के हो पिसाब चुहिने समस्या नेपालमा कति मानिस यसबाट पीडित छन् ?
काठमाडौँ, १७ वैशाख । नेपालमा करिब २० हजार महिला पिसाब चुहिने समस्या (फिस्टुला) बाट पीडित भएको एक अध्ययनले देखाएको छ। महिलामा देखिने यो समस्या सानै उमेरमा बच्चा जन्माउँदा हुने गर्दछ। बच्चा जन्माउँदा लामो समय व्यथा लागी पाठेघरको मुख थिचिने कारणले रक्तसञ्चार बन्द भई झिल्ली र मासु मरी प्वाल पर्ने कारण महिलाहरूमा फिस्टुलाको रोग देखा परेको समाचार आजको नेपाल समाचारपत्र दैनिकले छापेको छ ।
गर्भवती अवस्थामा सन्तुलित आहार कम हुनु, बाल्यकालमा बालिकालाई खानामा विभेद् गरिनुले पनि फिस्टुलाको समस्या बढी हुने गरेको सो अध्ययनले देखाएको हो। यो रोग लागेका बिरामीहरू पिसाब नरोकिने र निरन्तर चुहिरहने समस्याबाट ग्रसित हुने गरेका छन। यो समस्या विशेष गरी महिलामा हुने भए तापनि कहिलेकाहीं पुरुषमा पनि देखा पर्ने सो अध्ययनले देखाएको छ।
फिस्टुला हुनुको मुख्य कारण १८ घण्टाभन्दा लामो समय प्रसव व्यथा लाग्नु र योनी मार्गमा बच्चाको टाउको रहिरह्यो भने यो समस्या बढी देखिने विश्व स्वास्थ्य संगठनको एक अध्ययनले देखाएको छ। संगठनको अध्ययन तथ्याङ्कअनुसार विश्वमा हरेक वर्ष ५० हजारदेखि १ लाख महिलामा फिस्टुलाको समस्या बढ्ने गरेको छ। विश्वमा अहिले २० लाख महिला फिस्टुला पीडित छन्।
नेपालमा प्रतिवर्ष ५ सयदेखि १ हजार नयाँ फिस्टुला पीडित थपिने गरेको तर जसमध्ये ५० देखि १ सय जनाले मात्र उपचार पाउने गरेको तथ्याङ्कले देखाएको छ। पछिल्लो २ वर्षमा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले मात्रै १ सय महिलाको फिस्टुलासम्बन्धी निःशुल्क अप्रेसन गरेको जनाएको छ।
नेपालमा पाटन अस्पताल र धरानको वीपी प्रतिष्ठानमा फिस्टुलाको अन्तर्राष्ट्रिय मान्यता प्राप्त उपचार हुँदै आएको महेशचन्द्र रेग्मी बताउनुहुन्छ। केही महिलाले फिस्टुलाको उपचार हुने स्थान थाहा नपाएर तथा लाजले स्वास्थ्यकर्मीलाई आफ्नो समस्या नराख्ने गरेको कारण समस्या बढ्दै गएको चिकित्सकहरू बताउँछन्। यस्तो अवस्थामा उनीहरूलाई घरपरिवारबाटै प्रोत्साहन गर्ने अभियानको आवश्यकता रहेको विपी प्रतिष्ठानका फिस्टुला विशेषज्ञ एवम् विभागका एसोसिएट प्रोफेसर रेग्मीले जानकारी गराउनुभयो।
विज्ञहरूका अनुसार गर्भवती महिलाले नियमित परीक्षणमा ढिलाइ गर्दा, बच्चा जन्माउने बेथा लागेपछि आवश्यक सहयोग तुरुन्त प्राप्त गर्न नसक्दा अथवा उक्त सहयोगका लागि निर्णय लिने काममा ढिलाइ हुँदा पनि यस्तो समस्या आउने गरेको डा. रेग्मी बताउनुहुन्छ।
0 comments
Write Down Your Responses