भरिया जिन्दगी

porter
दार्जिलिङ, आश्विन २० - दोलखा चरिकोटका ५८ वर्षीय श्रीमान थामीले करिब १५ वर्षको उमेरमा बाबुको दौराको फेर समातेर दार्जिलिङ टेकेका हुन्। उनी चार दशकयता निरन्तर भरिया पेसामा छन्।
'मरितरि दुई छाक खानचाहिँ पुगेको छ,' दार्जिलिङको रेल्वे स्टेसन नजिकै भेटिएका उनले एलपी ग्यासको सिलिन्डर बिसाउँदै भने, 'अब घरतिरै फिर्नुपर्ला।' वैशाखदेखि भदौसम्म भरियाहरूको 'सिजन' हो। तर, त्यही समयमा घरी-घरी गोर्खाल्यान्ड आन्दोलन चर्किन्छ, जसले उनीहरूको रोजीरोटी पनि मर्छ। दार्जिलिङको जज बजारस्थित सडक पेटीमा टहलिरहेका कालिञ्चोक ८ दोलखाका हर्क थामीले भने, 'आन्दोलन मच्चियो भने दुई छाक खान पनि धौधौ हुन्छ।'
शिरमा ढाका टोपी र काँधमा नाम्लो दार्जिलिङका नेपाली भरियाको पहिचान हो। २९ वर्षदेखि भारी बोक्दै आएका ४३ वर्षीय राजवीर थामी ११ वर्षको हुँदा पहिलोपटक दार्जिलिङ आएका हुन्। उनी दार्जिलिङलाई 'अरब' सम्झिएर काम गरिरहेका छन्। कपाल र दारी सेताम्मे फुलेका ७५ वर्षीय भीमराज थामी भन्छन्, 'भारी बोकेरै जीवन बित्न लाग्यो।'
काम भएका बेला दैनिक दुई सयदेखि पाँच सय रुपैयाँसम्म आर्जन गर्छन्। त्यही कमाइबाट खान, डेरा भाडा र केही रकम बचाएर घर पठाउँछन्। दुई वर्षयता उनीहरू पनि पेसागत हकहितका लागि संगठित बनेका छन्।
 मासिक आम्दानीको केही हिस्सा संगठनमा लेबी तिर्छन्। तर, आफूलाई समस्या पर्दा संगठन 'चुँ' सम्म नबोलिदिँदा भने उनीहरू दुःखी छन्। मजदुरमाझ भण्डारीको नामबाट परिचित एक भरियाले भने, 'संगठन त बन्यो तर हाम्रालाई केही उपलब्धि छैन।' अधिकांश भरिया दोलखा, सिन्धुपाल्चोकलगायत जिल्लाका छन्। केही परिवार दार्जिलिङमै 'सेटल' पनि भएका छन्। अधिकांश भने वर्षभरि कडा मिहिनेत गर्छन् अनि दसैंतिहार मान्न घर पुग्छन्।

एक संस्थाले गरेको अध्ययनअनुसार दार्जिलिङ र सिक्किममा करिब दुई लाख नेपाली मजदुर छन्। दार्जिलिङ, मिरिक, खरसाङ, कालिम्पोङ र सिक्किममा अत्यधिक नेपाली मजदुर भेटिन्छन्। भारी बाकेर मात्रै जीविका चलाउनेको संख्या एक लाखको हाराहारीमा छ। उनीहरू गिट्टी, बालुवा, ढुंगा, इँटालगायत सामान बोक्छन्। कठ्यांगिँरदो जाडो या साउने झरी, उनीहरूलाई पर्वाह छैन। बिहान झिसमिसेमा बजार निस्किन्छन्, साँझ अबेर डेरा पुग्छन्।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.