राम्री नहुँदा हिंसाः प्रतिवेदन

काठमाडौ, भाद्र ६ - मन पराएर राजीखुसी बिहे भएका दम्पतीमा केही समयपछि रूपलाई लिएर घर झगडा हुने गरेको पाइएको छ। धेरैजसो श्रीमान्ले श्रीमतीलाई राम्री देख्न छाडेपछि अरूसँग लाग्ने र त्यही कारण हिंसा हुने गरेको देखिएको हो। महिलाविरुद्ध हुने हिंसामाथि अनुसन्धान गर्दै आएको महानगरीय प्रहरी महिला बालबालिका सेवा केन्द्र कालिमाटीले ४ वर्षको अन्तरालमा त्यहाँ आएका घटनामाथि अनुसन्धान गर्ने क्रममा यस्तो निचोड निकालेको हो। योसँगै प्रहरीले हिंसा हुने थप ७ वटा कारण औंल्याएको छ।

पछिल्लो ४ आर्थिक वर्षमा राम्री नभएको, धेरै बोलेको, घर व्यवहार नहेरेको आरोपमा श्रीमान्ले श्रीमतीमाथि हिंसा गरेको अनुसन्धानले देखाएको हो। श्रीमान् अर्की केटीसँग लागेपछि श्रीमतीलाई शारीरिक र मानसिक यातनासमेत दिने गरेको पनि पाइएको छ। यस्तै श्रीमतीको आचरणमाथि शंका गरेरसमेत हिंसा हुने गरेका छन्।

कुलतमा लागेर सम्पत्ति सकिएपछि श्रीमतीलाई माइतीबाट दाइजो ल्याउन दबाब दिने गरेको प्रहरीले जनाएको छ। श्रीमतीलाई खर्च नदिने र डेरा कोठामा एक्लै छाडेर अन्यत्रै गएर बस्ने प्रवृत्तिसमेत छ। गत वर्ष छोरी जन्माएकै कारण १५ महिलामाथि शारीरिक र मानसिक हिंसा भएको प्रतिवेदनमा उल्लेख छ। खासगरी काँठ क्षेत्रमा महिलामाथि यस्ता किसिमका घटना भएको प्रहरीले जनाएको छ। आर्थिक स्रोत र पढाइ लेखाइ कम भएको परिवारमा महिलामाथि हुने हिंसाका घटना उच्च देखिएका छन्।


अर्काको कुरा सुनेर समेत श्रीमतीमाथि हिंसा भएको पाइएको छ। प्रतिवेदनले सासू, नन्द र आमाजूको कुरा सुनेर श्रीमतीलाई यातना दिने गरेको उल्लेख गरेको छ। 'श्रीमान् श्रीमतीसँगै बस्न चाहन्छन्, एक-अर्काप्रति माया पनि छ,' महिला तथा बालबालिका सेवा केन्द्रकी प्रहरी निरीक्षक सुनिता प्रधान भन्छिन्, 'अरूको कुरा सुनेर बाध्यतावश अलग्गिने वा हिंसा हुने गरेका घटना आउने गरेका छन्।' केही दिनअघि असनमा कपडा व्यवसाय गरेर बस्ने मारवाडी समुदायमा यस्तै घटना भएको थियो। युवकले ५ वर्षअघि क्षेत्री जातकी एक युवतीसँग प्रेमविवाह गरेका थिए। उनीहरूको ३ वर्षीया छोरीसमेत छिन्। श्रीमान्-श्रीमतीसँगै बस्न चाहन्छन्। तर सासू र नन्दले बुहारीविरुद्ध कुरा लगाएपछि प्रहरीमा मुद्दा पुग्यो।

आफ्नी श्रीमती संयुक्त परिवारमा बस्न नसक्ने भएपछि उनले डेरा लिएर अलग्गै राखे। एक महिनासँगै बसेपछि उनी श्रीमतीको डेरामा जानै छाडे। छोरी र श्रीमतीलाई लगातार बेवास्ता गरेपछि ती युवती प्रहरीको शरणमा आएकी थिइन्। प्रहरीले दुवै पक्षलाई बोलाएर सोधपुछ गर्दा आमाको कुरा सुनेर सबै घटना भएको बताएका थिए। त्यसपछि प्रहरीले उनीहरूलाई सम्झाइबुझाइ गरेर पठाएको थियो।

घरेलु हिंसा कसूर तथा सजाय ऐन, २०६६ मा महिलामाथि हिंसा गरे ६ महिना कैद वा ३ हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना र दुवै सजाय गर्न सकिने व्यवस्था छ। तर हिंसासँग जोडिएका उजुरीहरू प्रहरीमा धेरै पुगे पनि दर्ता भने अत्यन्तै कम हुने गरेका छन्। २०६८/०६९ मा ८ सय ७५ वटा महिला हिंसा घटनाका उजुरी परेका थिए। तीमध्ये ५ सय १३ वटा उजुरी लिएर आउने आफैं मेलमिलाप गरेर गए। ३ सय ६१ वटा उजुरीमाथि प्रहरी अझै अनुसन्धान गरिरहेको छ। त्यो साल एउटा मात्र महिला हिंसाको मुद्दा अदालतमा दर्ता भयो। आर्थिक वर्ष ०६९/७० मा ९ सय ७२ वटा उजुरी परेका थिए। तीमध्ये १४ वटा मुद्दा अदालतमा दर्ता भए। ५ सय ३५ वटा मेलमिलापमा सकिए भने ४ सय २३ वटा अनुसन्धानकै क्रममा छन्।

, , ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.