बिरामीका ‘भगवान’, उनका भगवान को?

बिहान ६ बजे आएको फोन उठाउन मलाई बडा डरलाग्छ,’ शुक्रबार साँझ ८५ जना बिरामीको फाइल पल्टाइसक्दा डा. भगवान कोइरालाले लामो सुस्केरासहित भने, ‘बिरामीको अवस्था सामान्य भए निदाइरहेका बेला मेरो फोनको घन्टी बज्दैन।’
उनका जीवनमा यस्ता डरलाग्दा बिहान थुप्रैचोटि आए, जब उनी आफ्नो धड्कनलाई एउटा रफतार दिएर बिरामीका धड्कन थमाउन तीन फड्का मार्दै अस्पतालका सिँढी उक्लेर आइसियू कक्ष पुगेका छन्।
‘मेरो पेसाको सुरुवाती दिनमा सिनियर डाक्टरहरूले अब केही हुँदैन भनेर आस मारेका बिरामी लामो समयको प्रयासपछि बाँचेका छन्,’ भगवानले यसपटक मुहारमा बिछट्टको चमक ल्याए, अनि बाहिर कतै एकछिन टोलाएर भने, ‘त्यसैले म मुटुको धड्कन बन्द भइसकेका बिरामीलाई पनि फर्काउने प्रयास छोड्दिनँ।’
यस्ता थुप्रै प्रयासमा उनी सफल भएका छन् । त्यसैले ‘मिर्‍याकल’मा विश्वास गर्छन्।
‘बिरामी कहिलेकाहिँ प्रयास गरिरहँदा पत्याउनै नसकिने गरी चमत्कारले बाँच्छन्,’ उनले भने, ‘मैले जीवनमा यस्ता थुप्रै मिर्‍याकल देखेको छु।’
त्यस्ता बिरामी आजकाल ‘फलोअप’मा आउँछन् । उनीहरुको सबै रिपोर्ट सामान्य हुन्छ । उनीबाहेक अरु कुनै डाक्टरलाई रिपोर्ट देखाउँदा फरक पर्दैन । तर अहँ ! बिरामीहरू मान्दैनन् ! बरु एकपटक धन्यवाद वा नमस्कार भन्न घन्टौं लाइनमा पर्खिरहन्छन्।
त्यस्तै सायद अब बाँचेर फर्किन्न भन्ने सोचेका ७३ वर्षे सुब्बा महतो शुक्रबार कोइरालालाई धन्यवाद दिन साँझ साढे सात बजिसक्दासम्म ओपिडीमै थिए।
उनी धेरैबेर दुई हात जोडेर कोइरालासामु उभिरहे । अर्का बिरामीको अपरेसनको ‘डेट’ लेखिरहेका कोइरालाले महतोको नमस्कार हेर्नै भ्याएका थिएनन् । सँगै डाक्टर कजनले महतोको फलोअपमा आएको रिपोर्ट कोइरालाको हातमा थमाए । उनले महतोको रिपोर्ट पल्टाउँदै भने, ‘बा बस्नुस्।’
‘अहिले कस्तो छ तपाईँलाई ? औषधी सधैं खाइरहनुभएको छ नि ?’ कोइरालाले सोधे।
बाले जवाफ दिन भ्याएकै थिएनन् । सँगै आएका छोराले भने, ‘डा’साब आजकाल बुवा औषधी खाइदिनुहुन्न।’
यसपटक डा. कोइराला अलि झोक्किए, ‘बा यस्तो तालले हुँदैन नि, औषधी खानुभएन भने मैले हालेका पाइपले काम गर्दैनन्।’
केही वर्षअघि डा. कोइरालाले नै महतोको मुटुको भल्भ फेरेका थिए । डाक्टरबाट आफूले गाली पाएपछि महतोले छोरालाई गाली गर्दै भने, ‘मैले खाएको नखाएको तँलाई थाहा हुन्छ, मैले औषधी खाइरहेको छु।’
बाबुले छोरालाई गाली गरेको सुनेर भगवान कोइराला मज्जाले हाँसे । बिरामीको सबै रिपोर्ट राम्रो थियो । फेरि कोइरालातिर फर्केर महतोले हात जोरे, ‘तपाईँको आशिषले म बाँचे।’
‘बाको उमेरको मान्छेले त्यस्तो भन्ने हो, तपाईँले पो हामीलाई आशिर्वाद दिनुपर्छ,’ कोइरालाले अर्को बिरामीको फाइल पल्टाउँदै महतोलाई भने, ‘बा औषधी चाहिँ नछोडि खानुपर्छ है।’
मान्छेले आफूप्रति देखाएको यस्तै श्रद्धाले हो सायद, डा. कोइराला दिलोज्यान दिएर काम गर्छन् । उनलाई यसैगरी भगवान मानेर उपचारमा आउने बिरामीको संख्या हजारौं पुगिसक्यो।
‘हि रियल्ली बिकम गड टु अस,’ अघिल्लो महिना बुवाको मुटुको भल्ब फेरेर फलोअपमा आउने परियार थरकी एक महिलाले भनिन्, ‘हि इज डाउन टु अर्थ।’
उनको बुवाको भल्भ फेर्ने अपरेसन सकिएको भोलिपल्ट एकाएक राति सवा २ बजे कम्प्लिकेसन आयो । अस्पतालबाट कोइरालालाई फेरि त्यस्तै सातो जाने कल आयो । उनी अस्पताल पुगे । दुई घन्टा बिरामीको सेवामा खटे । अन्ततः शरीरले गति लियो । बिरामी सामान्य अवस्थामा फर्के।
ती महिलाले त्यत्तिकै भगवानलाई ‘साँच्चैको भगवान’ भनेकी होइनन्।
‘म पौने पाँच बजे आँत्तिदै अस्पताल आइपुग्दा त डा’साब बुवाको अपरेसन सकेर भर्‍याङ झर्दै हुनुहुँदोरहेछ,’ उनले त्यतिबेला भगवानको शब्द सापट लिँदै सुनाइन्, ‘तपाईँको बुवालाई केही हुँदैन नआत्तिनुस्।’
...

यसरी अपर्झट फोनको घन्टी नबज्दा पनि कोइराला सात बजे टेनिस कोर्ट पुगिसक्छन् । सामान्यतया बिहान आधादेखि एक घन्टा टेनिस खेल्छन् । पसिनाले निथ्रुक्क शरीर भिज्छ । नुहाएर फ्रेस हुन्छन् । अघिल्लो दिनको थकान पलापला झर्दै निर्खन्छ । फेरि एउटा लामो दिनका लागि नयाँ ऊर्जा थपिन्छ । जागिरेले दिनमा ६ घन्टा कार्यालय समय छुट्याउँछन् । उनको दिनमा कम्तीमा १२ घन्टा टिचिङ अस्पतालमै बित्छ।
‘त्यही हो चाँडै भयो भने बेलुका ९, नत्र १०÷११ बज्छ घर फर्किँदा,’ कोइरालाले भने, ‘१० बजेसम्म घर फर्किन पाएँ भने गाडीको हर्न बजाउन पाउँछु, नत्र ढोका खोल्न फोन गर्नुपर्छ।’
दिनमा उनले कामलाई छुट्टयाएको एक दर्जन घन्टामा बिरामी हेर्नुपर्छ, अपरेसन गर्नुपर्छ, र सबैभन्दा बढी थलिएको टिचिङको व्यवस्थापन सम्हाल्नुपर्छ।
घरपरिवारलाई दिने समय त सधैं काम सकेर बचेपछिको मात्रै । उनले भनेको सुन्दा उनी थाकेको शरीरलाई आराम दिने बहानामा सायद निदाउन मात्रै घर पुग्छन्।
दुई साताको निरन्तर प्रयासपछि भगवान कोइरालासँग समय मिलाएर म शुक्रबार ४ः५० मा अस्पताल पुगेकी थिएँ । त्यसको दुई दिनअघि बुधबार जाँदा उनलाई मसँग कुरा गर्ने फुर्सतै भएन । चार घन्टा उनले बिरामी जाँचेको हेरेँ । बेलुकी पौने ८ बजेतिर उनले आफ्नो व्यस्तता देखाउँदै भने, ‘बरु मिल्ने भए फोनमै कुराकानी गरौं न।’
मैले त्यो पनि प्रयास गरेँ । सम्भव भएन । शुक्रबार फेरि उनैलाई भेट्न ओपिडी गएँ।
शुक्रबार पनि उनको बिरामी जाँच्ने दिन हो । तर ३ बजेदेखि नै टिचिङमा कुनै प्रशासनिक काममा अल्झिएका थिए । यता सँगै जोडिएको मनमोहन कार्डियोथोरासिकमा उनलाई जचाउन आउने बिरामीको संख्या ५० भन्दा बढी पुगिसकेको थियो । उनी ५:३० मा दौडिँदै मनमोहन आइपुगे । बाटैमा उपकरण जडान गर्नेबारे सोध्न कर्मचारीले उनलाई घेरा हाले । केही बेर कर्मचारीसँग भुलेर फेरि लम्के । हिँड्दा पनि यति हतारमा हुन्छन्, बिरामीले गरेका सबै नमस्कार फर्काइरहनधरी भ्याउँदैनन्।
‘आज त कुरा गर्न भ्याउँछु होला,’ बिरामीको फाइल पल्टाएर हाँस्दै भने, ‘बिरामी धेरै छैनन् नि आज।’
उनले बिरामीका छातीमा स्टेथेस्कोप लगाउने, ब्लड प्रेसर जाँच्ने, रिपोर्ट पढ्ने, एक्सरेमा मुटुका प्वाल खोज्ने र बारम्बार आइरहने अनेकथरीका फोन उठाउने काम गरिरहे।
यसपटक फोन उनको घरबाट थियो । श्रीमती सान्द्राले बोलाइरहेकी थिइन् । जवाफमा उनले भने, ‘१०÷१५ मिनेटमा आइपुग्छु, तिमी निरबलाई लिएर गाडीमा जाँदै गर।’
प्रशासनबाट आएका फोनलाई पनि उनले भनिरहेका थिए, ‘म अस्पतालमै छु, यताको काम सकेर एकछिनमा आउँछु।’
माथि आइसियूमा राखेका बिरामीका आफन्त पनि एकपटक बिरामीलाई हेरिदिनुप¥यो भन्दै आइरहेका थिए । एकजना बिरामीका आफन्तले भने, ‘डा’साब हाम्रो बिरामीलाई भेन्टिलेटरसहितको बेड पुगेन मिलाइदिनुपर्‍यो।’

, ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.