पुरिएका १ सय १७ को जीवित उद्दार

३० असोज, काठमाडौं । हिमपातमा परेर हराइरहेका मध्ये १ सय १७ जना पदयात्रीहरुलाई मनाङ र मुस्ताङका बिभिन्न भागबाट उद्दार गरिएको छ ।
ट्रेकिङ एजेन्सी एशोसियसन अफ नेपाल (टान)को उद्धार टोलीले उनीहरुलाई जीवितै उद्दार गरेको हो । उद्दार गरिएकामध्ये ७० जना मनाङ र ४७ जना मुस्ताङमा कष्टप्रद अवस्थामा फेला पारिएको टानका उद्दार तथा खोजबीन संयोजक केशव पाण्डेले जानकारी दिए ।
अन्नपूर्ण सर्किटमा सम्पर्कविहीन भएका अन्य पदयात्रीहरुको पनि खोजि कार्य जारी रहेको टानले जनाएको छ ।
त्यस्तै टानका कार्य समिति सदस्य विद्या हिराचनका अनुसार मुस्ताङको थोराङ पास क्षेत्रमा हिमपातमा परेर मृत्यु भएका ७ जनाको शव मुक्तिनाथमा झारिएको छ । मृतकमध्ये ६ जना विदेशी र एकजना नेपाली छन् ।
मनाङका नार, फु, तिलिचो, मुस्ताङको थोराङपास लगायत अन्नपूर्ण सर्किटका धौलागिरी बेसक्याम्प तथा मनास्लु क्षेत्रमा समेत पदयात्रीहरु हिमपातमा परि सम्पर्कविहीन भएका छन् । भारतको अण्डमान निकोबार टापुबाट निस्किएको आँधीको असर नेपालको अन्नपूर्ण पदमार्गमा बिपत्तिका रुपमा आइपुग्यो ।
मंगलवार अचानक भारी हिमपात शुरु भएपछि साहसिक पदयात्रामा निस्किएका सयौं पर्यटक र नेपाली सहयोगीहरु बिचल्लीमा परे ।
अहिलेसम्म पनि अन्नपूर्ण सर्किटमा कति मान्छे बेपत्ता भए र कति पर्यटक त्यता गएका थिए भन्ने एकीन तथ्याङ्क न सरकारसँग छ, न त पर्यटनसँग सम्बद्ध संघ संस्थाहरुले नै उपलव्ध गराउन सकेका छन् ।
तथ्याङ्क किन आएन ?
किन यस्तो भयो त ? ट्रेकिङ एजेन्सी एशोसियसन नेपालका खोजतलास तथा उद्धार संयोजक केशव पाण्डे भन्छन्, ‘एजेन्सीहरु टिम्स कार्ड पि्रपेडमा लैजाने भएकाले ठ्याक्कै कति पर्यटक अन्नपूर्ण सर्किटमा गएका थिए भन्ने तथ्याङ्क आउन नसकेको हो ।’
पदयात्रामा जाने पर्यटकले टिम्स कार्ड अनिवार्य भर्नुपर्छ । पर्यटकको बारेमा सबै सूचना भरिएको यो कार्ड टान मार्फत एजेन्सीहरुले लिन्छन् । एजेन्सीहरुले पहिले नै पैसा तिरेर आफूलाई चाहिने टिम्स कार्ड लैजाने र उनीहरुकै कार्यालयमा भरेर पर्यटकहरुलाई पठाउने भएकाले अन्नपूर्ण सर्किटमा अहिले कुन एजेन्सीबाट कति गए भन्ने एकीन तथ्यांक आउन नसकेको हो ।
‘हामी सबैतिरबाट तथ्यांक संकलन गर्दैछौं, कम्तिमा तीन सय मान्छे अन्नपूर्ण सर्किटमा रहेको अनुमान छ,’ उद्धार संयोजनका लागि पोखरामा रहेका टानका उद्धार संयोजक पाण्डेले भने ।
किन यस्तो भयो ?
नेपालका उच्च हिमाली भेगहरुमा जताततै हिमपात भएको छ । तर अन्यत्र मानवीय क्षति भएको छैन ।
अन्नपूर्ण सर्किटको पदयात्राका लागि अक्टोबर र नोभेम्बर महिना उपयुक्त भएकाले पर्यटकहरु त्यतै गएका थिए । मौसम बिग्रिएपछि कतिपय पर्यटक पोखरा, जोमसोम, बेनी र बेसीशहरतिरै रोकिए ।
तर थोराङपास गरिसकेका वा नजिक पुगेकाहरु यो बिपत्तिमा असहाय भए । ‘उनीहरुका सामु न त अघि बढेर बाँच्ने विकल्प थियो, न त पछि भाग्ने नै,’ व्यवसायी फुरतेण्डी शेर्पाले भने ।
अचानक हिमपातपछि सकेसम्म त्यस क्षेत्रमा पुगेकाहरुले आफ्नो ज्यान जोगाउने उपाय अबलम्बन गरे । कतिपय बाटो बिराएर बेपत्ता भए भने कतिपय दुर्घटना परेर मृत्युको मुखमा पुगेको अनुमान टानका अध्यक्ष रमेश धमलाको छ ।
कहाँ छन् अलपत्र भएकाहरु ?
हिमपातका मुख्यतः चार पाँच ठाउँमा पर्यटक र नेपाली सहयोगीहरु बिपत्तिमा परेको जानकारी आएको छ । पाण्डेका अनुसार मनाङबाट माथि गएपछि हाइ क्याम्पमा केही मान्छे अलपत्र छन् ।
त्यो स्थान थोरङ पास गर्नुअघिको क्याम्प हो । त्यस्तै थोरङको चुचुरो र त्यसपछिको डाउन क्याम्पमा ठूलै संख्यामा अलपत्र भएका छन् ।
मनाङको नार र फु क्षेत्रमा अलि बढि नै समस्या देखएकिो छ भने तिलिचो ताल क्षेत्रमा पनि केही मान्छे हराइरहेको सूचना आएको छ ।
मनास्लु क्षेत्रमा पनि हिमपातबाट केही पदयात्रीहरु अलपत्र र केही बेपत्ता भएको जानकारी टानसम्म आइपुगेको छ ।
केही मान्छे गोर्खाको उत्तरी क्षेत्र लार्के आसपासमा पनि अलपत्र परेको भन्ने खबर आएको छ । उनीहरु लार्के पास गर्न नसकेपछि रोकिएका हुन सक्छन् ।
त्यस्तै धौलागिरी आधार शिविर र इटालियन आधार शिविरमा पनि केही मान्छे अलपत्र परेको सूचना छ ।
थोरङ फेदीमा २३ जना विदेशी नागरिक एक होटलमा बसिरहेका र दुई जना चितवनका विद्यार्थी पनि त्यहाँ रहेको खबर टानका अधिकारीहरुले सरकारलाई गराएका छन् ।
लाचार सरकार
टानले केही पदाधिकारीलाई श्रीएयरको हेलिकोप्टर सहित मनाङमा खटाएको छ भने केही पदाधिकारी मुस्ताङमा छन् । तर, सरकार भने रनभूल्लमा छ । सरकारी अधिकारीहरु न त सूचना दिन्छन् न त उद्धार कार्यमा समन्वय नै गर्छन् ।
पर्यटन मन्त्रालयका प्रवक्ता मोहन सापकोटा जतिबेला पनि ‘मिटिङमा छु’ भन्छन् । तर उनको मिटिङको परिणाम केही पनि आउँदैन ।
पीडित परिवारले सरकारका मान्छेहरुसँग भेटेर आफ्ना कुरा राख्न पाएका छैनन् । उद्धारका लागि के के भइरहेको छ भन्ने जानकारी समेत सरकार दिदैन ।
बरु टान र व्यवसायी आफैले श्रीएयर, डाइनेष्टी, फिस्टेल लगायतका एयरलाइन्सका हेलिकोप्टर मार्फत उद्धार कार्य अघि बढाएका छन् ।
बाँचेकाहरु प्राथमिकतामा
अब मृतक भन्दा जीवितलाई पहिले सुरक्षित स्थानमा ल्याउनेतर्फ पहल गरिएको टानका प्रथम उपाध्यक्ष कामी रिन्जी शेर्पाले बताए । अहिले हिमपात रोकिएको र मौसम पनि राम्रो भएकाले उद्धार कार्य अघि बढाउन सहज रहेको टानका उद्धार संयोजक केशव पाण्डेले बताए ।

, ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.