अनिश खालिङको 'ब्लडमनी' बुझाइयो साढे ३ करोड रकम संकलन
संयुक्त अरब इमिरेट्स (युएइ)मा मृत्यु दण्डको सजाए सुनाइएका संखुवासभा मत्स्यपोखरी- ३ का अनिश खालिङलाई बचाउन ८१ लाख रुपैयाँ 'ब्लड मनी (मृतकका परिवारले स्वीकार गरेको रकम)' बैंकमा जम्मा भएको छ । नेपाल सरकारले दिएको ५० हजार रुपैयाँ बीउ रकम (सीड मनी) सहित अनिश खालिङ बचाऊ अभियान समितिले युएइको मुद्रा ३ लाख ५ हजार डिराम्स बराबर ८१ लाख ९ हजार ९ सय ५० रुपैयाँ वैदेशिक रोजगार प्रवर्धन बोर्डको खातामा जम्मा गरेको हो ।
पाकिस्तानी एक नागरिकको हत्याको आरोपमा मृत्युदण्ड फैसला सुनाईएका अनिश २३ वषर्ीय खालिङ ०६९ कार्तिक ९ देखि जेलमा छन् । मृतकका परिवारले ब्लड मनी स्वीकार गरेकोले युएईको अदालती प्रकृया अनुसार परिवारले रकम बुझेपछि उनी छट्ने प्रकृया सहज हुने छ ।
खालिङलाई मृत्युदण्डबाट बचाउन विशेष गरी विदेशमा बस्ने नेपालीबाट ठूलो मात्रामा रकम संकलन भएको अभियान समितिका सह संयोजक सुजन खालिङले कान्तिपुरलाई बताए । 'साढे ३ करोड रुपैयाँ जम्मा भएको छ, ब्लड मनी र केही खर्च कटाएर अरु रकमको ट्रष्ट बनाउँछौं' उनले भने, '२ करोड भन्दा बढीको ट्रष्ट हुन्छ र त्यो उनी जस्तै समस्या परेकाको उद्धारमा लगाउने छौं ।'
वैदेशिक रोजगार प्रवर्धन बोर्डले खालिङको ब्लड मनी जम्मा भइसकेको र त्योबारे युएई अदालतमा जानकारी दिन परराष्ट्र मन्त्रालयमा पत्राचार गरिएको बताएको छ । 'रकम जम्मा भइसक्यो अब सरकारले छिटो पहल गरेर खालिङलाई मुक्त गर्न सजिलो हुन्थ्यो' अभियान समितिका सुजन खालिङले भने ।
0 comments
Write Down Your Responses