईकन भाइरस सर्दैन । संक्रमितको संसर्गमा परेको लुगाफाटा, सतह, वा कुनै चिजसँग प्रत्क्षय सम्पर्क हुँदा पनि सर्न सक्छ । ४० वर्षदेखि संसारलाई यसबारे थाहा भएको हो । तर बल्ल यतिखेर यसलाई विश्व मानव स्वास्थ्यको वास्तविक चुनौतीको रूपमा लिइएको छ ।
चिकित्सकीय हतियारहरू
वैज्ञानिकहरूले आफ्ना प्रयासहरूलाई दुई पद्धतिमा केन्दि्रत गरेका छन्:
१. भाइरस संक्रमितलाई उपचार गरेर ठीक पार्ने ।
२. भाइरस सर्नबाटै बचाउनका लागि खोपको विकास गर्ने ।
यतिखेर इबोलाविरुद्धका थुप्रै खाले खोप र औषधिहरू विकास र परीक्षणको क्रममा छन् । तर तिनीहरू सुरक्षा र प्रभावकारिताका हिसाबले अझै पूरै परीक्षित भइसकेका छैनन् ।
जेडम्यापजस्ता परीक्षणीय औषधिहरू यतिखेर संक्रमितहरूलाई दिइएको छ । तर सबै बिरामी जोगिन सकेका छैनन् । दुई अमेरिकी सहायताकर्मी र एक बेलायती नागरिक जेडम्याप खाएरै ठीक भए । तर एक लाइबेरियाली चिकित्सक र स्पेनिस पुरोहितचाहिँ बच्न सकेनन् ।
उक्त औषधि जनावरहरूमा पहिल्यै परीक्षण भएको हो, तर विशेषज्ञहरू त्यसले निको
पार्न भूमिका खेल्ने विषयमा निश्चिन्त भइसकेका छैनन् ।
0 comments
Write Down Your Responses