सडकमा गीत गाएर गुजारा चलाउने दृष्टिविहीनको पीडा


‘मेरो मनको भगवान् कहाँ होला, दुःख के हो भोग्नेलाई थाहा होला, मनमा मायाँ साच्नै मन छैन,….दुवै आँखा नदेख्ने भएर यो संसारमा बाँच्नै मन छैन ।’
यो लोकदोहोरी गीत जुम्ला जिल्ला पठमारा गाविस–९ स्थायी घर भई हाल राजधानीमा अस्थायी बसोबास गर्दै आएका दृष्टिविहीन विक्रम विष्टले सुन्धारा नजिकैको सडकमा बसेर गाउनुभएको हो ।
सडकमा आफ्नो प्रतिभा देखाएर बाटो हिँड्ने बटुवाको मन जित्न सफल विक्रमले दुई वर्षको हुँदा दुवै आखाँको ज्योति गुमाउनुभयो । आठ वर्षको हुँदा बाबु र ११ वर्षको हँुदा आमाको स्वर्गेवास भएपछि विक्रमले राजधानीका विभिन्न सडकमा गीत गाएर आफ्नो गुजारा चलाउँदै आउनुभएको छ ।
विक्रमले भन्नुभयो, “सानैमा आमा बाबु गुमाएपछि मैले जिन्दगीमा धेरै दुःख भोगेको छु, सडकपेटीमा बसेर गीत गाउन थालेको पनि पाँच वर्ष भयो ।” विक्रमसँगै विभिन्न जिल्लाबाट राजधानी आएर सडकपेटीमा गीत गाउँदै आफ्नो गुजार चलाउने दृष्टिविहीन देवराज विक, अमर ओली, नेत्र कोइराला, नारायण कोइराला, नारायण सुनार र लालबहादुर गुरुङललगायतको पीडा पनि उस्तै छ ।
विक्रमकसँगै समूहमा सँगै गीत गाउने यी सात दृष्टिविहीन युवा दैनिकजसो बिहानदेखि बेलुकासम्म सुन्धाराको सडकपेटीमा गीत गाएर जम्मा भएको पैसा बराबरी बाँड्ने गर्दछन् ।
ती सातमध्ये दाङ भैसीखुर–२ स्थायी घर भई हाल राजधानीका विभिन्न स्थानमा सडकमा सङ्घर्ष गर्दै आएका दृष्टिविहीन नारायण सुनारलाई जन्म दिएर उहाँकी आमा स्वर्गेवास हुनुभयो । नारायणलाई आफ्नी आमा बितेकोसमेत थाहा छैन ।
नारायणले सडकमा गीत गाएर आफूसहित एउटा छोरा र श्रीमतीको पालनपोषण गर्नुपर्छ । आफू सातवर्षको हुँदा आँखाको ज्योति गुमाएका २४ वर्षीय नारायणले राजधानीका विभिन्न सडकमा यसरी गीत गाउन सुरु गरेको दुई वर्षभयो ।
“दृष्टिविहीन भएपछि पढेर पनि जागिर नपाइँदो रहेछ”–दृष्टिविहीन नारायणले गुनासो गर्नुभयो, “भगवान्ले पनि गरिबलाई नै दृष्टिविहीन र अपाङ बनाउँछन्, दृष्टिविहीनभन्दा बरु अपाङ्ग भएको भए त केही गरेर खान सकिन्थ्यो होला । दृष्टिविहीन भएपछि त पढे पनि जागिर पनि नपाइँदो रहेछ ।”
दाङ शान्तिनगर गाविस–३ अस्थायी घर भइ हाल बालाजु बस्ने दृष्टिविहीन नेत्रप्रसाद कोइरालाले अध्ययन सकेर शिक्षक अनुमति प्राप्त गरिसक्दा समेत कहीँकतै केही जागिर पाउन सक्नुभएको छैन ।
उहाँले सडक सङ्घर्ष गर्न थालेको तीन वर्ष भयो । शारीरिक अपाङ्गता भएका व्यक्तिले अध्ययन गर्न सक्ने तर दृष्टिविहीनले अध्ययन गर्न नसक्ने हुँदा लोक सेवालगायतमा पनि अपाङ्ग र दृष्टिविहीनका लागि छुट्टै कोटा छुट्याउनुपर्ने माग गर्नुभयो ।
दृष्टिविहीन अमर ओलीले सरकारले आफूहरूलाई जागिरको व्यवस्था गर्न नसकेपनि कम्तिमा सीपमूलक तालिम, आयआर्जनमूलक तालिम दिनुपर्ने माग गर्नुभयो । अधिकांश दृष्टिविहीन साङ्गीतिक क्षेत्रमा लाग्ने गरेको पाइन्छ ।
राजधानी र राजधानी बाहिर रहेका गजल साँझ, दोहोरी साँझ र रोधी क्लबमा करिब ६० प्रतिशत दृष्टिविहीन कलाकारले जागिर गर्ने गरेको पाइन्छ ।
शान्तिवाटिका नजिकै दिनभरी गीत गाएर आफ्नो गुजारा चलाउने दृष्टिविहीन वीरसिंह नेपालीले आफूले सडकमा गीत गाउने क्रममा कतिपय व्यक्तिले दुव्र्यवहार गर्ने गरेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “सडकमा बसेर गीत गाउँदै आफ्नो प्रतिभा देखाउँदा हामीलाई माग्ने मगन्ते भनेर हेप्ने गरिन्छ, दुःख लाग्न मान्छेमा मानवीय भावना पनि छैन ।”
शरीरका अङ्ग र शारीरिक प्रणालीमा भएको समस्याले भौतिक, सामाजिक, सांस्कृतिक वातावरणका साथै सञ्चारबाट सिर्जना भएको अवरोधसमेतले दैनिक क्रियाकलापमा सामान्यरूपमा सञ्चालन गर्न एवम् सामाजिक जीवनमा पूर्ण सहभागी हुन कठिनाइ हुने अवस्थालाई अपाङ्गता भनिन्छ ।
नेपालको जनगणना २०६८ अनुसार अपाङ्गता भएका व्यक्तिको कुल जनसङ्ख्या झन्डै दुई प्रतिशत (१.९४ प्रतिशत अर्थात पाँच लाख १३ हजार ३२१) रहेको छ । जसअन्तर्गत शारीरिक अपाङ्गता भएका व्यक्ति ३६.६ प्रतिशत, दृष्टिसम्बन्धी १८.५, सुनुवाइसम्बन्धी १५.४ प्रतिशत रहेका छन् ।
त्यसैगरी, स्वर अर्थात् बोलाइसम्बन्धी अपाङ्गता भएका व्यक्ति ११.५ प्रतिशत, श्रवणदृष्टिविहीनसम्बन्धी १.८, मानसिक अपाङ्गता भएका ६, बौद्धिक अपाङ्गता २.९ प्रतिशत र बहुअपाङ्गता भएका ७.५ प्रतिशत रहेको छ ।


 रासस

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.