चीनबाट नेपाली युवतीको उद्दार

बेइजिङ, श्रावण २ -  दलालमार्फत् चिनियाँ केटासँग बिहेको नाटक गरी चीनमा आएकी एकजना नेपाली युवतीलाई नेपाली दूताबासले उद्दार गरेर नेपाल फर्काएको छ । गत फेब्रुअरी ३ तारिखमा चीनको सान्तोङ प्रान्तको युन्छन काउन्टीमा आएर बन्दीको जीवन बिताइरहेकी काभ्रेकी २१ वर्षीया कल्पना तामाङ (नाम परिवर्तन)लाई गत शुक्रबार उद्दार गरेर मलेसियएन एयरलाइन्सबाट काठमाडौँ पठाएको बेइजिङस्थित नेपाली दूताबासका तृतीय सचिव उत्तम घिमिरेले बताए ।


गत जनवरीमा नेपाली दलाल मार्फत सान्तोङका २५ वर्षीय वु फुसिङले कल्पनालाई विभिन्न प्रलोभवन देखाएर विभिन्न कागजमा सही छाप गराएर काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा बिहे दर्ता गराएका थिए । सोही कागजका आधारमा उनलाई चीनमा ल्याइएको थियो ।

नेपाली दलाल शेर्पेनी दिदी र चिनियाँ दलाल पापा (कल्पनाकै शब्दमा)ले उनलाई चीनमा गएपछि महिनाको एक लाख रुपैयाँभन्दा बढीको कमाइ हुन्छ भनेर फकाएका थिए । कल्पनाले भनिन्, ‘धनी मान्छे हो । ठूलो घर छ । श्रीमती भएर सँगै बस्नु पर्दैन । भिसा लिनका लागि मात्र बिहे गरेको हो । नेपालमा प्रशस्त पैसा पठाउन पाइन्छ भनेका थिए ।’ ग्रामीण क्षेत्रका गरिब किसान परिवारका वु फुसिङले कल्पनालाई विगत पाँच महिनाभन्दा बढी समयदेखि बन्दी जस्तै गरी घरमा थुनेर राखेका थिए । खान नदिएपछि उनले नजिकै पसलमा चाउचाउ किन्न जाँदा पनि पछि लागेर आउने र हप्कीदप्की गर्ने गरेको उनले बताइन् ।

काठमाडौँमा बालबच्चालाई नृत्यकला सिकाउने कल्पनासँगै पाँचजना नेपाली युवतीहरुले एकैचोटि चिनियाँ युवकहरुसँग बिहे गरेका थिए । बाँकी चारजना युवती चीनका अन्य प्रान्तमा रहेको तर उनीहरुको अवस्था कस्तो रहेको छ भन्ने बारेमा थाहा नभएको घिमिरेले बताए । चिनियाँ युवाले नेपाली केटी ल्याउन दलाललाई ६ देखि १० लाख रुपैयाँसम्म बुझाएको पाइएको र यो मानव तस्करी भएको घिमिरेले बताए । कल्पनालाई ल्याउन पनि वुले दलाललाई नौलाख रुपैयाँभन्दा बढी दिएको चिनियाँ प्रहरीलाई बताएका छन् ।

सामान्य शिक्षा मात्र पाएकी कल्पनाले भाषाको कठिनाइ र काम गर्न नजान्दा वु फुसिङले कुट्ने र बारम्बार शारीरिक र मानसिक पीडा दिने गरेका थिए । मोबाइलमार्फत इन्टरनेटमा बेइजिङस्थित नेपाली दूताबासको सम्पर्क खोजेर कल्पनाले आफूलाई थुनिएको र हिंसा गरिएको बताएपछि दूताबासले चिनियाँ परराष्ट्रमन्त्रालय र स्थानीय प्रहरीको सहयोगमा उनको उद्दार गरेको हो । दूताबासका घिमिरे चिनियाँ परराष्ट्र मन्त्रालयका प्रतिनिधि र स्थानीय प्रहरी लिएर शुक्रबार सान्तोङ प्रान्तको युन्छन काउन्टीस्थित वु फुसिङको घरमा पुगेका थिए । नेपाली दूताबासको पहलमा चीनबाट नेपाली चेलीको उद्दार गरिएको यो पहिलो घटना हो ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.