जेलनेल भोगे, मृत्यु भोग्न बाँकी छ, कसैको डर छैन:

खुकुरीको धारमा पत्रकारिता २०३३ सालबाट म नेपाली पत्रकारिता क्षेत्रमा आएँ । त्यसबेला दुई चारवटा साप्ताहिक पत्रिका र बहुदलीय व्यवस्थाको पक्षमा देखिने पत्रिकाहरु थिए । प्रजातान्त्रिक विचारधारा र प्रगतिशील विचारधारमा त्यस्ता पत्रिकाहरुको पक्षपोषण देखिन्थ्यो । यी दुवै धारका पत्रिकाहरुको उद्देश्य के थियो भने देशमा प्रजातन्त्रको बहाली गर्ने र व्यक्तिको वाक स्वतन्त्रताको ग्यारेन्टी गर्ने । निकै डराई–डराई काँपेर त्यस्तो पत्रकारिता गरिन्थ्यो । निरंकुश पञ्चायती शासनकालमा खुकुरीको धारमा रहेर पत्रकारिता गर्नुपर्दथ्यो । सपनाले भोक मेटिन्थो मेरो त्यसबेला २२ वर्षको उमेर थियो । मैले पत्रकारिता जनजागृति साप्ताहिक र तर्क साप्ताहिकबाट सुरु गरेँ । त्यतिबेला तलब भन्ने हुँदैनथ्यो । खान र बस्नको लागि मालिकहरु वा सम्पादकहरुले सय पचास दिए भने पनि धेरै खुशी हुने स्थिति रहन्थ्यो । भोकभोकै पनि हिंडिन्थ्यो । मनमा जोश हुन्थ्यो कि देशमा प्रजातन्त्र कसो नआउला त भन्ने ? त्यतिखेर भोक नै सपनाले मेट्ने गर्दथ्यो । प्रजातन्त्रको सपना । पञ्चायतका विरुद्ध आगो बालियो ०३५ सालमा दुई तीन जना साथीहरु मिलेर आफैले अर्धभूमिगत रुपमा प्रजातन्त्र स्थापनाका लागि भूमिका खेल्ने सोचका साथ मेरो नाममा साँघु पत्रिका दर्ता गरियो । त्यतिखेर समाचार वा विचारमूलक पत्रिकालाई दर्ताको छुट थिएन । साहित्यिक पत्रिकालाई मात्र प्रकाशनका लागि छुट दिइन्थ्यो । हामीले साँघु मासिक भनेर दर्ता ग¥यौं । तर चलाखीपूर्वक र सावधानीपूर्वक पत्रिका साप्ताहिक रुपमा निकाल्न थाल्यौं । त्रिशुली छापाखानामा छापिन्थ्यो । पत्रिकाको कार्यालय हाम्रो खल्तीमा हुन्थ्यो । वरिष्ठ पत्रकार प्रेम कैदी, तारा न्यौपाने, गोपाल शिवाकोटी, शंकर कार्की र मसहितको एउटा राम्रो भूमिगत टिम बनाइयो । जसले पञ्चायतका विरुद्ध आगो बालेर पत्रिका निकाल्ने काम ग¥यो । हामीले पत्रिका सुरु गर्दा मान्छेहरुले पत्याएका थिएनन् । ‘कस्ता कस्ता आए, गुलेली खेलाए, गए’ भन्थे । तर हामी पञ्चायतका विरुद्ध प्रजातन्त्र स्थापनाका लागि प्रगतिशील विचार बोकेर हामी पत्रकारिता क्षेत्रमा अहोरात्र डटिरह्यौं । हाम्रो कार्यशैली यति भूमिगत थियो कि हामी को कहाँ सुत्छौं, कहाँ खान्छौं र के गर्छौ भन्ने नै कसैलाई थाहा हुँदैनथ्यो ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.