ओमनमा यौन शोषण खेपिरहेकी युवतीको उद्धार गर्न परिवारको आग्रह

नुवाकोट, कात्तिक १३ – घरेलु कामदारका रूपमा ओमन पुगेकी नुवाकोटकी एक युवतीलाई मालिकले यातना दिएको भन्दै परिवारले उद्धार गरिदिन आग्रह गरेको छ । चारघरे गाविस–९ गौरीबेँसीकी २१ वर्षीया रिमा तामाङलाई काम गर्ने घरको मालिकले बन्दी बनाई यौनहिंसा गरी मानसिक तथा शारीरिक यातना दिएको भन्दै उनको परिवारले उद्धार गरी सहयोग गर्न आग्रह गरेको हो । बुधबार विदुरमा आधिकारकर्मीहरूसँग छोरीको उद्धार गर्न पहलका लागि अनुरोध गर्न आएकी लक्ष्मीले फोनमा छोरीले रुँदै आफूलाई थुनेर राखेको, खाना खान नदिने, कुटपिट गर्ने गरेको भन्ने गरेको बताइन् । “मालिक र मालिकको चारवटा छोराले यौन शोषण गरेको, नमाने मार्ने धम्की दिने गरेका छन्, हामीले तँलाई किनेर ल्याएको भन्दै कुटपिट गर्छन् भन्दै छोरी रुन्छे,” लक्ष्मीले भनिन्, “छोरीलाई पठाउने सुशीलालाई समाउन पुलिसले वास्ता गरेको छैन । आफू केही जान्दिनँ । छोरी मर्छे कि भन्ने पिर लाइरा’छ । हजुरहरूले बचाउन पहल गर्दिनुपर्यो ।” लक्ष्मीले रिमालाई विदेश पुर्याउने चारघरे गाविस–९ गौरीबेँसी माइती भई धादिङको धार्केमा घर भएकी सुशीला रिमाललाई झिकाएर कारबाही र छोरीको उद्धार गर्न जिल्ला प्रहरी कार्यालय नुवाकोटमा पनि उजुरी दिएकी छिन् । गत असार १२ गते राहदानी बनाउन सुशीलासँग सदरमुकाम जान्छु भनी गएकी रिमा त्यसपछि परिवारबाट सम्पर्कविहीन भएकी थिइन् । भदौ १५ गते एक्कासि ओमनबाट छोरीले बिलौना गर्दै फोन गरेकी आमा लक्ष्मीले बताइन् । रिमालाई फकाएर विदेश पुर्याउने सुशीलाले उल्टै फोन गरी धम्क्याउँदै ‘छोरीको बारेमा मलाई सोध्ने होइन’ भन्ने गरेको पीडित परिवारले बताएको छ । अत्यन्त न्यून आर्थिक अवस्था भएका निरक्षर तामाङ परिवारले छोरीको उद्धारका लागि राजधानीको परराष्ट्र मन्त्रालय वा दूतावास कतै पुग्न सकेको छैन । तामाङ परिवारले रिमालाई तत्काल उद्धार गरी ज्यान बनाउन सरकारसमक्ष आग्रह गरेको छ । - See more at: http://www.ratopati.com/

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.