पैसा जुटाउन कसरत गरें तर देश बेचेकी छैन हजुर

                                                                                                                          

दीप्स शाह  
बैदेशिक रोजगारको शिलशिलामा पहिलो पटक मनभरी बिषाद,त्रास् र थोरै उमंग बोकेर १० जना कलीला उमेरका अभागी नेपाली मुनाहरु १७ जनवरी सन् २००७ मा  मध्यपूर्बको सुन्दर शहर इजराइल पुगियो । अन्तराष्ट्रिय बिमानस्थल बेनगुरियनमा रातको ९ बजे अवतरण हुँदा सम्म त्यति धैर नराम्रो लागेको थिएन कारण तब सम्म सबै साथीहरु संगै थियौँ। तर अलिक्क पर पुगेपछी जब मेरा इम्प्लोएर दम्पती सानो अपाङ्ग नानी बोकेर मेरो नाम अंकित प्ले कार्ड देखाउँदै अगाडि आए, मेरो आँखा बाट आशु रोकिएन। त्यतिबेला मात्र मलाई अर्काको मुलुकमा टेकिसकेको तितो अभास भयो। त्यसबेला कतिसम्म कुकुसमुकुस र त्रासको बिस्मात भुमरी चल्यो अहिले शब्दमा उतार्न सक्दिँन। सबै साथी हरु त्यहीँ देखी छुटिए। म एक्लै लुरुलुरु लागे इम्ल्पोएर संगै कारमा सामान लादेर। हंसिला फरासिला र शिक्षित ति दम्पतीका शिष्ट भाषा, सम्मानजनक अभिबादन र स्वागत ले निक्कैनै राहत मिल्यो। कारमा बसिसकेपछी सानो अपाङ्ग नानी राखिदिए मेरो काखमा ,ती बच्चिकै हेरचाह गर्न म त्यँहा पुगेको थिएँ जसबाट डलरको खोस्टो बटुलेर आफ्नो नानीको पेट भर्नु मेरो उदेश्य थियो ।
नानी काखमा बोकिसकेपछी म एक्कासी हुत्तिँदै नेपाल पुगेँ जहाँ मेरो २३ महिनाको छोरो बिस्ताराको कुनामा सुतिरहेको सम्झना पुगे । लगभग अढाइ दिन देखी आमाको दुध चुस्न त के मुख पनि हेर्न पाएको थिएन। बोली राम्ररी फुटिनसकेको त्यो अबोध मस्तिष्कलाई के थाहा थियो र उसकी आमा जीवनको जोहोगर्न कती टाढा पुगिसकेको छे। आमासंगको बिछोडमा लगातार रुँदा रुँदा घाँटी सुकेपपछि गालामा आशुको टाटो र ओठभरी कलेटी बोकेर त्यसै निदाएको रहेछ । छेउमा मेरा पति बच्चो सुम्सुम्याउँदै निराशापूर्ण आँखाले सिलिङ्ग चाहर्दै रहेछन्। अर्को कोठामा मेरो बुढी आमा नातिको क्रन्दन र छोरीको बिदाइले आँखा गोल्भेँडा जत्रा पारेर पल्टेकी रहिछन्। त्यस क्षण म क्वाँ क्वाँ गरेर डाँकै छोडेर यसरी रोएँ सम्झिँदा अहिले पनि मुटु हजार टुक्रा हुन्छ। टिस्यु पेपर दिंदै एम्प्लोएर बुढीले अंगालो हालेपछी फेरी हठात् त्यही कार भित्र ओर्लिएँ भावनाको सगर बाट।
लगातार लग्भग साढे चार घण्टा को कुदाइ पछी बल्ल दक्षिणी इजरायलको सुनसान सानो चिटिक्कको गाउँ फरान पुगियो ।थाकेको ले तुरुन्तै सुत्न गएँ। भोलिपल्ट बिहानबाट मेरो जिन्दगीको कहर बिदेशीको घरमा जागिर सुरु भयो। काम नै गर्न भनेर त्यहासम्म पुगेको थिएँ। गर्नु त थियो नै। तर तिनले पहिले भने जस्तो नानी स्याहार्न भने मलाई खासै लगाएनन्। यही कुरालाई लिएर म सुरु देखिनै बेखुसी रहे। त्यही अपाङ्ग नानी पनि बिहान देखिनै बेबी केयरमा लैजादा रहेछन् र साँझ ५ बजे मात्र फर्काउने रहेछन् ।  मेरो काम त दिनभरी एक्लै घरको सफासुघ्घर धोइपखाली गर्नु रहेछ। सबै आ–आफ्ना काममा लागेपछी म दिनभरी एक्लै घरमा हुन्थेँ। दिउसो दुई घण्टा रेस्ट बाहेक बाँकी समय लगातार गधाले झैँ काम गरिरहनुपर्थ्यो। ठग्न जान्दिनथेँ त्यसैले एक्लै हुँदा पनि छिन् भर नबसी लगातार घर घोट्तै सफा गरिरहन्थेँ। काम त म आँफै पनि खोजी खोजी ब्यस्त रहन चाहन्थेँ। हात खाली भयो कि त मन उडेर घरै पुग्थ्यो, रोइरहन मन लाग्थ्यो । बरु काममा रहँदा भुलिन्थ्यो। दिन त जसो तसो बित्थ्यो जब बिस्तारै दिनहरु बित्दै जाने थाले  लाग्थ्यो कसैले जबर्जस्ती घाँटी दबाउँदैछ। मलाई सानो स्टोर रुम जस्तो छुट्टै सुत्ने घर दिइएको थियो, राती भएपछि दिनभरिको गधा दलाइको कामले थाकेको शरीर अनी घरको सम्झनाले सताउँदा एक्लै डाँको छोडेर रुन्थेँ। कैयन रात रुँदा रुँदै बिहानीमा बद्लियो त्यसको हिसाब किताब आशुले किनेका हरिया डलरमा कहिल्यै हुन सक्दैन।
बिस्तारै घुलमिल हुँदै गएँ, रुने क्रम त घटेन तर यस्तै हो भन्ने चाँही लाग्दै गयो। दुई छोरा र एक छोरी अली ठुला थिए तिनिहरु कुन्निकता बस्थे तर हप्ता एकदिन भने घरमा आउँथे। रमाइलो गर्थे। सबैका आ–आफ्ना गर्ल्फ्रेण्ड ब्वाइफ्रेण्ड थिए। सुरु सुरुमा म अचम्म मान्थेँ तर यो त तिनिहरुको संस्कार नै थियो। मैले पनि अचम्मलाई सामान्य मान्दै पचाइदिन थालेँ।
त्यस्तैमा एक दिन ति छोराछोरीले आ–आफ्न केही साथीहरु पनि लिएर आएछन्। थरिथरिका परिकार बनाएर टेबुल घेरेर बसेपछी बिभिन्न बिषयका गफ चल्न थाल्यो। म स्वाभाबैले अलिक गफी मान्छे। यस्तोमा त म खुशीनै हुन्थेँ। गफकै क्रममा एउटा सिकटे गोरोकेटोले मेरो बारेमा सोध्यो। उसले नेपाल भन्ने देश छ भन्ने कुरा मान्दै मानेन। उसको बिचारमा नेपाल भनेको भारतको कुनै प्रान्त हो भन्ने रहेछ। मेरा इम्प्लोएरले सम्झाउँदा पनि मान्दै मानेन । निक्कै नै चर्काचर्की जस्तै पर्योे उसलाई सम्झाउन कि नेपाल भनेको एक छुट्टै सार्बभौम सम्पन्न मुलुक हो भनेर। त्यसबेला मैले अनुमान गरे कि यति सामान्य गफगाफमा त देश हुनु र नहुनुको यथार्थले यति असर गर्छ भने, साँच्चै नै भूगोलमा आफ्नो देश नहुँदाको अवस्था कस्तो हुँदो हो इतिहास देखी वर्तमान अनि भबिस्यको कित्ता कित्तामा त्यसबेला मैले निकै कसरत गरेर बुद्द–लुम्बिनी, सगरमाथाको कुरो पनि राखेँ ,खोइ त्यतिनै होला हाम्रो घमन्डको बहाना शायद ।
त्यसपछी फेरी कुरो आयो समुन्द्र को। मैले भने हाम्रोमा समुन्द्र छैन जो भुपरिवेष्ठित मुलुक हो र संसारमा अरु पनि छन् समुन्द्र नहुने मुलुकहरु। त्यहाँ जम्मा भएका थुप्रै केटाकेटीले समुन्द्र नभएको र नदेखेकोमा मलाई खिसी गरे। त्यो उनिहरुको केटौलेपन् हो भन्ने जान्दा जान्दै पनि मलाई झनक्क रिस उठ्यो र पड्किएं कि नेपाल भनेको विश्वमा जलस्रोतको ब्राजिल पछि दोस्रो धनी देश हो। हामी संसारको छानो हौँ ,हाम्रो माथिको टाकुरामा पानी उम्रन्छ त्यही बग्दै बग्दै संसारको धुलो मैलो पखाल्दै होचा भुभागतिर आएर तिमीहरुकामा समुन्द्र बनेका हुन्। मैले यसो भन्दा चाँही तिनिहरु अली खिस्रिक्क परे तर म भने आँफै भित्रभित्रै पोलिँदै थिएँ, मलाई थाहा थियो मैले पनि बागमतीको पानी एक थोपो मुखमा हाल्न सक्दिन ।
दिन बित्दै थियो तर झन पछी झन धेरै कामको चापले म आत्तिन थालेँ। साबिक भन्दा ५०४ तलब कम्ती थियो मलाई तर काम भने पहिले तोकेको भन्दा फरक र त्यो पनि धेरै। नेपालमा गरीवी थियो, दुख थियो, निमेक गरिन्थ्यो तर त्यसरी मेसिनले झैँ कसैको डर त्रासमा उज्यालो भए देखी अंध्यारो हुँदा सम्म घोटिनुपरेको कहिल्यै थिएन। केही समयपछि मैले आफ्नो तलब साबिक नै पाउनुपर्ने कुरा राखेँ। त्यसदिन इम्प्लोएर बुढी निक्कै रन्कि ।  मैले पनि सक्दो प्रतिपाद गरे, म यसरी घरको सफाइ गर्न भनेर आएकै होइन। मलाई नानी हेर्नु भनेको थियो तर तिमी मलाई घर घोटाउँछौ। निकै बेरको चर्काचर्कीपछि साविक तलब दिन राजी भए।
यस्तैमा ५ महिना लगभग बित्न लागिसकेको थियो । एकदिन छुट्टी मनाउन साथीहरुकोमा अभिब शहर जाने निधो गरेँ। गएँ पनि तर फर्किँदा अलिक ढिलो भयो। मैले काम गर्ने ठाउँ बाट आउन जान १० घण्टा लाग्थ्यो ।  २६ घण्टाको साप्ताहिक छुट्टी बिताएर फर्किँदा २७ घण्टा लागेकोमा एक घण्टा धेरै भो भनेर बुढीले बबण्डर झिकी। सुरुमा मैले माफि मागेर आइन्दा त्यस्तो नहुने कुरो गरेँ तर बुढी त्यतिले शान्त भइनन्। काम बाट  निकाल्दिन्छु, यहाँ काम गर्न चाहने धेरै छन्। पछि काम नपाउदा थाहा पाउलिस् जस्ता कुराले मलाई प्रहार गर्न थाली। सुरुमा त डर पनि लाग्यो। कतै कामबाट निकाली भने कता जानु, उता बाट आउँदा लागेको पैसा उठ्नै अझै कति बाँकी छ। अन्त काम पाइने हो कि होइन। निकै बेर चुप लागेर बसेँ। तर गरीब भएर पनि पैसा नचिनेको, खान नपाएर काम खोज्दै आएका हरु जस्ता लाञ्छाना लगाउन थाले पछी भने म भित्रको स्वाभिमान  चुप लागेन । अनि मैले पनि भाषण दिन थालेँ। भने ‘लौ म मन परिन भने अहिले नै जान्छु, काम छोडेर। म कुनै मुलुकबाट अपदस्त या बिचल्लीमा परेर आएको  शरणार्थी होइन। मैले यहाँ आउनको लागि पुरा सात हजार डलर बराबरको रकम तिरेको छु र कानुनसम्मत दर्ता भएर सरकारले जिम्मा लिएर ल्याएको हो । काम दिए पनि नदिए पनि एजेन्सिले मलाई काम दिन वाध्य हुन्छ र  ४ बर्ष ३ महिना तेरो देशमा ढुक्कले रहन पाउँछु।’
अवस्य पनि हातमुख जोर्ने समस्याले म यहाँ आएको हुँ किन कि हामी गरीब छौँ पैसामा तर हार्दिकता र मानवतामा होइन । मैले आफ्नो आबेशमा भने  ‘यहाँ आउनको लागि मैले पैसा जुटाउन धेरै कसरत गरेँ तर याद राख् मैले देश बेचेर आएकी छैन।’  तुरुन्तै मैले आफ्नो कुम्लो कुटुरो बाँधेर त्यो मेरो लगभग ६ महिना बिताएको जागिरे ठाउँ बाट संधैको लागि बिदा लिएँ।
संघर्षका दिनहरु त अगाडि बिस्कुनै थियो। पछि अन्तै आँफै काम खोजेर गर्न थालेँ ,। जिन्दगी चल्दै छ। तर अहिले पनि घरि घरि सम्झनामा मेरो प्यारो नेपाल पुग्दा मात्रै होइन छुट्टीमा घर जाँदाको आफ्नो माटो माथि धुलै मैलै किन नहोस् निर्धक्क आफ्नो हो भन्ने आत्मियता गाँसिएको सडक,गोरेटा धुलौटे बाटाहरु दुई गोडाले नापेको बखतको स्वाभिमानी र आफ्नोपनको आत्माभिमान कहाँ पाइँदोरहेछ ?  म ज्यादा बुझ्दिन राजनीति, अहिलेको चर्को बहसको बिषय संघियता वा बिबिध तन्त्रहरु।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.