बोक्सी कसुर विधेयक १० वर्षसम्म कैद

बोक्साबोक्सी भन्दै गाली बेइज्जती गर्ने र यातना दिनेलाई दस वर्षसम्म कैद प्रावधानसहितको विधेयक संसद्‌मा पेस भएको छ।


महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयद्वारा प्रस्तुत 'बोक्सीसम्बन्धी कसुर तथा सजायका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक' मा त्यस्तो कसुर गर्नेलाई पाँचदेखि दस वर्षसम्म कैद र पचासदेखि एक लाख रुपैयाँसम्म जरिवाना गरिने उल्लेख छ। बोक्सीको आरोपमा कुटपिट गर्ने, खोप्ने, डाम्ने, पोल्ने, रासायनिक विषालु वा जैविक पदार्थ प्रयोग गरी यातना दिने, मलमूत्र खुवाउने, चारपाटा मुड्ने, नग्न पारी वा नपारी कुनै ठाउँमा घुमाउनेलगायत काम गरेमा यस्तो सजाय हुनेछ। अंगभंग गरेमा त्यसैमा दस प्रतिशत थप सजाय हुनेछ।

महिला, बालबालिका तथा समाजकल्याण मन्त्री नीलम केसीले पछिल्लो समय समाजमा बढिरहेको बोक्सीको आरोपमा हुने हिंसा न्यूनीकरण गर्न कानुन प्रस्ताव गरिएको जानकारी दिइन्। 'महिला मात्र होइन पछिल्लो समय पुरुषलाई पनि 'बोक्सा' भनेर आरोप लगाउने र यातना दिएका घटनाहरू बाहिर आएका छन्,' उनले भनिन्, 'महिला वा पुरुष दुवैमाथि हुने कुरीतिजन्य हिंसालाई समाप्त पार्ने उद्देश्यले विधेयक तयार पारिएको हो।' प्रहरीमा परेको उजुरीको पछिल्लो तथ्यांकअनुसार ०६५ देखि हालसम्म १ सय १६ महिला बोक्सीको आरोपमा प्रताडित छन्। कतिपय घटना प्रहरीमै पुग्दैनन्।

प्रस्तावित व्यवस्थाअनुसार बोक्सीको आरोपमा कसैलाई गाली बेइज्जती गर्ने र बोक्सीको आरोप लागेको व्यक्तिको परिवारको कुनै सदस्यलाई अपमानजनक व्यवहार गर्नेलाई एकदेखि तीन वर्षसम्म कैद र १० देखि ३० हजार रुपैयाँसम्म जरिवाना हुनेछ।

, ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.