शोभाको मृत्युदण्डको खबरले गाउँ स्तब्ध

गोरखा : घरेलु कामदारका रूपमा साउदी अरेबियामा काम गर्दै आएकी तनहुँ भिमाद ३ भाबरकी ३२ वर्षीया शोभा परियारलाई मृत्युदण्ड दिएको खबरले सिंगो गाउँ स्तब्ध भएको छ। दुईवर्षे बालकको घाँटी रेटेर हत्या गरेको आरोपमा शोभालाई मृत्युदण्ड दिइएको हो। शोभालाई मृत्युदण्डको खबरले परिवारजनमा रुवाबासी छाएको छिमेकी केशवराज कँडेलले बताए। सान्त्वना दिने गाउँले र छिमेकी शोभाको घरमा भीड लागेको छ।
साउदी अरेबियाका लागि नेपाली राजदूत उदयराज पाण्डेसँग मंगलबार बिहान भएको टेलिफोनवार्तापछि घटनाको पुष्टि भएको जानकारी कँडेलले दिए।'राजदूत पाण्डेसँग मेरो डेढदुई घन्टा लामो कुराकानी भयो। पीडित परिवारले ब्लड मनी लिन अस्वीकार गरेपछि शोभालाई मृत्युदण्डको सजाय दिइएको रहेछ', उनले भने। शोभालाई सोमबार मात्रै मृत्युदण्ड दिएको जानकारी आफूले पाएको कँडेलले बताए।
शोभाका ६४ वर्षीय बुबा भीमबहादुर र ५५ वर्षीय आमा बुद्धिसरा परियार दु:खद घटना सुनेर मूर्छित छन्। शोभाका बुबा भीमबहादुरले छोरीमाथि आरोप लागेपछि जिल्ला प्रशासन कार्यालयमार्फत मन्त्रालय हुँदै दूतावासमा छोरीलाई फसाउन लागिएकोले आममाफी दिनुपर्ने माग गर्दै आएका थिए। 'दिदीले कत्ति पनि गल्ती गरेजस्तो लाग्दैन तर पनि हाम्रो माग सुनुवाइ भएन', उनकी बहिनी रेखाले रुँदै भनिन्।
तीन वर्षअघि तनहुँ‌ दुलेगौंडाकै चुरेटा माइलाले उनीसहित तीन महिलालाई भारतको बाटो हुँदै साउदी अरेबिया पु:याएका थिए। एक वर्षसम्म शोभाले घरेलु कामदारका रूपमा काम गरेको भन्दै पैसा पठाउँदै आएकी थिइन्। त्यसबाट घरखर्च राम्रै चलेको थियो। २०६९ मा शोभालाई हत्याको आरोप लागेपछि मुद्दा चलेको थियो।
पति दीपकले अर्की पत्नी ल्याएपछि शोभा माइतीमा बस्दै आएकी थिइन्। शोभाका एक मात्रै छोरा दिवस पनि अपांग रहेको र आमाको मृत्युदण्डपछि बिचल्लीमा परेको गाउँलेले बताए। दिवस मामा घरमै बसी सोही ठाउँकै बालज्योति प्राविमा कक्षा ५ मा पढ्दै आएका छन्। गाउँलेले दिवसको शिक्षादीक्षा र लालनपालनमा सहयोग पु:याउन सरकारसमक्ष माग गरेका छन्।
छिमेकी कमला कँडेल, रमिला विक, सुकबहादुर परियारलगायतले शोभालाई मृत्युदण्ड दिइएको खबरले आफूहरू स्तब्ध भएको बताए। भिमाद गाविसका सचिव दधिराज पौडेलले सामाजिक क्षेत्रमा समेत उत्तिकै सक्रिय शोभाको मृत्युदण्डको खबरले आफू अचम्मित भएको बताए।

, ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.