थ्री डी इमेजमा यस्तो देखिन्छ सगरमाथा
सन् १९७९ मा उनी पहिलोपटक नेपाल आउँदा एउटा जिज्ञासु पर्यटक मात्र थिए। त्यसको चार वर्षपछि उनले सगरमाथा आरोहण गरेको बेला पहिलोपटक शिखरबाटै खिचिएको भिडियोलाई उत्तिनैखेर अमेरिकामा प्रत्यक्ष प्रशारण गराइदिए।
त्यसको तेह्र वर्षपछि उनले सगरमाथा चढेको क्षण अर्को रोचक ईतिहास बन्न पुग्यो। त्यस वर्षको भयावह यात्रालाई उनले त्यतिबेलाको नयाँ प्रविधि ‘आइम्याक्स’मा खिँचेर हिमाल र पर्वतारोहणबारे जिज्ञासा राख्ने विश्वभरका दर्शकलाई हल्लाइदिए। अहिले फेरि उनले सगरमाथा क्षेत्रमा अर्को तहल्का मच्चाएकाछन्।
पाँचपटक सगरमाथा शिखरमा टेकिसकेका अमेरिकी पर्वतारोही, फोटोग्राफर र आधुनिक प्रविधिका विज्ञ डेभिड ब्रेसियरले अहिले भने सगरमाथा क्षेत्रलाई असाध्यै शक्तिशाली ‘थ्रि डी इमेज’मा कैद गरेका छन्।
आफ्नो यहि अद्भूत काम डेभिडले बिहीबार राजधानीका दर्शकमाझ प्रस्तुत गरे। कुमारी सिनेमाहलमा आयोजित कार्यक्रममा सगरमाथा क्षेत्रको ज्यूँदो जाग्दो दृश्य र स्वयं त्यहाँ पुगेको अनुभव गराउने प्रस्तुतीले दर्शकको रौं ठाडो भएको थियो।
‘त्यहाँ पुग्दाको अनुभव गर्न चाहनेहरुका निम्ति मात्र उपयोगी होइन,’ उनी भनिरहेका थिए, ‘यो त्यस क्षेत्रको अध्ययन गर्न चाहनेका निम्ति पनि महत्वपूर्ण दस्तावेज बन्न पुगेको छ।’
सन् २०१२ मा खिचिएको यो तीन आयामिक तस्बिरले त्यस भेगमा मनलागेको ठाउँ पुर्याउने मात्र होइन, सम्पूर्ण क्षेत्रको रौँ चिरा अध्ययन गराउन पनि सघाउनेगरि असाध्यै उच्च ‘रिजोलुसन’मा खिचिएका दृश्य देखाउँछन् । प्रदर्शनको बेला डेभिड कम्प्यूटरमा औंला चलाएका भरमा घरि सगरमाथा शिखरको कुन भागमा कसरी हिउँको मात्रा घट्दैछ भनेर देखाउँथे भने घरि आधारशिविरबाट उक्लँदै गरेका भरियातिर घुमाउँथे।
‘सुरुमा सगरमाथा पुगेका बेला मलाई यहाँ थुप्रिएका हिउँ पृथ्वी रहुन्जेल आफ्नो स्थानमै रहिरहन्छन् भन्ने लाग्थ्यो,’ उनी भनिरहेका थिए, ‘तर, हेर्दा हेर्दै यहाँको दृश्यमा ठूलो परिवर्तन देखिन थालिसकेको छ।’
उनले तुलना गर्दै सन् १९२१ ताका पर्वतारोही जर्ज मेलोरीले खिँचेका तस्बिर र त्यसै स्थानबाट अहिले खिँचिएका तस्बिरहरु देखाए जहाँ कतै पहिलेको हिमताल अहिले पानी नै देखिने तालमा परिणत हुनथालेका छन् भने कतै कपाल झरेको मान्छेजस्तै हिउँविहिन ढुँगाहरु।
कार्यक्रममा डेभिडको परिचय गराउँदै अमेरिकी राजदूत पिटर जे बोड्डीले उनका साहसिक कार्यहरुको प्रशंसा गरेका थिए। आइमेक्स प्रविधिलाई नै आजसम्मकै सबैभन्दा बढी दर्शक जुटाएको डेभिडको १९९८ मा रिलिज वृत्तचित्र ‘एभरेष्ट’ खिँच्ने बेलामा आफूले गरेको सहयोगको बोड्डीले सम्झना गरे।
‘त्यतिबेलै अत्यन्त उच्च भेगमा पुगेर हेलिकोप्टरबाट उद्धार गर्नुपरेको घटनाजस्ता दृश्यहरु पनि समेटिएको एभरेष्ट साँच्चै नै हेर्ने लायकको वृत्तचित्र थियो,’ उनले भने, ‘मेरा पुराना मित्र डेभिडले अहिले गरेको कामले पृथ्वीमा भइरहेको तापक्रम वृद्धि र जलवायुमा परेका प्रभावको अध्ययन गराउन महत्वपूर्ण सामग्री तयार भएको छ ।’
कार्यक्रमको अन्त्यमा पत्रकार कुन्द दीक्षितले जयवायु परिवर्तनको विषयमा केन्द्रित रहेर डेभिड र अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र (इसीमोड)का महानिर्देशक डेभिड मोल्डेनसँग विस्तृत वार्ता गरेका थिए।
त्यस क्रममा नेपालमा बितेको पाँच वर्षयता भारतबाट आयातित डिजलको मात्रा तीन गुणाले वृद्धि भएको र यसरी जेनरेटरबाट विजुली उत्पादन हुनथाल्दा मुलुक वातावरणीय मात्र नभइ आर्थिक रुपले पनि टाँट पल्टन थालेको उल्लेख पत्रकार दीक्षितले गरे । उनका अनुसार बितेको १५ वर्षमा हामीले जलश्रोतबाट जति विजुली जुटाएका छौं लगभग त्यति नै अर्थात् पाँच सय मेगावाट विजुली घरघरमा राखिएका डिजेल जेनरेटरबाट उत्पादन भइरहेको छ ।
कार्यक्रमको आयोजना इसिमोड, ग्लेसियरवक्र्स, अमेरिकी दूतावास, यन्त्र र फोटो सर्कलले गरेको थियो ।
0 comments
Write Down Your Responses