श्रीकृष्ण परिवारको दुःखद घडीमा साथ दिने को–को ?

म्हैपी मन्दिर नजिकै रहेको गुलाबी रंगको तीनतले घरको मूल गेटमा नेपालको राष्ट्रिय झण्डा र त्यसमुनि तस्बिरमा हात हल्लाएर आगन्तुकहरुलाई स्वागत गरिरहेका जस्ता देखिन्थे नायक श्रीकृष्ण श्रेष्ठको तस्बिर ।मानिसहरुको भीडभाड बाहिरबाट देखेपछि त्यहाँ नपस्ने कुरै भएन । थुपै्र आगन्तुकहरु उनको तस्बिर भएको ठाउँमा सलबलाइ
रहेका थिए । म आफू पनि त्यहाँ गएर भावुक हुँदै त्यहाँको माहोलबारे गम्भिर भएर सोचमग्न भएँ ।
श्रीकृष्ण श्रेष्ठले हामीलाई यो संसारबाट छाडेर गएको आज १३ दिन भइसकेको छ । श्रीसहित ६ दाजुभाइ थिए त्यो घरमा । तर अब भने ५ दाजुभाइ मात्र त्यो घरमा बस्नेछन् ।  घरको स्थिति हेर्दा परिवार संयुक्तजस्तो देखिन्छ । त्यो घरका दाजुभाइहरु मिलेर बसेको शैली र उनीहरुबिचको व्यवहार साह्रै नै लोभलाग्दो छ । सबै दाजुभाई एउटै घरमा बसेपनि उनीहरुको आ–आफ्नै पेशा रहेको श्रीका ठूल्दाजु रामकृष्ण श्रेष्ठले बताए । श्रीका ६ दाजुभाइमध्ये जेठो दाई रामकृष्ण श्रेष्ठ चाँही अहिले ६१ वर्षका छन् भने श्रीकृष्ण कान्छो भने ४७ वर्षको अल्पायुमा नै यो संसारबाट बिदा भए । उनीहरुको बुबाको पाँच वर्ष पहिले नै हृदयघातको कारण निधन भइसकेको छ भने आमा जगतकुमारी श्रेष्ठ अहिले ८७ वर्षकी हुनुहुन्छ । त्यस घरमा बुबाको निधनपछि जेठो दाई रामकृष्णले नै घर मुलीजस्तै व्यवहार चलाउँदै आइरहेकाले उनलाई अरु दाजुभाइ र आमाले पनि घरको अभिभावक ठान्ने गर्दछन् ।
कस्तो देखियो घरभित्रको अवस्था ?
सानो चिटिक्क मिलेको बैठक कोठा निकै लोभलाग्दो थियो । त्यस बैठक कोठामा रहेको ठूलो टिभीको स्क्रिनमुनि श्रीका ठूल्दाजु रामकृष्ण भने टोलाएर बसेका थिए ।६१ वसन्त पार गरेपनि उनका ठूल्दाजु निकै कम उमेरका देखिन्थे । ‘श्रीले पाएको सबै पुरस्कार लगायत उसले सम्मानपूर्वक पाएको प्रमाणपत्र मिलाएर राखेका छौं,’ श्रीका दाजुले बताए । ‘उसले विभिन्न कार्यक्रममा राम्रो प्रदर्शन गरेको देखेर आफन्त, दाजुभाई, साथीभाइहरुले दिएको मायाको चिनो भनेर सजाएर राखेका हौँ ।’
के भन्छन् त श्रीका ठूल्दाजु ?
उनी भन्छन्, ‘भाइ बिरामी भएपछि उपचार गर्नको लागि नयाँदिल्लीस्थित गंगाराम अस्पतालमा १५ दिन भाइसँग नै बसेर नेपाल फर्के । तर म फर्केको केही दिनपछि मेरो प्यारो भाइले यो संसारलाई छाड्यो ।’ भाइको कुरा गर्दा श्रीका दाजुको आँखाभरी आँशु बगेको थियो भने बोली पनि रुन्चे थियो । आजको दिनसम्म पनि कसैको आँसु रसाउन नछाडेको श्रीका दाजुले बताए ।
को–को आए त भेटघाट गर्न ?
१२ औं दिनसम्म पनि भेटघाटको लागि आउने आगन्तुकहरुको भीड उस्तै रहेको श्रीका दाजुले जानकारी दिए । उक्त निवासमा आफन्त, श्रीका दाजुभाई, साथीभाइ र शुभचिन्तकको ओइरो अझैसम्म पनि उस्तै रहेको बताए । विभिन्न दलका नेता र कलाकारको पनि उपस्थिति बाक्लै रहेको उनले जानकारी दिए । एकीकृत नेकपा माओवादीका बरिष्ठ नेता बाबुराम भट्टराई, एमाओवादीका नेतृ हिसिला यमी, कांग्रेस उपसभापति रामचन्द्र पौडेल, एमाले सचेतक अमृत बोहोरा, सिन्धुपाल्चोकका कांग्रेस नेता मोहन बहादुर बस्नेत लगायतका नेताहरुको उपस्थिति रहेको श्रीका दाजु रामकृष्ण श्रेष्ठले बताए । त्यस्तै कलाकारहरुमा करिश्मा मानन्धर, मेलिना मानन्धर, सुमिना घिमिरे, मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिवशं आचार्य, जिरे खुर्सानी परिवार तितो सत्य परिवार पनि उपस्थिति रहेको बताए । भेट्न आउनेमध्येहरु सबैभन्दा बढि श्रेष्ठ परिवारका अपरिचित व्यक्तिहरु नै थिए ।

, , ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.