चरीको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन मानेन रिटले अग्राधिकार पायो, विपक्षीसँग लिखित जवाफ माग
सर्वोच्च अदालतले प्रहरी मुठभेडमा मारिएका डन दिनेश अधिकारी चरीको आफन्तको माग अनुसार प्रहरी अधिकारीहरुविरुद्ध जाहेरी दर्ताका लागि अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
चरीको हत्या भएको दाबीसहित प्रहरी अधिकारीहरुविरुद्ध दिएको जाहेरी महानगरीय प्रहरी परिसर हनुमानढोकाले दर्ता गर्न अस्वीकार गरेपछि उनका आफन्त अदालत गएका थिए ।
रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश गोपालप्रसाद पराजुलीको एकल इजलासले रिट निवेदनको माग बमोजिम जाहेरी दर्ताका लागि परमादेश वा अन्तरिम आदेश दिनु नपर्ने आदेश सुनाएको छ ।
सर्वोच्चका सहप्रवक्ता बाबुराम दाहालले अनलाइनखबरसँग भने-’विपक्षीसँग लिखित जवाफ माग्दै मुद्दाको गम्भीरता हेरेर अग्रधिकार दिनु भनिएको छ । तर, रिट निवेदनको मागबमोजिम अन्तरिम आदेश जारी गर्नु परेन भन्ने आदेश भएको छ ।’
चरीको हत्या भएको र प्रहरीले किटानी जाहेरी नलिएको भन्दै चरीका दाजु ध्रुव अधिकारीले गत शुक्रबार सर्बोच्च अदालतमा रिट दायर गरेका थिए । विहीबार निवेदकको पक्षबाट गोविन्द शर्मा पौडेल, पुष्पराज पौडेल र अमर राउतले बहस गरेका थिए । उनीहरुले चरीलाई प्रहरीले अन्यत्रै पक्राउ गरी हत्या गरेर भीमढुंगामा पुर्याई दोहोरो भिडन्तको अभिनय गरेको दाबी गरेका थिए ।
उनको हत्या भएको दाबी गर्दै परिवारले एसएसपी पुष्कर कार्की, उत्तम कार्की, डीएसपी मीरा चौधरी, इन्सपेक्टर कुमुद ढुंगेल र चरीका पहिलेका साथी भनिएका अर्पण कोइरालाविरुद्ध किटानी जाहेरी दिन खोज्दा प्रहरीले अस्वीकार गरेको थियो ।
आदेशपछि मात्रै दाहसंंस्कार
शुक्रबार सर्वोच्च अदालतको निर्णय आएपछिमात्रै चरीको दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । चरीको शव त्रिवि शिक्षण अस्पतालमै छ ।
चरीको साउन २१ गते प्रहरी मुठभेडमा मृत्यु भएको थियो । एमाले सांसदहरुले समेत चरीको हत्या भएको भन्दै संसदमा हंगामा गरेपछि गृहमन्त्रीले प्रहरीको इन्काउन्टरमा मारिएको जवाफ दिइसकेका छन् ।
onlinekhabar
0 comments
Write Down Your Responses