कता जाँदैछ युवाको भविश्य, किन पुरा भएन सपना ?

काठमाडौं, आश्विन ११ । नेपालमा राजनीतिक चेतनाको विकास यसरी हुँदै गयो की युवालाई राजनीतिमा लाग्ने ठूलै रहर जागरुक हुँदै गयो । अनि देशको वागडोर सम्हाल्ने जोस पनि उस्तै किसिमले पलाउँन थाल्यो । त्यसैले त यतिबेला रामेछापका कैलाश श्रेष्ठ, इलामका दुर्गा घिमिरे, धादिङका दिवाकर अर्यालको एउटा समुह ‘युवा संसद’ नै खडा गरेर एउटा अभियानमा क्रियाशिल भएकाछन् ।
उनीहरुको अभियान तीनसय एक युवाको संविधान सभा खडा गरेर नमुना संविधान जारी गर्ने तयारी गरिहेका छन् । अनि सात बर्ष यता बन्न नसकेको नयाँ संविधानलाई व्यङ्गयात्मक चुनौती दिने लक्ष्य छ ।
६ सय एक मार्फत तयार हुन नसकेको संविधान ३ सय १ मार्फत ‘नमुना संविधान’ तयार पारेर मनोबैज्ञानिक दवाव दिने उनीहरुको अन्तिम लक्ष्य पनि हो । ‘हामीले न्यूनतम स्नातक पास गरेका ७५ वटै जिल्लाका युवालाई समेटेर युवा संसद खडा गरेका हौं,’ संयोजक दिवाकर अर्याल भन्छन–‘ नमुना संविधानको अन्तिम रुप तयार भइरहेको छ ।’
संविधान सभामा जे प्रक्रिया हुन्छ हाम्रो प्रक्रिया पनि त्यही हो, अर्का सदस्य दुर्गा घिमिरेले भने–‘हालका सभासदहरुले महिना हजारौं भत्ता बुझदछन् हामीसँग एक पैसा पनि छैन तर संविधान जारी गराएर छाडनेछौं र मनोबैज्ञानिक दबाव दिनेछौं ।’
राजनीतिमा मार्फत मात्र देशले निकास पाउँछ र युवाहरुको अधिकार सुनिश्चित हुन्छ भन्ने चेतना भएका सयौं युवाहरु यतिबेला यस्तैखाले अभियान लिएर गाउँ गाउँ पुगिरहेका छन् । ‘सडकमा रगत बगाउने र राजनीतिक दल ‘गोटी’ मात्र बन्ने रोगबाट हामी उन्मुक्ति खोजिरहेका छौं ।’ रामेछापका अर्का युवा कैलाश श्रेष्ठलाई यस्तै चेतना विकास भएको छ ।
‘हामी शासकीय स्वरुप, संघीयता प्रारुप तयार पारेर र संवैधानीक युवा आयोग गठन गररे काम अघि बढाएका छौं ।’ उनले भने–‘हामी बर्तमान संविधान सभालाई चुनौती दिनेछौं ।’ राजनीति मार्फत अवसर नपाएका कतिपय युवा आफनै अभियान मार्फत सन्देश दिइरहेका छन् । युवाका नाममा खुलेका दर्जनौं संस्थाहरु आ–आफनो अभियान मार्फत राजनीतिक दलहरुलाई मनोबैज्ञानिक दबाब दिन क्रियाशिल छन् ।
देशमा भरपर्दो व्यावस्था नहुँदा दैनिक १५ सय देखि १८ सय युवा अन्तराष्ट्रिय विमान स्थल मार्फत विदेशी भूमिमा रोजगारीका लागि उडिरहेका छन् । हातमा राम्रो सीप नहुँदा विदेशी भूमिमा पनि सयौं युवाहरुको विजोक भएको छ । युवा संस्था संजाल(आयोन)का अध्यक्ष देवराज भारद्धाज यस विषयमा अत्यन्तै संवेदशिल भएको बताउँछन् । ‘युवा भनेका शक्तिका श्रोत, सृष्टिका संवाहक, समाज विकासको मेरुदण्ड र लोकतन्त्रका रक्षक हुन्, तर यीनै युवालाई राज्यले वेवास्ता गरिरहेको छ’,अध्यक्ष भारद्धाजले भने–‘हामी युवालाई स्वदेशमै रोजगारी दिलाउन र युवामैन्त्री बजेट निर्माणका लागि सरकारलाई घचघचाइ रहेका छौं ।’
नेपालमा १६ देखि ४० बर्ष सम्म उमेर भएका व्यक्तिलाई युवा भनेर परिभाषित गरिएको छ । नेपालको संविधान सभा पनि ४० बर्ष उमेर समुह भित्र एकसय जती सभासद् छनोट भएर गएका छन् । संविधानसभा पनि उनीहरुको भूमिका युवालाई हित हुने किसिमको नभएको राष्ट्रिय युवा महासंघका महासचिब लोकराज अवस्थीको गुनासो छ ।
२०६५ सालमा निर्माण भएको राष्ट्रिय युवा नीति पास गर्न नसक्नु सभासद्हरुको कमजोरी हो । महासचिब अवस्थी भन्छन्–‘युवा परिषदको विधेयक पास गरेर युवा नीतिलाई कार्यन्वयन गर्न सकिन्छ, त्यसमा सभासद्हरुको भूमिका अहम रहन्छ ।’ युवाको सपना पुरा गर्न १६ बर्ष उमेर पुगेका युवालाई वालिक मताधिकार मात्र नभइ २५ वर्ष उमेरका युवालाई संसदमा स्थान दिनसके मात्र युवाहरुलाई सम्मान हुने उनको बुझाइ छ । ‘पहुँच, प्रतिनिधित्व र पहिचानका लागि हामी अभियान चलाइरहेका छौ’, उनले भने ।
नेपाली युवा लोकतान्त्रिक जनआन्दोलन र त्यसपछि गठित सरकारहरुबाट पनि अपहेलित हुदै आएको युवा अभियन्ताहरुको आरोप छ । लोकतान्त्रिक गणतन्त्रको पहिलो सरकारले पनि युवाका वास्तविक अधिकारहरुलाई आफैसँग चेपेर युवालाई स्वतन्त्र हुन नदिएको उनीहरुको बुझाइ छ ।
खाडी राष्ट्रहरुम पलायन भइरहेका युवालाई स्वदेशमै रोजगारी, गुणस्तरिय शिक्षा, समान व्यावहार लगायतका मागहरु सरकारले पु¥याउनु जरुरी रहेको राष्ट्रिय युवा गैरसरकारी संस्था महासंघका अध्यक्ष कमल सुवेदी छ । अध्यक्ष सुवेदी भन्छन–‘संविधानसभामा पुगेका युवा सभासद्हरुले पनि युवाको मुद्दालाई ओझेल पारेर पार्टीको निर्देशनमा मात्र काम गरे, जसका कारण युवाको वास्तविक मुद्दाले स्थान पाउन सकिरहेको छैन् ।’
युवाको भरिभाषा 
युवा शक्ति भनेको समाज तथा राष्ट्रको कर्मठ, साहसी, दृढ क्रियाशिल विद्रोही परिवर्तनकामी, सृजनशील, रचनात्मक तथा क्रान्तिकारी शक्ती मानिन्छ । हरेक राजनैतिक तथा सामाजिक परिवर्तनको आन्दोलनको महत्वपूर्ण र निर्णायक शक्तिका रुपमा लिने गरिन्छ । नेपालमा १६ देखि ४० बर्ष उमेर समुहका व्यक्तिलाई युवा मानिएको छ । यो उमेर समुह नेपालको ४२ प्रतिशत जनसंख्या हो ।
युवा भनेका शक्तिका श्रोत, सृष्टिका संवाहक, समाज विकासको मेरुदण्ड र लोकतन्त्रका रक्षक हुन् भनेर पनि परिभाषित गरिन्छ । इन्डोनेसियाका पूर्व राष्ट्रध्यक्ष सुकार्नोले भनेका छन–‘मलाई मातृभूमी प्रति गौरब र माया गर्ने दश युवाहरु देउ, तिनीहरुबाट नै म संसार बचाउन सक्नेछु ।’ युवालाई यसरी परिभाषित गर्न गरेको भए पनि उचित अवसर र सम्मान पाउन नसकेको अभियन्ताहरुको दुखेसो छ ।
युवालाई रातो कार्पेट
विदेशी भुमीमा पुगेर रगत पसिना बगाउने युवाले पठाएको रेमिट्न्यान्सले देश चलिरहेको छ । रेमिटयान्सबाटै देशको औद्योगीक क्षेत्र फस्टाएको छ । यस्तो अवस्थामा त्रिभुवन विमानस्थलमा आइपुगेका युवाहरुलाई रातो कार्पेटमा राखेर स्वागत गर्नुपर्ने युवा संस्थाहरुले माग गरिरहेका छन् । नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य लाओस राई भन्छनः‘युवाहरुले पठाएको रेमिटयान्सले देश चल्छ भने उनीहरुलाई सम्मान किन नगर्ने ?’
त्यतिमात्र होइन युवालाई श्रम ऐनलाई तत्कालै कार्यन्वयनमा ल्याएर युवाहरुको अधिकार सुरक्षित गरिनपर्ने राईको धारणा रहेको छ । सीप हातमा नहुँदा धेरै युवाहरुले विदेशी भूमिमा गएर ‘थ्रिडी’ अर्थात ‘डिफिकल, डेन्जर र डर्टी’ काम गरिरहनु परेकाले स्वदेशमै भरपर्दो तालिमको व्यवस्वथा गर्नुपर्ने मागहरु पनि उत्तिकै उठिरहेको छ ।
युवा संसदको अभ्यास 
विश्वका युरोप तथा दक्षिण एशियाली राष्ट्रहरुमा स्वतन्त्र र शैक्षिक युवाहरुको छुटै युवा संसद छ । जसले राज्य संचालकहरुलाई मनोबैज्ञानिक दबाब दिन अभियान नै चलाइरहेका छन् । राजनीतिक परिवर्तन पछि बनेको अधिकांश संसदीय मुलुहरुमा छुटै युवा संसद बनाएर मनोबैज्ञानिक दबाबको कार्यहरु गर्ने गरिन्छ ।
नेपालमा पनि युवा संसदको धारणा विकास भएको छ । जसले सरकारलाई व्यग्यात्यमक दबाब सिर्जना गरिरहेको छ । धादिङका युवा दिवाकर अर्यालले सुरु गरेको युवा संसद यतिबेला देशभरका करी पाँचसय युवा सदस्य छन् ।
उनीहरुको मनोबैज्ञानिक दबाबलाई राजनीति दलका नेताहरुले महत्वका साथ हेरिरहेका छन् । संविधान बन्नु अघि मात्र होइन संविधान बनिसके पछि संसद क्रियाशिल रहने छ, संयोजक दिवाकर अर्यालले भने ।
आखिर के चाहन्छन युवा
विघठित संविधान सभामा एक तिहाइ सभासद युवा रहेको भए पनि अन्तरिम संविधानको अवधारणामा युवालाई सम्बोधन गरिएको छैन् । ती एक तिहाइ सभास्दको पहुँच त्यहाँ सम्म पुग्न सकेको छैन्, जहाँ युवा अधिकारको ग्यारेन्टी हुने थियो । तत्कालिन नेकपा एमाओवादीको नेतृत्वमा रहेको सरकारले युवा नीति जारी ग¥यो तर त्यसको कार्यन्वयन गर्न सकिरहेको छैन् । लोकतान्त्रिक आन्दोलनका अगुवा युवा अव बन्ने नयाँ संविधानमा युवालाई समेटिने आशामा छन् ।
अबको संविधानको मस्यौदामा नै युवालाई सम्बोेधन गर्नुपर्ने उनीहरुको माग छ । यसवेला युवाको आवश्यक्ता भनेको स्वास्थ्य, शिक्षा र रोजगारी हुन् । यी तीन अभिन्न विषयमा नै राज्य पक्ष गम्भिर हुनुपर्नेछ । त्यतिमात्र नभएर जनसंख्याको आधारमा राज्यको हरेक क्षेत्रमा युवालाई प्रतिनिधित्व पनि गराउन आवश्यक देखिन्छ । यस्ता यस्तै  युवाका तत्कालिन आवश्यक्ताहरु छन् र मागका रुपमा उभ्याइएको छ । तर पेलिदै र हेपीदै गएका युवाले ती आवश्यक्ता पूर्ती भएको अनुभूति चाख्लान भन्ने विश्वास गर्न चाहीं सकिदैन् ।
राज्यले जारी गरेको युवा नीतिमा सार्थक सहभागिता, क्षमता र नेतृत्व विकासको माध्यमबाट युवाहरुलाई राष्ट्रिय विकासको मुलधारमा समाहित गर्दै समृद्ध, आधुनीक र न्यायपूर्ण नेपाल निर्माण गर्न युवाहरुको भूमिका र तिनीहरुमा रहेको अन्तर्निहित क्षमतालाई गुणात्मक बनाउनु प्रमुख लक्ष्य रहेको छ । नयाँ संविधान घोषणा हुने मिति नजिकदै गइरहेको बेला नेपाली युवाको लक्ष्य युवामैन्त्री संविधानको नै हो ।
- See more at: http://imagekhabar.com/samachar/detail/41823/29/.shtml#sthash.gBFT7Eba.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.