प्रहरी कार्यलयमा बम बिस्फोट गराउने दसजना पक्राउ


विराटनगर : लिम्बुवान राज्यको माग गर्दै सशस्त्र भूमिगत भई ठाउँ ठाउँमा बम बिस्फोट गराउने समूहका दसजना पक्राउ परेका छन्।
 
पूर्वक्षेत्रीय प्रहरी कार्यालय विराटनगरको क्षेत्रीय अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय मोरङ र पथरी इलाका प्रहरी कार्यालयको प्रहरी टोलीले झापा र मोरङका विभिन्न स्थानबाट ठूलो परिमाणमा बिस्फोटकसहित उनीहरूलाई आइतबार राति पक्राउ गरेको हो। दुबै जिल्लामा खटिएको प्रहरी टोलीले किराँत लिम्बुवान राष्ट्रिय परिषद्का मोरङ इञ्चार्ज तथा पथरी इलाका प्रहरी कार्यालयमा बम बिस्फोट गराउने समूहका मुख्य नाइके मानबहादुर माझीसहित उनीहरूलाई पक्राउ गरेको छ। मोरङ बयरवन ८ का माझीकै नेतृत्वमा यही समूहले गत बुधबार पथरी प्रहरी कार्यालय नजिकै कुकर बम बिस्फोट गराएको प्रहरीले जनाएको छ। यही समूहले केही समय अघि ताप्लेजुङमा पनि बम बिस्फोट गराएको थियो। 
 
पक्राउ पर्नेमा मोरङ आयावारीका वर्ष १७ का पर्वत मामाङ, वर्ष १७ कै आशिष लिम्बू,वर्ष १७ को दोर्जे तामाङ, वर्ष को मनोज विश्वकर्मा, वर्ष १६ को विश्व बिक, वर्ष १७ को सुमन लम्बू, वर्ष ३४ को कविराज लिम्बू,मोरङ बयरवन ९ को कुमार लिम्बू र सतासीधाम ३ झिलझिले झापाका वर्ष ५८ को चन्द्र लिम्बू छन्। उनीहरूको साथबाट प्रहरीले किराँत लिम्बुवान राष्ट्रिय परिषद्को झण्डा, दस्ताबेज, चन्दा रसिद बरामद गरेको छ। यसैगरी नम्बर ३६ डेटोनेटर २२ वटा, बारुद आधा केजी,३१ थान बिष्फोटक पदार्थ(पिइके), तार जोड्ने व्याट्री, प्रयोग गरिएको एनसेलका रिचार्ज कार्ड पनि बरामद गरिएको छ। 
 
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक ठूले राइले लिम्बुवान पार्टीको नाम दिएर यो समूहले लुटपाट मच्चाउँदै आएको जानकारी दिदैं भने,'बेलैमा पक्राउ गरिएकोले यिनीहरूले अन्यत्र गर्ने विस्फोट हुन पाएन्।Ó यो राजनीतिक दल नभएर लुटपाट गर्ने समूहको झुन्ड भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको राईले जानकारी दिए। एसपी राईका अनुसार यो समूह पूर्वका विभिन्न स्थानमा श्रृंखालबद्ध बम बिस्फोट गराउने योजनामा थियो। यो समूहलाई झापा सतासीधाम झिलझिलेका चन्द्र लिम्बूले बिस्फोटक सप्लाई गर्दै आएका थिए। 
 
तर, लिम्बुवान राज्य प्राप्तिका लागि संघर्ष गर्न भूमिगत आन्दोलन थालिएको दाबी गर्दै परिषद्का मोरङ अध्यक्ष माझीले भने,'अरुण पूर्व ९ जिल्लालाई लिम्बुवान बनाउनकै लागि भूमिगत सशस्त्र आन्दोलन गरेका हौं। यो हाम्रो राजनीतिक लडाँइ हो।' 
 
पूर्वक्षेत्रीय प्रहरी कार्यालय विराटनगरको क्षेत्रीय अनुसन्धान समूहका डिएसपी राजकुमार बैदवारले यो समूह लिम्बुवान क्रान्तिकारी पार्टीबाट अलग भई अपराध र लुटपाट गर्ने मनिष हेल्लोककै सहयोगी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिए। उनले भने,'आफ्ना नेतालाई छुटाउन दवाब सृजना गर्न बम पड्काएको हो भन्ने अनुमान छ।' हेल्लोक हाल ताप्लेजुङ कारागारमा सजाय भुक्तान गरिरहेका छन्। 
 
अलग्गै लिम्बुवान राष्ट्रको पल्लो किराँत लिम्बुवान राज्य परिषद्सँग यो समूहको कुनै निकटवर्ती सम्बन्ध नरहेको अनुसन्धानबाट खुलेको डिएसपी बैदवारले बताएका छन्। पल्लो किराँत पनि पूर्वमा भूमिगत भई सशस्त्र आन्दोलन गरिरहेको छ। यही गिरोहका सदस्यले तिहारअघि पाँचथरमा अवस्थित काबेली हाइड्रो पावरका प्रबन्धक सुरेश कुमारको अपहरण गरी ३ करोड रुपैयाँ फिरौती मागेकोमा ३० लाख रुपैयाँमा मोलतोल भएको थियो। पैसा लिनुभन्दा अगाडि नै मनिष प्रहरी फन्दामा परेका थिए। मुख्य योजनाकारसहित ६ जना सहयोगी मध्ये तीनजना अझै फरार छन्। पक्राउ परेका बिस्फोट पदार्थ सप्लाई गर्ने चन्द्र लिम्बुमाथि बिस्फोट ओसार पोसार र कविराज लिम्बूमाथि ज्यान मार्ने उद्योगको मुद्दा चलिरहेको छ। 

: http://annapurnapost.com/News.aspx/story/2194#sthash.cSOMxO1O.g14fx3Ar.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.