जनै टुप्पी राख्दिँन, पूजापाठ गर्दिँन, म कसरी हिन्दु भएँ ?



१३ मंसिर, काठमाडौं । नेकपा एमालेका पूर्वनेता, पूर्वशिक्षामन्त्री एवं संस्कृतिविद डा. मोदनाथ प्रश्रित यतिबेला विवादमा छन् । विशेष गरी जातीय राज्यको आलोचना, नेपाललाई धर्म निरपेक्ष बनाउनुहुन्न भन्ने मान्यता र पृथ्वीनारायण शाहको प्रशंसा लगायतका विषयमा प्रश्रतिमाथि आलोचना हुने गरेको छ ।
अनलाइनखबरकर्मीले शनिबार बिहान थानकोटस्थित निवासमै पुगेर प्रश्रितलाई उनीमाथि लाग्ने गरेका आरोप र धर्मसम्बन्धी उनको विचार बुझ्ने प्रयास गर्‍यो ।
कम्युनिष्ट नेता प्रश्रतिले आफू हिन्दु नभएको र हिन्दुराष्ट्रको वकालत नगरेको स्पष्ट पारे । हिन्दु राष्ट्र घोषणा गर्दा मुलुकमा साम्प्रदायिकता बढ्ने उनले बताए ।
गढीमाईमा भइरहेको पशुबलीबारे प्रतिक्रिया दिँदै उनले परम्पराभन्दैमा रुढीवादलाई प्रश्रय दिन नहुने बताए । ‘परम्परा भनेर अन्धविश्वासलाई त मान्न भएन नि, उनले भने- ‘परम्परामा त तीनवटी विवाह गर्ने पनि थियो ।’
एक जमानामा तपाई धेरैको फ्यान हुनुहुन्थ्यो । अचेल ‘सोसियल मिडिया’मा गाली खान थाल्नुभएको छ, यस्तो किन भएको होला ?
- सत्य कुरा यो हो र यसले राष्ट्रको हित गर्छ भन्ने बुझिसकेपछि त्यसबारे एक्लै भए पनि बोल्नुपर्छ । पृथ्वीनारायण शाहका बारेमा मैले त एक्लै बोलेको हो नि । आखिरमा १० वर्षपछि आएर प्रचण्डले पनि पृथ्वीनारायण शाह ठीक हो भने । अहिले आएर गोपाल किरातीले पनि ठीक हो भने । गोपाल किराती पृथ्वीनारायण शाहका सबैभन्दा विरोधी हुन् पहिले ।
म के हिन्दु भएको छु र ? मैले जनै र टुप्पी राखेको छैन । दलितहरुसँग खाइराखेको छु । म पूजापाठ गर्दिँन, जनै टुप्पी राख्दिँन
यस कुरालाई पत्रिकाले विश्लेषण गर्नुपर्ने थियो । आजसम्म मोदनाथले यसो भन्दा राजतन्त्रवादी र दलाल हुने, अनि प्रचण्डले भन्दाखेरि उनी क्रान्तिकारी नै रहने भन्ने हुन्छ र ?
मान्छे सत्य कुरा बोल्दाखेरि कहिलेकाँहि लहरको थिचाइमा पर्छ । तर त्यस्तो कुरोमा जो मान्छे अडिन्छ, एक दिन न एक दिन वास्तविकता अगाडि आउँछ । आँधी आएका बेला बलिया रुखहरुमात्रै अडिन सक्छन् । त्यसैले कसले निन्दा गर्छन् वा कसले प्रशंसा गर्छन् भन्ने कुरा महत्वपूर्ण होइन ।
मोदनाथ त खुँखार जनजाति विरोधी भयो भन्छन् नि ?
- मैले कहाँ जनजातिको विरोध गरेको छु र ? मैले जातीय राज्य हुन्न भन्नुको अर्थ जनजातिको विरोध त होइन नि । मैले ब्राह्मणवादबाट अवहेलित भएका दलितहरु र सबै जातका पक्षमा लेखेको छु । जनजातिका आधारमा राज्य खडा हुन सक्दैन भन्ने जनजाति विरोधी कुरा होइन ।
अरुले जे-जे विश्लेषण गर्छन्, त्यो उनीहरुको कुरा हो । तर, मैले जातीय राज्यबाहेक कहीँ पनि जनजातिहरु बेठीक हुन् भनेर लेखेको पनि छैन, बोलेको पनि छैन । नेपालका सबै दाजुभाइ दिदी बहिनी हुन्, मैले त्यस्तो बोल्नुपर्ने आवश्यकता पनि छैन ।
तर, विगतमा तपाईले आफ्नै ब्राह्मण जातिको विरोधमा त प्रशस्तै लेख्नुभयो नि हैन र ?
- त्यो त लेखें । ब्राह्मणवादको समर्थन र विरोध केबाट हुन्छ भने चार वर्ण भनेको कुनै जन्मशिद्ध होइन, यो श्रम विभाजन हो । यो वर्ण व्यवस्था बेठीक हो ।
अहिले विगतको मोदनाथ र अहिलेको मोदनाथको विचारमा संगति देखिन छाड्यो भन्नेहरु पनि छन्, यस्तो किन ?
- त्यतिबेला वर्ण व्यवस्थाको विरोध गर्नु आवश्यक थियो । वर्णव्यवस्थाले समाजलाई साह्रै छिन्न भिन्न पारेको थियो । जातपात, छुवाछुत, उपाध्याय, जैसी, दशथरि जैसी गरेर मानव समाज विभाजित थियो । यो विभाजनलाई भत्काउनका लागि त गैंती चलाउनै पथ्र्यो । त्यो चलाएर म त दलित मुक्ति आन्दोलनमा लागेको मान्छे हुँ ।
प्रचण्डबहादुरसँग बसेर हामीले जातपातविरोधी अभियान चलायौं । त्यो त हाम्रो लिखितै छ । हामीले कुवाहरुमा गएर पानी उघायौं । मन्दिरहरुमा प्रवेश गरायौं । आफन्तहरुमा कत्रो वैरभाव भयो ।
जनजातिको पक्षमा मैले मानव महाकाव्यमा मानवताको कुरा गरेर सबै मानिस समान हौं है भनेको छु । त्यसपछि ‘जातपात छुवाछुत प्रथा, मानवताको कलंक’मा त्यसलाई अझ गहिरोसँग विश्लेषण गरियो । बाहुन क्षेत्री र मगर गुरुङको वीचमा देखाउनुपर्ने कुरा हली भएर बसेकाहरुका बारेमा मैले ‘आमाको काखमा’ नाटक लेखें । योभन्दा कति गर्ने ? सधैंभरि एउटा मान्छेले मात्रै कति कराइराख्ने ?
तर, अहिले ती चरणहरु हामीले पार गरेर आयौं । अहिले त निर्माणको बेला हो । अहिले मोदनाथले धर्मको प्रचार गर्न थाल्यो भनेर भन्याछन् । तर, मैले धर्मको प्रचार कहाँ गरेको छु ? मैले के भनेको छु भने हरेक देशका आ-आफ्ना विशेषता हुन्छन् ।
तपाई हिन्दुवादी हो कि हैन ?
- म के हिन्दु भएको छु र ? मैले जनै र टुप्पी राखेको छैन । दलितहरुसँग खाइराखेको छु । म पूजापाठ गर्दिँन, जनै टुप्पी राख्दिँन । छविलाल विश्वकर्मा खुरुखुरु यहाँ भान्साभित्र आएर खाना खान्छन् । त्यसैले अब यस विषयमा लड्नुपरेन ।
धर्म निरपेक्ष पनि नभन्ने, हिन्दुराष्ट्र पनि नलेख्ने । नेपालमा सबै धर्मलाई धार्मिक स्वतन्त्रता छ, तर, धर्मको नाममा किनबेच गर्न पाइने छैन भनेर लेख्नुपर्छ
उसोभए तपाई नेपाललाई हिन्दुराष्ट्र बनाउनुपर्छ भन्ने अभियानमा किन लाग्नुभएको त ?
- म हिन्दुराष्ट्र हुनुपर्छ भन्नेमा लागेको छैन । कसैले मोदनाथ प्रश्रतिले हिन्दुराष्ट्रको पक्षमा बोल्यो भनेर कहीँ एकसरो छापिएको देखाउँछ भने देखाओस् ।
नेपाललाई हिन्दुराष्ट्र बनाउनुपर्छ भन्ने तपाईको भनाइ हैन ?
- हैन ।
उसोभए धर्म निरपेक्षताको विरोध किन गरेको त ?
- धर्मनिरपेक्ष भन्नका लागि तपाईले विश्वमा पहिले धर्मका बारेमा के छ, त्यो हेर्नुपर्छ । युरोपमा धर्म निरपेक्ष भन्नेहरुले सपथ ग्रहण गर्दा बाइबललाई छोएरै गरिराखेका छन् । नेपाल पनि धर्म निरपेक्ष भन्छन्, तर भर्म निरपेक्ष भएको छैन ।
अहिले नेपालमा जति इसाइ धर्म प्रचार भइरहेको छ, युरोपेली सरकारका तर्फबाट भइरहेको छ । युरोपका पुँजीपतिले पैसा लगानी गरेका छन् । अरु धर्मको प्रचारले नेपालमा केही पनि हुँदैन । दक्षिणतिर हिन्दुस्तान भएको हुनाले पाकिस्तान र इस्लाम धर्मले हामीलाई धक्क दिन सक्दैन । त्यसैले हामीले इस्लाम धर्मका बारेमा बोल्नुपर्ने आवश्यकता पनि छैन । हाम्रो अर्घाखाँचीका मुसलमानहरुले त दसैं तिहार पनि मनाउन थालिसके ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.