हालै नेपाल भ्रमणमा आएका बेला एक कार्यक्रममा सहभागी भइरहँदा बलिउड अभिनेता आमिर खानले लगातारजसो पानी पिइरहे । तिर्खाएर होइन, शरीरलाई पानीको मात्रा बढी चाहिन्छ भनेर उनले यस्तो गरेका हुन् । उनको ब्यक्तिगत ट्रेनर सत्यजित चौरसियाले आमिरलाई प्रत्येक दिन पानीको मात्रा ३ देखि ४ लिटरसम्म पु¥याउन भनेका छन् । त्यसैगरी कामको सिलसिलामा केही मात्रामा कागती पानी पनि खान उनलाई सुझाएका छन् । नेपाल आउँदा पनि आमिरले यसलाई निरन्तरता दिए । नेपाल रहँदा आफूलाई फिट राख्न आमिरले कुनै कसुर बाँकी राखेनन् ।
बसेकै होटलको जिमखानामा १ सय ७० किलो नपुगेपछि उनले पुलिस हेल्थ क्लब पुगेर जिम गरे । औसत उचाइका आमिर राम्रो अभिनय गर्ने मध्येमा सुरुदेखि नै पर्थे । जब सन् २००८ मा फिल्म ‘गजिनी’ मा मसलयुक्त शरीरमा देखिए, त्यसपछि उनलाई बलिउडले शारीरिक रुपमा पनि सशक्त अभिनेताको दर्जामा राख्यो । त्यसअघि पनि आफ्नो स्वास्थ्यको ख्याल गर्नेका रुपमा उनलाई लिइन्थ्यो । सुटिङको समयमा पनि उनको काम र खानपानको सेड्युल तलमाथि हुनु हुँदैनथ्यो । जब ‘गजिनी’का लागि उनले आफ्नो ज्यान ८ प्याकवाला बनाए, त्यसपछि उनी स्वास्थ्यमा अझ गम्भिर बनेका छन् ।
आफ्नो बडी र स्वास्थ्यमा तलमाथि पर्ने डरले प्रत्येक बिहान उनी आफ्नो ‘बडी मास इन्डेक्स’ चेकजाँच गर्छन् । आफ्नो ब्लगमा उनले भनेका छन्, ‘गजिनी’ सुटिङभर म कम्तिमा ८ घण्टा सुतें, ट्रेनिङपछि नुहाउनेबित्तिकै शवासन गर्थें ।’ जब ‘धुम थ्री’ गर्नुपर्ने भयो, आमिर स्वास्थ्यका मामलामा झन् बडी सचेत भए । उनले आफ्नो वर्षाैंदेखिका ट्रेनरका भर परेनन् । बेलायतका जेराल्ड जार्सिल्लियालाई लिए । मार्सल आर्ट र जिम्न्यास्टिक पनि सिके, ‘धुम –३’कै लागि । ‘मिस्टर पर्फेक्सनिस्ट’ आमिरलाई त्यतिबेला चरित्र र त्यसको स्वास्थ्यसँग पनि तालमेल मिलाउने कलाकार मानियो, जब ‘गजिनी’का लागि बनाएको ज्यान ‘थ्री इडिएट्स’ मा काम गर्न बिगारे । अर्थात् आफ्नो तौल ७३ किलोबाट घटाएर एकैचोटी ६६ किलोमा झारे ।
जहाँ पुगेपनि उनले खानाको नियमिततामा तलमाथि हुन दिँदैंनन् । खानपिनका लागि नियमित रुटिन छ । ब्रेकफास्टमा ग्रिन टि र अण्डाको सेतोभाग र फलफूलहरु खान्छन् । मध्य दिनमा फलफूल र तरकारीको झोलमात्रै हुन्छ । लन्चमा दालरोटी, दही र सब्जी नियमित हुन् । बेलुकाको स्न्याक्समा चिज र चिया हुन्छ । रातो मासु कहिल्यै नखाने उनको डिनरमा ग्रिल्ड चिकेन वा ब्वाइल्ड भेजिटेबल र माछा हुन्छ । उनले हप्ताको पाँचदिन एक्सरसाइजका विभिन्न तरिकालाई लिएर रुटिनै बनाएका छन् । शनिबार र आइतबार भने हल्का एक्सरसाइज मात्रै गर्छन् । सामाजिक अभियानलाई अत्यन्त गम्भीरताका साथ लिने बलिउडका थोरै कलाकारमध्येमा पर्छन् आमिर ।
कलाकारिता र व्यावसायिकता, दुवैमा उनले एकपछि अर्को उपलब्धि हासिल गरेका छन् । अभिनयमा पूर्णता (पर्फेक्सन) को साह्रै हेक्का गर्ने उनलाई बलिउडले ‘मिस्टर पर्फेक्सनिस्ट’को उपाधि दिएको छ । फिल्मी क्षेत्रजस्तै सामाजिक क्षेत्र पनि उनका लागि निकै उर्बर साबित भएको छ । उनले टेलिभिजन कार्यक्रम ‘सत्यमेव जयते’मार्फत् बालिका भ्रूणहत्याका विषयमा सचेतना जगाउने काम गरेका छन् । उनको कार्यको राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै क्षेत्रमा सराहना भइसकेको छ । भारतमा बालबालिकाका लागि पोषणयुक्त खाना प्रवद्र्धन गर्ने युनिसेफको अभियानलाई उनले सन् २०११ देखि नै सघाएका हुन् ।
अभियानको राष्ट्रिय सद्भावना दूत हुन् आमिर । भारत सरकारले सञ्चालन गरेको इन्फर्मेसन, एजुकेसन र कम्युनिकेसन (आइइसी) अभियानमा पनि आबद्ध छन् उनी । आमिर खान केहीसमयअघि काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रसंघीय बालकोष (युनिसेफ) को बालबालिका पोषणसम्बन्धी कार्यक्रमका लागि दक्षिण एसियाली सद्भावना दूत नियुक्त भए । युनिसेफ काठमाडौँ कार्यालयको संयुक्त पहलमा तीनदिने भ्रमणमा आएका आमिर कपिलवस्तु गए । कपिलवस्तुको पकडी हेल्थपोस्टमा उनले आधा घण्टा बिताए । ‘भारतलाई कुपोषणबाट बचाउन हामीले अभियान सञ्चालन गरेका छौँ,’ उनले भने, ‘नेपालमा पनि बालबालिकाहरू कुपोषणको शिकार भएका छन् ।
यसबारे जनचेतना फैलाउन हामी यहाँ आएका हौँ ।’ आमिरले कपिलवस्तु भ्रमणका क्रममा महिला स्वास्थ्य स्वयम्सेविकाले कुपोषण निवारणका लागि बालिबालिकालाई गर्ने उपचार तथा हेरचाहका साथै गर्भवतीलाई गर्ने हेरचाह र पोषण विधिबारे पनि जानकारी लिए । आमिरले नेपाल सरकारको ‘सुनौला हजार दिन’ नामक कार्यक्रमको पनि औपचारिक सुरुवात भयो । यसमा उनलाई युनिसेफका नेपाल सद्भावना दूत नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले साथ दिए ।
यो कार्यक्रम बालबालिका र गर्भवती महिलाको कुपोषण हटाउन सरकारले सञ्चालनमा ल्याएको हो । फिल्ममार्फत् पनि उनले बालस्वास्थ्यको एउटा पाटोलाई उप्काएका छन् । उनले ‘डिस्लेक्सिया’ भएका बालबालिकाको लेखपढ समस्यालाई श्रापको रुपमा लिने अभिभावकको आँखा खोले, ‘तारे जमीं पर’ मा । उनले त्यो बालबालिकाको कमजोरी नभइ एउटा रोग भएको फिल्मका माध्यमबाट दर्शाए । –एजेन्सीको सहयोगमा
0 comments
Write Down Your Responses