बिरामीसँग झ्याम्मिएकी कर्मशील शोभा

रिस र थकान बाहिरै छोडेर एक्लै पाँच जनाको काम



बिहान साढे ७ बजे सिभिल अस्पतालको सिटीस्क्यान कक्षमा शोभा बजगाँई हतारहतार पस्दा तीन जना बिरामी लाइनमा थिए।
 
प्याजी रंगको पातलो जम्परभित्र खरानी रंगको टीसर्ट लगाएकी उनी चूज प्यान्टमा थिइन्। आँखामा गाजल पनि हतारमै लगाएजस्तो, निद्रालु अनुहार र फुकीढल ज्यान!
 
सिटीस्क्यान कक्षको भित्री/बाहिरी कोठामा बिरामीहरुसँग बोल्दै उनीहरुलाई सम्झाउँदै ओहोर-दोहोर गरिरहेकी थिइन्।
 
व्याग दराजमा राखेर उनले उनीहरुको सिटीस्क्यान गर्ने समय हेरीन्। क्रमैसँग बिरामीहरुको नाम दर्ता गर्ने फर्म भरिदिइन्। एकपछि अर्को बिरामीबारे डाक्टरले लेखिदिएको 'प्रेस्क्रीप्सन' हेरिन्।
 
औषधि दिएर मात्रै सिटीस्क्यान गर्न पर्ने बिरामीलाई र पानी खाएर मात्र सिटीस्क्यान गर्नुपर्ने बिरामीलाई पनि एकैचोटी बोलाइन्। भनिन्,'तपाईँ पानी खाँदै गर्नुस् र लाइनमा बस्नुस् मैले बोलाएपछि आउनुहोला।'
 
भैंसीलाई दिनेजत्रो बडेमानको सिरिन्जमा औषधी तयार पारिन् र सिटीस्क्यान गर्नुअघि औषधी दिनुपर्ने बिरामीलाई दिइन्।
 
पहिलो पालो आउने बिरामीलाई बोलाइन्। पानी खाए नखाएको सोधिन्। भित्रपट्टी काेठामा सिटीस्क्यान गर्ने मेसिनमा लगिन्। बिरामीलाई ठीकठाक पारिन् अनि मेसिन मिलाइन्।
 
सिटीस्क्यान गर्दा विरामीले के गर्नुपर्छ सम्झाइन्, बाहिर आइन्। एकजानाको सिटीस्क्यान गर्दा त्यस्तो ओहोरदोहोर तीन चारपटक चल्ने रहेछ। उनी मेशिन भएको कोठा र कम्प्युटरमा कामकाज गर्नुपर्ने बाहिरी कोठामा दौडिएरै ओहोरदोहोर गर्थिन्।  
 
बाहिरभित्र गर्ने क्रममा नै पालो लिने विरामी टेबुल अगाडि घुँइचो लागिसकेको थियो। उनले तीनको प्रेस्क्रिप्सन हेरेर फर्म भरिदिइन्, र पैसा तिर्न पठाइन्। पालो पनि दिइन्।
 
फेरि दौडेर सिटीस्क्यान गरिसकिएको बिरामीलाई बेडबाट उठाउन भित्र् पुगिन्। बाहिर ल्याएर हातमा लगाएको क्यानुला झिकिदिइन्। त्यो बिरामीको नाडि नशामा स्पिरिटमा चोपेको कपास लगाइदिइन्।
 
यति हतार र छिटो काम गर्दा पनि उनले दोहोर्‍याएर केही गर्नुपरेन। उनको स्पीड तीन चार वटा दिमाग र छ/आठ वटा हात भएजस्तो देखिन्थ्यो।
 
बिहिबार बिहान ८ बज्दा नबज्दै सिटीस्क्यान कक्षमा विरामीको भीड बढ्न थालिसकेकाे थियाे। उनले एक्लै चार जनाको सिटीस्क्यान गरिसकेकी थिइन्। त्यसबीचमा आएका अरू विरामीको फारम भर्ने, पैसा तिर्न पठाउने र पालो दिने क्रम पनि चलिरहेकै थियो।
 
मान्छेहरुको भीड बढ्दै जाँदा पनि उनको बोली उत्तिकै सहज थियो। हात उस्तै रफ्तारमा घरी बिरामीको दर्ता, घरी औषधी र घरी  कम्युटरमा चलिरहेका थिए।
 
'तपाईँ एकघण्टापछि आउनुहोस् त्यतिबेला मलाई केही फुर्सद होला। धेरै टाइम तपाईँलाई दिन पाउँदिनँ,' भेट्ने कुरा गर्दा उनले हाँसेर भनिन्। तर, सोध्नै भ्याइनन्, किन भेट्ने हो?
 
यति भनिसक्दा नसक्दै कम्प्युटरको माउसमा आफ्नो हात पुरार्इसकेकी थिइन्।
 
उनलाई थाहा थिएन ढेड घण्टादेखि म उनको 'जासुसी' गरिरहेकी छु। वस् उनलाई आफ्नो कामसँग मात्रै मतलब थियो।
 
'म यहाँ दुईपटक छोरीको सिटीस्क्यान गराउन आएको छु, यो बहिनी यस्तै व्यस्त हुन्छे, कति चल्न सकेको हो हात पनि!' रामेछापका राजन भण्डारीले बाहिर आएर भने, 'सासै नफेरी कसरी काम गर्न सकेको होला?'
 
त्यसको एकघण्टा पछि जाँदा पनि उनी व्यस्त थिइन्। अस्पतालमा उनकाे 'ड्यूटी' दिउँसाेकाे २ बजेसम्म मात्रै हाे। त्यतिबेलाको तारेख लिएर म अस्पतालबाट बाहिरिएँ।
 
दुई बजे पनि बिरामीको भीड उस्तै थियो। 'एकैछिन बस्नुस् है तीन चारजना विरामी छन्,' उनी मेरो अघि आइन्।
 
सरकारी अस्पतालमा त्यसरी मरिमेटेर काम गर्दा पनि 'घामड' बिरामीलाई झेल्नुपर्ने रहेछ। पेटको सिटीस्क्यान गर्दा कम्तीमा एक/डेढ लिटर पानी खानुपर्ने रहेछ।
 
एउटा विरामीले पेटभरि पानी खाए भनेपछि उनले विरामीको पाखुरामा क्यानुला घुसाइन्। भित्र लगेर मेशिनमा सुताइन्। बिरामीलाई तरिका सिकाइन्। बाहिर कोठामा आएर कम्प्युटरबाट खिच्न मात्र के थालेकी थिइन्।
 
खुइय्य गरिन्। 
 
माउसको हात पुर्पुरोमा पुर्‍याइन। दौडेर भित्र गएर भनिन्, 'पानी नै खानुभएको छैन त।'
 
ती बिरामी र उनका आफन्तलाई ग्लानी छैन। उल्टै शोभासँग झर्किए, 'यत्रो ३६ सय तिरेपछि पानी खानुपर्ने भए, यो के चाला हो।' त्यत्रो बेरको दु:ख खेर जाँदा पनि उनले भने दोहोरो बचन गरिनन्।
 
साढे तीनबजे उनी आफ्नो व्याग बोकेर कक्ष बाहिरपट्टी उभिइन्, काम सकेर। अनुहार आनन्दित थियो।
 
बिहान साढे आठ बजेतिर, म सिटीस्क्यानकक्षमा भीड लागेर बाहिर निस्कन लाग्दै थिँए उनले आफ्नी सहकर्मीलाई भनिरहेकी थिइन् 'आफ्नो काम सकेपछि आनन्द हुन्छ त्यै भएर मलाई काम सक्न हतार हुन्छ।'
 
काम सकेपछि भने आज उनलाई कतै पुग्ने हतार छैन। अर्को अस्पतालमा बिदा लिएकी छिन्। सिभिल अस्पतालमा काम सकेर उनी धापाखेलको सुमेरु अस्पतालमा कहिले साँझ कहिले रातभरि पनि ड्युटी गर्न जाने गर्छिन्।
 
हप्ताको दुई दिन मात्रै हो उनी राम्रो्सँग निदाउन पाउने। 'यसै बस्दा मनमा कुरा खेल्छन्, कहिले राम्रो  कहिले नराम्रो त्यै भएर होला खाली टाइम बस्नै मन पर्दैन।' सिभिल अस्पतालको क्यान्टीनको कुर्सीमा सुस्ताउँदै भनिन्।
 
उनले बिहिबार मात्रै सिभिल अस्पतालमा ३५ जनाको सिटीस्क्यान एक्लैले गरिन्।
 
...
 
ललितपरको गोटीखेलबाट एसएलसी गर्दा उनलाई एसएलसी पछि के पढ्ने ? थाहै थिएन। ठूलाे भएर के बन्ने ? भन्ने तस्बीर बसेकै थिएन दिमागमा।
 
नर्स पढ्ने कुरा चलेको थियो घरमा तर फुपुले हुँदैन भनिदिइन्। रेडियोग्राफी त्यो बेला नौलो विषय थियो।
 
नेसनल मल्टिपल कलेजमा आएपछि प्रिन्सीपलले भनेर उनी तीनवर्षे रेडियोग्राफिक टेक्निसियनको कोर्समा भर्ना भइन्।
 
'जागिर पाइहालिन्छ यही विषय पढ,' प्रिन्सिपलले भनेका थिए।
 
त्यही भरमा उनको पढाई तय भयो, रहरहरु, सपनाहरु  केही थिएनन् ।
 
'अब त जीवनभरि नै म यही सिटीस्क्यान र एक्सरे मेसिनमा बिरामीका अंग हेर्दै हुन्छु होला,' खुलेर हाँसिन्।
 
काम गरिरहन मनपर्छ रे। बिरामी लाइनमा हाेउञ्जेल त उनले आफूलाई भोक लागेको पनि पत्तो पाउँदिनन्। सिभिल अस्पतालमा त्यहाँका मात्रै होइन अन्य अस्पतालका समेत बिरामी सिटीस्क्यान गराउन आइपुग्छन्। जो आइपुग्छन उनीहरुलाई फर्काउन मनै लाग्दैन उनलाई।
 
'माया लागिहाल्छ, कसरी फर्काउनु?' उनले भनिन्।
 
अस्ति मात्रै, २ बजे दिदीको छुट्टी हुन्छ भनेर डेरामा भाईले सँगै खाजा खान कुरेर बसेका थिए। तर, ३ बजे आइपुग्छु भनेकी शोभा कोठा पुग्दा पाँच बजेको थियो।
 
'मलाई आफ्नो काम पूरा गरेर मात्रै हिड्न मजा लाग्छ,' उनले भनिन, 'तर, परिवारलाई समय दिन पाइँदैन अनि उनीहरु रिसाउँछन् दिक्दार लाग्छ, यहाँ आएपछि बिर्सन्छु फेरि।'
 
ललितपुरको गोटीखेलस्थित घरमा हुनुपर्ने उनी बिहिबार पनि सिभिल अस्पतालमा व्यस्त थिइन्। घर 'मिस' गर्ने फुर्सदै थिएन। क्यान्टीनमा उनले भनिन्, 'बल्ल मिस गरिरहेकी छु।'
 
बिरामीहरु रोग लिएर मात्रै होइन, आफ्ना समस्या लिएर पनि आइपुग्छन्।
 
अस्ति भर्खरै एकजना बुढा बा आफ्नी छोरी लिएर आए। पेटकाे बिरामी थिइन्। थोरै पैसामा मिलाइदिनोस् नानी भन्दै थिए शोभासँग। उनले पैसा घटाइदिन सक्ने ठाँउ थिएन। बरु अर्कै बिरामीको बाँकी रहेको औषधीले छोरीको काम चलाई दिइन्।
 
औषधी किन्न नपर्दा पनि बुढाबाको अनुहार उज्यालियो। त्यो उज्यालो उनीसम्म आइपुग्यो। 'बाबु छोरी नै खुसी भए, धन्यवाद दिएर गए,' उनीहरु खुसी भएको सम्झेर उनको अनुहारमा अहिले पनि करुणा भरियो, 'मलाई पनि आनन्द भयो।'
 
कम्तीमा मैले उनीहरुको लागि सानो केही गर्न सकेँ, पैसा घटाइदिन पाएको भए उनीहरुलाई कति सुविस्ता हुँदो हो भन्ने पनि लागिरह्यो।'
 
सिटीस्क्यानको रिर्पोट दुई दिनमा मात्रै तयार हुन्छ। त्यो सबै डाक्टरको जिम्मामा हुन्छ। तर, कोही बिरामीलाई छिटो चाहिने हुन्छ। हिँजो मात्रै एकजना मान्छेले उनलाई फोन गरेर आपत पर्‍यो भने। शोभाले डक्टरलाई आग्रह गरिन उनको रिर्पोट छिटै भयो।
 
'उहाँ त मलाई धन्यवाद दिन पो आउनुभयो, खुसी लाग्यो यस्तो बेला काम गर्ने जाँगर दोब्बर हुन्छ।'
 
यस्तै साना लाग्ने खुसीहरुमा भेटि्छन् उनले जीवनको आनन्द! आफ्नो कारणले अरु खुसी हुँदा हुने जति रमाइलो अरु के नै हुन्छ र?
 
उनकी मम्मीले उनलाई भनिरहन्छिन रे, 'अरुलाई भलो गरेपछि कसैले नहेरेपनि भगवानले हेर्छन्।' २२ वर्षे यी युवतीलाई आफ्नी मम्मीका कुरामा विश्वास लाग्छ।
 
त्यसैले त कुनै बिरामीको बढी भएको औषधी जोगाएर राख्छिन् र गच्छ्ये नभएकालाई  निःशुल्क दिन्छिन्।
 
अस्पतालमा अनेकथरि बिरामी र उनीहरुका आफन्त आइराख्छन्। सबैसँग हाँसीखुसी र नरम भएर बोल्न सकिन्छ त?
 
'म सक्छु' यसबेला त उनको हाँसो कसरी थामियोस्।
 
उनको विचारमा अस्पतालमा काम गर्ने मान्छेले रिस बाहिरै छोडेर आउनुपर्छ।
 
'अस्पतालमा अनेकथरि बिरामी झेल्न पर्दा दिक्दार त लाग्दो हो, तर,रिसाउन हुन्न,' उनले भनिन्, 'मलाई त विरामीसँग रिसाउने र रूखो बोल्ने मान्छे अस्पतालमा काम गर्नका लागि हो जस्तै लाग्दैन।'
 
क्यान्टीनमा उनका सहकर्मीहरु आएर परको टेवलमा उनकै गफ गर्दै थिए, 'यो शोभा कति धेरै काम गर्छे, काम गर्न पाए भयो वस् केही चाहिन्न।'
 
उनले सुनिन् कि सुनिनन् कुन्नी आफ्नो तारिफ!
 
दुई सिफ्टमा काम गर्ने उनलाई कहिलेकाहीँ 'केही गर्न सकिन कि' भन्ने लाग्छ रे।
 
त्यस्तो के गर्न मन छ र?
 
'खै गरीहाल्ने केही पनि त छैन है,' उनी मुस्कुराइन्।
 

धेरै ठूला सपना छैनन् उनका। बस् 'व्याचलर' पास गर्नुछ। उनी छिटै रेडियोग्राफीको स्नातक तहको क्लासमा भर्ना हुनेछिन्।


http://setopati.com/samaj/19689/

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.