प्रचन्डले दिए विद्रोहको हाँक , अन्तर्राष्ट्रिय अदालतमा जाने ओलीको चेतावोनी





२७ कात्तिक, प्युठान ।

एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली काँग्रेस र नेकपा एमाले संविधान नबनाउने खेलमा लागेकाले शान्तिपूर्ण आन्दोलनको तयारी थालिएको बताएका छन् ।

रोल्पा भ्रमण सकेर राजधानी फर्कने क्रममा प्युठानको जस्पुरमा स्थानीय कार्यकर्तासँग सङ्क्षिप्त कुराकानी गर्दै उनले काँग्रेस र एमालेले १२ बुँदे समझदारीबाट पछि फर्किन र बेइमानी गर्न थालेको बताए । “काँग्रेस र एमालेले बेइमानी गर्न खोजेका छन्,” उनले भने, “बेइमानीको विरुद्धमा शान्तिपूर्ण विद्रोहको तयारी थालिएको छ ।”

चार दिनसम्म रोल्पामा रहेका अध्यक्ष दाहालले काँग्रेस र एमालेले सहमतिहरु उल्ट्याउने गरी अगाडि बढ्ने लक्षण देखाएका भन्दै अर्को शान्तिपूर्ण विद्रोहमा जुट्न कार्यकर्तालाई आग्रहसमेत गरे ।

आफूले बुधबार बिहान रोल्पाबाट प्रधानमन्त्री सुशील कोइरालासँग फोनमा कुराकानी गरेको र सहमतिका लागि तत्काल काठमाडौँ आउन प्रधानमन्त्रीले आग्रह गरेका कारण भ्रमण दिन छोट्टाएको जानकारी दिँदै उनले प्रधानमन्त्री कोइरालासँग सहमति गर्न आफू तयार रहेको बताए । ।

काँग्रेस र एमालेले प्रस्तुत गरेका सात प्रदेशको प्रस्ताव फिर्ता हुनै पर्ने माग अघि सार्दै उनले प्रदेश, शासकीय स्वरुप र निर्वाचन प्रणालीमा सहमति खोज्न हदैसम्मको लचकता अपनाउने बताए ।

यस्तै, उनले संवैधानिक तथा राजनीतिक संवाद समितिका सभापति र आफ्नै पार्टी नेतासमेत रहनुभएका डा बाबुराम भटराईलाई पनि फोन गरी सहमतिका लागि प्रयास जारी राख्न बुधबार आग्रह गरेको जानकारी दिएका छन् ।

भोलि बस्ने उच्चस्तरीय राजनीतिक समितिको बैठकमा सहभागी हुन र नयाँ सहमति कायम गर्न प्रयास गर्न आफू हतारमा राजधानी फर्कन लागेको उनले बताए ।


यसैबीच, अध्यक्ष दाहालले नेकपा–माओवादीमा देखिएको विवाद सामान्य भएको भन्दै आफ्नै पुरानो घरमा फर्किए विवाद समाधान हुने बताएका छन् । माओवादी नेता नेत्रविक्रम चन्द ‘विप्लव’ले गरेको छुट्टै भेलाले उहाँहरुमध्ये एक समूह माउ पार्टीमै फर्किन खोजेको र अर्को समूह पनि फर्किने सोच बनाउँदै गरेको दाबी समेत गरे । उनले रोल्पामा रहँदा युद्धका क्रममा बास बसेका घर, बङ्कर र छलफल स्थलको समेत अवलोकन गरेका थिए ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले दण्डहीनता गर्ने जोकोही पनि कानुनबाट उम्कन नसक्ने बताएका छन् ।

एम्नेष्टी इन्टरनेसनल नेपाल शाखाको आज ज्ञापनपत्र बुझ्दै अध्यक्ष ओलीले सशस्त्र युद्धकालमा भएका मानव अधिकार विरोधी घटनालाई पनि सत्य निरुपण तथा मेलमिलाप आयोगले माफी दिन नमिल्ने स्पष्ट पारे ।

ओलीले भने, “नेपालको कानुनले छोएन भने अन्तर्राष्ट्रिय अपराध अदालतमा गएर पनि कारबाही हुन सक्छ । त्यसका लागि एमालेले सहयोगी भूमिका निर्वाह गर्नेछ ।”
एम्नेष्टी इन्टरनेसनल नेपाल शाखाका अध्यक्ष सूर्यबहादुर अधिकारीको नेतृत्वमा गएको टोलीले नयाँ बन्ने संविधान मानव अधिकारमैत्री हुनुपर्ने र तोकिएको समयमा संविधान जारी गर्नुपर्नेमा ध्यानाकर्षण गराएको थियो । रासस


 http://nepaliheadlines.com/2014-11-13-10-30-55.html#sthash.pBXjzo85.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.