सुनको मूल्य ४० हजारभन्दा तल झर्न सक्ने .....

                                 
               

काठमाडौं-केही सातादेखि ओरालो लागेको सुनको मूल्य आगामी वर्षसम्ममा प्रतितोला ३५ देखि ४० हजारको बीचमा पुग्ने प्रक्षेपण गरिएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य साढे चार वर्षअघिको मूल्यमा पुगेको र यो अझै घट्दै जाने विश्लेषकहरुले प्रक्षेपण गरेका छन्।

विगत केही वर्षमा सुनको मूल्य वार्षिक औसत १५ प्रतिशतले बढेको र अब विस्तारै घट्ने क्रममा रहेको मर्निङ स्टारको मल्टि एसेट स्ट्राटेजीका प्रमुख माइकल कुपले भनेका छन्। ‘म एक दुई वर्षको प्रक्षेपण गर्न सक्दिन तर ५/७ वर्षमा सुनको मूल्य अहिलेको भन्दा निकै कम हुनेछ,' सिएनबिसी टेलिभिजनसँगको अन्तर्वार्तामा कुपले भने। अन्तर्राष्ट्रिय बजारमा मंगलबार प्रति औंस एक हजार एक सय ४० अमेरिकी डलरको हाराहारीमा रहेको सुनको मूल्य तीन अंकमा सिमित हुने उनको विश्लेषण छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य र अमेरिकी डलरको विनिमय दरका कारणले नेपाली बजारमा सुनको मूल्य निर्धारण हुने गरेको छ। यसै कारणले साताको सुरुमै प्रति तोला एक हजार पाँच सय रुपैयाँ बढेको सुनको मूल्य मंगलबार तोलामा आठ सय रुपैयाँ घटेको व्यवसायीहरु बताउँछन्। ‘सानो सानो कुराले पनि मूल्यमा प्रभाव पारिरहेको हुन्छ। अन्तर्राष्ट्रिय बजारमा मिनेट मिनेटमै सुनको मूल्यमा उतारचढाव भइरहेको हुन्छ,' नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले भने। अहिले सुनको मूल्य घट्नुको कारण क्रोयसियामा अमेरिकी सैनिकको गतिविधि बढ्नु रहेको उनको विश्लेषण छ।
सुनको मूल्य विगतमा निर्धारण हुने प्रक्रियाभन्दा यसपल्ट उल्टो भएको अर्थशास्त्री विश्वम्भर प्याकुरेल बताउँछन्। ‘पहिले पहिले सुनको मूल्य डलरसँग जोडिएको हुन्थ्यो। डलरको मूल्य पेट्रोलियम पदार्थसँग जोडिएको हुन्थ्यो,' उनले भने। अहिले भने त्यो ‘डिलिंक' भएको प्याकुरेलको विश्लेषण छ। अहिले अमेरिकी अर्थतन्त्रले पनि स्थिर नभएकाले सुनको मूल्यमा उतारचढाव भएको उनको भनाई छ । डलर शक्तिशाली नभएकाले पनि सुनको मूल्य घट्दै गएको उनको तर्क छ। ‘सुनको मुख्य बजार भनेको भारत र चीन हो। सुनको मूल्य यी देशहरुमा हुने माग, डलरको विनिमय दर र द्वन्द्वले निर्धारण हुने गर्दछ,' प्याकुरेलले भने।
सुनको अन्तर्राष्ट्रिय बजारको ट्रेन्ड र इतिहास हेर्दा मूल्य अझै घट्ने अर्का अर्थशास्त्री चीरञ्जीवी नेपाल बताउँछन्। सन् १९८० मा सुनको मूल्य निकै बढेपनि पछि घट्दै गएको बताउँदै मूल्य अझै घट्ने उनको अनुमान छ। ‘सन् १९९९ मा प्रति औंस तीन सय डलर रहेका सुनको मूल्य सन् २००९ मा नौ सय डलर पुग्यो,' उनले भने। सन् २०१६/१७ मा सुनको मूल्य घटेर प्रति तोला ३५ देखि ४० हजारसम्म पुग्ने अनुमान गर्न सकिने उनले बताए। युरोपमा सेयर बजार बढेको, तेलको भाउ घटेको र डलर मजबुत हुँदै गएकाले पनि अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताहरु सुन बेचेर सेयर किन्न लागेका उनको विश्लेषण छ। ‘अन्तर्राष्ट्रिय प्रभाव हेर्दा भारतीय बजारमा पनि सुनको मूल्य घट्छ,' नेपाल भन्छन्। भारतमा मूल्य घट्नासाथ नेपालमा त्यसको सोझो प्रभाव पर्ने उनले बताए।
सुन व्यवसायीहरु भने सुनको मूल्यबारे यसै आँकलन गर्न नसकिने बताउँछन्। शुक्रबारसम्मको विश्लेषण हेर्दा सुनको मूल्य घटेर प्रति तोला ४८ हजारसम्म पुग्ने अनुमान गरिए पनि आइतबार मूल्य बढेको महासंघका अध्यक्ष शाक्य बताउँछन्। ‘आइतबार ४९ हजारबाट एकैचोटी बढेर ५० हजार पाँच सय पुग्यो। आज फेरि घटेको छ' उनी भन्छन्। ‘अमेरिकी डलरको अधिमूल्यनस“गै सुनको मागमा कमी आउन थालेपछि भाउ घट्ने क्रम सुरु भएको छ ' शाक्यले भने। त्यस्तै अमेरिकी संघीय बैंकले जारी राखेको ऋणपत्र खरिद कार्यक्रमलाई कटौती गरेपछी यसले अमेरिकी अर्थतन्त्र बलियो भएको देखिएको छ भने डलर अझ मजुबत रही आगामी सन् २०१५ देखि बैंक ब्याजदर बढ्ने संकेत देखिएका उनको भनाई छ। ‘यसै कारण पनि लगानीकर्ताहरु त्यता आकर्षित भएका छन्,' उनले भने।
सुनको मूल्यमा उतारचढाव भइरहेपनि विवाहको मौसम सुरु भएकाले बिक्री बढेको छ। व्यवसायीकहाँ गहनाको अर्डर आउन थालिसकेकोले सुनको बिक्री बढेको शाक्यले बताए। ‘बजारमा सुनको अभाव हुन थालेका छ। अहिले दैनिक ३५ किलो खपत भइरहेको छ,' उनले भने। मागअनुसारकै खपत भइरहेको उनले जानकारी दिए।
अहिले बजारमा सुनको खास माग नभएको अर्थशास्त्री प्याकुरेलको दाबी छ। केन्द्रीय बैंकमा सुन सञ्चित रहेको र त्यो उपयोग हुन नसकेको उनी बताउँछन्। ‘वाणिज्य बैंकमा सुन थुप्रिएको छ। यसो हुँदा पनि अवैध रुपमा सुन नेपालमा भित्रिइरहेको छ,' उनी भन्छन्। यसले गर्दा डलरको मूल्य मजबुत भएर पनि उत्पादन मूल्य बढेको उनी बताउँछन्।
गत साता घटेर प्रति तोला ४९ हजारसम्म पुगेको छापावाल सुनको मूल्य मंगलबार प्रति तोला ४९ हजार पाँच सय रुपैयाँमा कारोबार भयो। शुक्रबार तोलाको ४९ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार एक्कासी एक हजार पाँच सय रुपैयाँ बढेर ५० हजार पाँच सय रुपैयाँ पुगेको थियो। सोमबार तोलामा दुई सय रुपैयाँ घटेको सुनको मूल्य मंगलबार तोलामा आठ सय रुपैयाँ घटेर ४९ हजार पाँच सय रुपैयाँ पुगेको हो। त्यस्तै, गत साताको बिहीबार र शुक्रबार प्रति तोला ६ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार र सोमबार ६ सय ८५ रुपैयाँमा कारोबार भई मंगलबार ६ सय ७५ मा झरेको छ।
http://www.nagariknews.com/economy/market/story/27619#sthash.FCWpSyVa.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.