विवाह प्रस्ताव अस्वीकार गर्दा पत्रकारले चरित्र हत्या गर्ने प्रयास !!

पोखरा, भाद्र १८ - मन पर्ने युवतीले विवाह प्रस्ताव अस्विकार गरेपछि एक पत्रकारले चरित्र हत्या गर्ने उद्देश्यसहित गम्भिर आरोप लगाउँदै विभिन्न पत्रपत्रिकामा समाचार प्रकाशित गराएका छन्।
रामेछाम गुप्तेश्वर-६ घर भई काठमाडौंमा बस्दै आएका कृष्णबहादुर तामाङले अस्मिता बर्मा छद्म नामबाट पोखरामा भएको एक सहकारीको रकम लुटपाट र गोलीकाण्डसँग जोडेर युवतीविरुद्ध समाचार लेखेको प्रहरीले जनाएको छ। तामाङलाई कास्की प्रहरीले पक्राउ गरी मंगलबार सार्वजनिक गर्‍यो। उनी मंगोल भिजन साप्ताहिकका सम्पादक हुन्।
प्रहरीका अनुसार उनले डेढ वर्षअघि चिनजान भएकी झापा तोपगाछीकी छिरिङ लामाविरुद्ध 'मेगा सहकारी लुटमा सुन्दरीको हात' शीर्षक समाचार तस्बिरसहित विभिन्न पत्रपत्रिकामा प्रकाशित गराएका हुन्। 'तामाङले पत्रकार भएकाले विभिन्न ठाउँमा पहुँच छ भन्दै उनलाई पोखराको पञ्चकन्या ट्रेनिङ इन्स्िटच्युटमा जागिर लगाइदिएका रहेछन्,' एसपी वसन्तकुमार लामाले भने, 'त्यसपछि युवतीले प्रेम प्रस्ताव स्विकार्नुपर्ने, फोन, एसएमएस र इन्टरनेट सम्पर्कमा रहिरहनुपर्ने भन्दै विवाहको समेत प्रस्ताव राखेको तर अस्वीकार गरेपछि यस्तो हर्कत गरेको पाइयो।' आफूअनुकूल नभए सार्वजनिक बेइज्जत गरिदिन्छु भन्दै धम्क्याउँदै आएका उनले अन्तिममा कपोलकल्पित र भ्रामक समाचार प्रकाशित गराएर युवतीको चरित्र हत्या गरेको एसपी लामाले बताए। युवती उक्त रकम लुटपाट र गोलीकाण्डमा संलग्न नरहेको प्रहरीले स्पष्ट पारेको छ।
तामाङलाई प्रहरीले टेलिफोन सम्पर्क गरी आइतबार पोखरा बोलाएर पक्रेको हो। उनी अन्य क्रियाकलापमा पनि संलग्न रहेको आंशका प्रहरीको छ। 'थप अनुसन्धान थालेका छौं,' डीएसपी केदार रजौरेले भने । पीडित युवतीले तामाङविरुद्ध जाहेरी दिएकी थिइन्। समाचारमा गत वैशाख १५ मा पोखराको न्युरोडस्थित मेेगा बचत तथा ऋण सहकारी संस्थामा गोली प्रहार गरी ३१ लाख ४२ हजार रुपैयाँ लुट्ने पोखरामै खुला हिंडिरहँदा पनि प्रहरीको दृष्टि नपुगेको उल्लेख छ। दुई महिलासहित पाँच जनाको समूह वैशाख ३ देखि पोखरामा रहेको र समूहकी एक सदस्यमा लामाको नाम र ठेगाना उल्लेख छ। लुट्ने योजना लामाकै कोठामा बनाइएको, उनी काम गर्ने संस्थाका चार व्यक्ति पक्राउ परेर छुटेका, उनी आफूलाई पोखरा र नेपाल बस्न असुरक्षित महसुस गर्दै दसैंताका नेपाल छाड्ने, सिलगुडी, दार्जिलिङ वा आसाम गएर बस्ने तयारी गरिरहेको तामाङले लेखेको समाचारमा उल्लेख छ। अवैध भारतीय मुद्राको कारोबारमा समेत उनको संलग्नता रहेको आरोप लगाइएको छ। 'तर, सबै कपोलकल्पित र भ्रामक हुन्,' एसपी लामाले भने, 'युवतीमाथि ब्ल्याकमेलिङ गर्न यसरी झुटा समाचार बनाएको प्रस्ट हुन्छ।' तामाङ पत्रकारितामा स्नात्तकोत्तर हुन्। उनले अस्मिता बर्माकै नामबाट फेसबुक, ईमेल आईडी पनि बनाएका छन्। 'उनले मेरो कुरा नमानेपछि
आवेशमा आएर समाचार लेखेँ,' प्रहरी हिरासतमा रहेका तामाङले भने, 'उनको प्रतिष्ठामा आघात पुर्‍याएकामा मलाई पश्चात्ताप र चिन्ता लागेको छ ।'

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.