तीनजना नेपाली चेली दुबईमा अलपत्र

ब्यूटीपार्लरको काममा दुबई गएका तीनजना नेपाली युवती अलपत्रमा परेका छन् ।

मकवानपुरको सरिखेत गाविस –९ का एकजना र चितवन जिल्लाका दुईजना युवती (उनीहरुकै आग्रहमा नाम सार्वजनिक नगरिएको) बिचल्लीमा परेका हुन् ।

काठमाडौंमा रहेको ह्याप्पी नेपाल मेनपावर कम्पनीबाट झण्डै ५ महिनाअघि दुबईको शिखा लेडिज स्यालोन कम्पनी युमालक्विनमा पुगेका नेपाली युवती विगत एक महिनादेखि दुबईस्थित नेपाली राजदुतावासमा छन् ।

नेपालबाट पार्लरको कामको लागि गएको भएपनि सहमति अनुसारको काम र तलव नपाएको उनीहरुले टेलिफोन मार्फत गुनासो गरेका छन् । मकवानपुर सरिखेतकी २१ बर्षीय युवतीले भनिन् ‘मैले मेरो साथीहरुको माध्यमबाट तपाईँको सम्पर्क नम्बर लिएको हुँ, हामी बिचल्लस्मा पर्‍यौँ, हाम्रो बिषयमा समाचार लेखेर अन्य दिदीबहिनीलाई पनि बुझेर मात्र विदेश जानको लागि भनिदिनु र हामीलाई समेत नेपाल फर्काउनको निम्ति सहयोग गरिदिनु ।’

पार्लरको काम गर्ने सहमति गरेर दुबई पुगेको भएपनि एग्रिमेण्ट पेपरमा उल्लेख गरिए अनुसारको आफूहरुलाई कुनैपनि काम नदिएको उल्लेख गर्दै रुन्चे स्वरमा उनले थपिन् ‘हामीलाई पार्लरको काम त कता हो कता, उनीहरुको घर सफा गर्ने, कपडा धुने, लुगा धुने र ट्वाइलेट सफा गर्ने काम लगाइयो । सुरुको केही महिना यस्तै काम गर्नुपर्ने होला भनेर जे भन्यो त्यही काम मान्दै गयौँ, हामीलाई १२ सय दिराम दिने सहमति भएको थियो, तर जम्मा एक हजार मात्र दियो, त्यसमा पनि दुईसय दिराम उल्टै फिर्ता लिन्थ्यो ।’

तीन महिनासम्म उनीहरुले अह्राए अनुसारको काम गर्दै आएको भएपनि पार्लरको काम नदिने अवस्था देखिएपछि  कम्पनी छोडेर नेपाली राजदुतावासमा पुगेको उनले बताइन् । कम्पनीका मालिकले केटीहरु बस्ने सबै कोठामा सिसी क्यामेरा जडान गरेको र आफ्नो गतिबिधिहरु क्यामेराबाट नियालेर बस्ने गरेको समेत उनले बताइन् ।  ‘मसँगै चितवन जिल्लाका दुईजना केटी साथी गरी हामी तीनजना दुबईमा रहेको एम्बेसी एक महिनादेखि शरण लिएर बसेका छौँ, तर हाम्रो लागि आजको दिनसम्म सहयोगको नाममा ‘स’ समेत पनि गरेका छैनन्’ उनको गुनासो थियो ।

दुबईका लागि नेपाली राजदुत धनन्जय झा, श्रम–सहचार्य हिरादेवी पौडेल, लेखापाल संगीता न्यौपाने, नेत्रबहादुर चन्दन, र सचिव कृष्ण अर्याललाई पटक–पटक भेटेर शिखा लेडिज स्यालोन कम्पनीमा काम गर्न नसक्ने जानकारी दिइ नेपाल फर्काउनको निम्ति आग्रह गर्दा उल्टै आफूहरुले गाली खान परेको उनले बताइन् ।

काम गर्न असहज भएपछि कम्पनीबाट  भागेर नेपाली दुतावासमा पुगेको तर दुतावासका कर्मचारीले उल्टै कम्पनीका हाकिमहरुलाई फोन गरेर आफ्ना बिषयमा जानकारी दिएको चितवनकी युवतीको गुनासो थियो । नेपालमा खान नपाएका यहाँ आएका त हौ नि, अब नेपाल र आफ्नो आमाबाबु तथा परिवारलाई बिर्सिदेउ भन्दै गाली गर्ने गरेको उनले बताइन् ।

‘दुःखमा परेका बुवाआमालाई सुख दिन सकिन्छ कि आफ्नो भविष्य बनाउन सकिन्छ कि भनेर सकिनसकी दुःख गरेर, ऋण काटेर यहाँ आइयो’ ती युवतीले रुँदै भनिन्, ‘तर यहाँ हामी यस्तो बिचल्लीमा परेका छौँ । प्लिज हाम्रो नाम उल्लेख गर्नुभयो भने हाम्रा परिवारले चिन्ता लिने छन्, हामी आफ्नै देश आउन चाहन्छौँ, हामीलाई सहयोग गरिदिनुस् ।’

दुबईमा भेटिएका केही नेपाली यूवाहरुले बिचल्लीमा परेका तीनैजनालाई नेपाल पठाउन सहयोग गरिदिने तर उनीहरुको चाहना पूरा गर्नुपर्ने सर्त राखेको सम्झिँदै उनले अप्ठेरोमा परेको अवस्थामा कसैले सहयोग नगर्ने रहेको गुनासो गरिन् ।

, ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.