खाँचो वैकल्पिक शक्तिको !! यसरि उर्लदै छ नया शक्ति ...
उत्तम संजेल
विकास भनेको सोच हो भाषण होइन। यो सापेक्ष हुन्छ निरेपक्ष होइन। सोचलाई आध्यामिक भाषामा ज्ञान भनिन्छ अनि ज्ञानको साकार रुप विज्ञान हो। भाषणको साकार रुप शाब्दिक चतुर्याइमात्रै हो। चतुर्याइले विकास सम्भव छैन। बरु विनास निश्चित छ।
हाम्रो देशले भोग्नु परेको दुःखदायी परिस्थिति पनि यही शाब्दिक चतुर्याइले हो। त्यसैले यहाँ विकासको ठेक्का कुनै वाद र संघसंगठनले लिइरहनु जरुरी छैन। विकास नदी जस्तै हो जो समयसँग बगिरहन्छ। तर यी वाद र संघसंगठन विकासका टेवा हुन् तर यसले गलत दिशा निर्दिष्ट गर्यो भने त्यो वाधक हुन्छ।
यसको प्रत्यक्ष उदाहरण चीन हो जहाँ साम्यवाद छ। अमेरिकामा प्रजातन्त्र छ भने बेलायत र जापानमा राजतन्त्रसहितको प्रजातन्त्र। ती देश संसारकै अग्रणी विकसित देश हुन्। विकास र मानवीय सुखसुविधाका हिसाबले हामी उनीहरू भन्दा दुई सय वर्ष पछाडि छौं।
यो पंक्तिकारले बेलायतमा घुन्दा बैक अफ स्कटल्याण्ड देख्यो, जसको स्थापना सन् १६९५ मा भएको थियो। हाम्रो देशमा राष्ट्र बैंक स्थापनाका ६ दशकमात्र भएका छन्। उनीहरूले तेस्रो ग्रहमा बस्ने चर्चा गरिरहेका बेला बल्ल हाम्रा राष्ट्रपति खुला दिसा मुक्त क्षेत्रको उद्घाटन गर्दै छन्।
जहिल्यै अखवारका मुख्य पृष्ठमा केपी ओली र झलनाथ मिलेका वा पुष्पकमल दाहाल र बाबुराम भट्टराई झगडा गरेको मात्र पढिन्छ। सुशील कोइराला र शेरबहादुर देउवाको कुर्सी तानातानका खबरमात्र छन्। बलात्कार, हत्या–हिंसा, आगलागी, सभासद संविधानसभा भवनमा हाजिर गरेर हिडेका दिग्दारीका समाचार छ ज्यादाजसो।
सयौँ नागरिक खाडी राष्ट्रमा जीवन रक्षाको अपिल गरिरहेछन्। यहाँ नेताहरू विना अर्थका बैठक गरेर समय खेर फालिरहेछन् नयाँ संविधानको नाममा। के नयाँ संविधान बन्दैमा देशमा रामराज्य आउँछ? के यिनले बनाएको संविधान सबैले मान्छन् भन्ने निश्चित छ? घोषणा गरेको दिनमै यसलाई च्याते वा जलाइदिए भने फेरि नयाँ संविधानसभाको निर्वाचन निम्ति अर्बौं खर्चने?
एमालेका स्वर्गीय नेता मदन भण्डारीका एक विश्वास पात्रले भनेको कुरा प्रसाङ्गिक होला। 'ए कमरेड हामीले आन्दोलनको बलमा पञ्चायती सिम्टम त सबै सखाफ पारियो के यसको विकल्प हामीले तयार पारेका छौँ? त्यस बखतका जल्दाबल्दा मदनले भनेको थिए रे, 'जे–जे हुन्छ देखा जाएगा।' हो, त्यही अपरिपक्वताको निरन्तरता हो यो अवस्था।
हिजो आफ्ना कमजोरी राजालाई गाली गरेर लुकाइन्थ्यो। सम्पूर्ण समस्याको जड दरबार नै हो भनेर व्याख्या गरिन्थो। तर आज राजा छैनन्। कमरेड मदनको आगो लगाउने भाषण झल्झली सम्झना हुन्छ, 'राजनीति गर्ने भए श्रीपेच फुकालेर आए हुन्छ, महाराज' तर आज महाराजलाई विदेशीको इसारमा पातल पुर्याई छोडियो। अनि फेरि किन देशमा नागरिकले सुखको सास फेर्न नपाएको त? नागरिक जीवन दिन दुगुना रात चौगुनाको हिसावले रसातलतिर भाँसिदै छ। किन निसासिदै युवा शक्ति विदेश पलायन हुदैछ? कोसँग छ यो जवाफ? छैन। यसको कारण त्यही वाद र सिद्धान्त हो। स्मरण रहोस् मित्रहरु हो। २१ औँ शताब्दीको वाद भनेको न साम्यवाद हो न प्रजातन्त्र वा न अरु कुनै। २१ औँ शताब्दीको वाद अर्थ अर्थात् द्रव्य हो। द्रव्य विना अहिलेको संसार कल्पनासम्म गर्न सकिँदैन्।
सूचना प्रविधि (आईटी)ले संसार व्यक्तिको औँलामा ल्याइसकेको छ। विश्व एक गाउँ भएको छ। २० घण्टा उडेर पुगिने खान पाइने अमेरिकाको केएफसी २० मिनेट दूरीको हाम्रै दरबारमार्गमा खान पाइन्छ। केएफसीजस्ता वहुराष्ट्रिय कम्पनी विश्व खुला बजारका हिस्सा हुन्। यस्तो बजार स्वतन्त्र हुन्छ। त्यसमा सबभन्दा बढी लगानीकर्ताको सुरक्षा हुन्छ। खुला विश्व बजारमा प्रतिस्पर्धा गर्न विश्वव्यापीकरणको शिक्षा अनिर्वाय हुन्छ।
यसका साथै शारीरिक स्वास्थ पनि हनुपर्यो। ताजा खानपान पनि गर्ने पर्यो। अझ सबैभन्दा महत्वपूर्ण त आफ्नो हक पाउन अरुको हकको पनि रक्षा गर्नुपर्यो। शान्ति सुरक्षा अनिवार्य पाटो हो। प्रणालीलाई मान्नु पर्यो। हो, अहिलेको अर्थवाद यही हो ।
१० वटा वाइड बडी कार्गो जहाजले सबेरै टनका टन हरियो साग र पानीमात्रै खाडी मुलुकमा झारिदियो भने के हुन्छ? किनभने प्रकृतिले हामीलाई यस्तो अब्वल जमिन दिएको छ जहाँ खानेकुरा चपाए थुक्यो भने पनि पर्सिपल्ट त्यहाँ विरुवा उम्रिरहेका हुन्छन्। अहिले बढीभन्दा बढी आफूसँग बढी भएको वस्तु विश्व बजारमा पुर्याउँने र डलरले राष्ट्रिय ढुकुटी भर्ने हो।
अहिले संसारमा त्यही राष्ट्र बलियो हुन्छ जोसँग धन हुन्छ। अबको विश्वमा हतियार भण्डार गरेर कोही धनी हुनेवाला छैन्। विडम्बना हीरा र सुन पाइने कंगो, तेलको खानी पर्याप्त भएको सुडान र जलस्रोतको दोस्रो धनी देश नेपाल। हामीले एकैपटकमा तराई, पहाड र हिमालको अनुभव गर्न सकिन्छ।
बाह्रै महिना उत्पादनयोग्य जमिन भएको देश संसारको गरिबमध्येको एक छ। हामीकहाँ सीमित व्यक्ति विदेशीको इसारमा विना साससमेत फेर्न सक्दैनन्। हो, तिनैले प्राकृतिक सम्पदाले भरिपूर्ण हाम्रो मुलुकलाई नरक बनाइदिएका छन्। त्यसैले अब पनि चुपलागेर बस्नु भनेको यिनीहरुले जे गरे पनि हुन्छ भन्न दिनु हो।
लौ त एकपटक मनन् गरौँ। 'गाउँ गाउँबाट उठौँ... बस्ती बस्तीबाट उठौँ... यो देशको मुहार फेर्नलाई उठौँ।' एमालेले पेवा बनाएको यो गीतलाई अब हामी हाम्रो उद्देश्य बनाऔं। अब हाम्रा नालायक नेताहरूलाई पराजित गरेर नयाँ शक्ति बनाउनलाई उठौं। यो मुलुकलाई जोगाउन र हराभरा बनाउनलाई उठौं।
3 comments
Write Down Your Responses
October 10, 2014 at 2:29 AM
बल्ल एउटा जिउदो नागरिक भेटाएछ देशले । ल तपाई लाई जनताको साथ रहने छ । अघि बढ्नुुस् ।
October 10, 2014 at 3:16 AM
Uttam jee I am with you by heart. I want to support to you physically and mentally. Please co-ordinate with me email address kishor.aryal@gmail.com
October 10, 2014 at 3:16 AM
Uttam jee sachaee aba yo desh banaunaee parcha.