यसरी आइएस भन्दा खतरनाक आतंककारी जन्माउँदैछ अमेरिकाले

Santosh Ojha

‘ओबामा, जबसम्म अमेरिकी मिसाइल हामीमाथि बज्रन्छन्, हामी पनि अमेरिकीहरुको घाँटी यसरी नै काटिरहन्छौ । ‘


इराकमा सक्रिय आइएस सम्बद्ध ब्रिटिस मूलको एक जिहादीले गत अगष्टमा अमेरिकी पत्रकार जेम्स फोलेको घाँटी रेटी क्रूरतापूर्वक हत्या गरेको दृश्यसहितको यस्तो भिडियो सन्देश पठायो ।

सन्तोस ओझा
दुई हप्तापछि अर्का अमेरिकी पत्रकारको पनि यसरी नै ओबामालाई खुल्ला चुनौति दिँदै क्रूरतापूर्वक हत्या गर्नमा उही जिहादी जोन फेरि उदायो । एक पछि अर्को गर्दै ‘अमेरिकी साझेदारहरु’ का नाममा अर्को जिहादी सन्देशसहित अपहरित ब्रिटिस नागरिकको त्यस्तै क्रूरतापूर्वक हत्या गरेको सन्देश आयो ।
मध्यपूर्वका विशेषतः सिरिया र इराकमा सक्रिय जिहादी आतंकवादी संगठन– स्लामिक स्टेट (आइएस) ले यसरी आफ्नो प्रभाव विस्तार गर्दै पश्चिमा मुलुकलाई खुल्ला चुनौती दिँदै आएको छ । लगातारको चुनौतीले आइएसविरुद्ध जुरमुराएका पश्चिमा मुलुकहरु जिहादी संगठनविरुद्ध अरबौं डलरको व्यापक सैनिक कारबाहीका लागि सक्रिय छन् ।
आइएसविरुद्ध सयौं हवाइ कारबाही गरिसकेको अमेरिकी मिसनसँगै फ्रान्सले पनि आइएसका विभिन्न निशानामा हवाइ कारबाही ग¥यो । सिरियाली आन्तरिक धार्मिक द्वन्द्वमा संलग्न नहुने अडान कस्दै आएका अमेरिकी राष्ट्रपति ओबामाले आइएसविरुद्ध अमेरिकी जनताको नाममा सम्बोधन गरे– ‘अमेरिकाविरुद्ध खतरा पुर्याउनेहरुका लागि विश्वमा लुक्ने ठाउँ छैन्’ । यो सम्बोधन केवल अमेरिकी राष्ट्रपतिको भाषणमात्र थिएन, विश्कै शक्तिशाली सेनाका सर्वोच्च कमाण्डरको घोषणा पनि हो । जसको प्रष्ट सन्देश छ, ‘अमेरिकी स्वार्थमा धक्का पु¥याउनेलाई ध्वस्त बनाउने ।’
सिरियाका राष्ट्रपति बसर अल असदविरुद्ध लड्दै आएका विपक्षी समूहको उपस्थितिविरुद्ध आइएस हाबी भएपछि सिरियाका विपक्षीलाई हतियार तथा प्रशिक्षण सामाग्री सहायताका लागि ओबामाले गरेको ५० करोड अमेरिकी डलरको प्रस्ताव कांग्रेसबाट पास भएको छ । यससँगै सिरियामा सक्रिय आइएस, विपक्षी विद्रोही र अल असद समर्थित सेनाको त्रिपक्षीय युद्धको भुङग्रोमा अमेरिकी संलग्नताले तेल थपेको छ ।
शिरदेखि पाउ छोप्ने कालो पहिरनमा कालो झन्डा र हातहतियार लिइ पिकअप भ्यानमा कुद्ने जिहादी लडाकुहरुका दृश्य विश्व मिडियामा प्रशस्तै छाएका छन् । यसै वर्षको मध्यतिरबाट इराक र सिरियाका १६ वटा प्रान्तहरु कब्जामा लिएको आइएसले दुवै मुलुकबीचको सीमाना निमिट्यान्न पार्दै आफ्नै इस्लामिक राज्य घोषणा ग¥यो । सिरिया र इराकका विभिन्न प्रान्तहरु गरी ब्रिटेन भन्दा ठूलो भू–भाग कब्जामा लिएको आतंकवादी संगठनमा पश्चिमा मुलुकका गैरमुस्लिम लडाकु ३ हजारभन्दा बढी छन् ।
सिआइएका अनुसार आइएसअन्तर्गत भने २० देखि ३१ हजारसम्म छन् । उग्र अतिवादी इस्लामिक नारा बोकेको आइएसले आफ्नो प्रभाव क्षेत्रमा धार्मिक कानुन घोषणा गरी ‘ज्वइन अस अर डाइ’ को उर्दी जारी गर्दै विरोधीको क्रूरतापूर्वक हत्या गर्दै आएको छ । मुस्लिम विश्वको परिकल्पना–खालिफा, जिहाद, सुन्नी इस्लाम र सियाविरोधी अभियान आइएस आतंकवादका मुख्य मन्त्र हुन् ।
आइएसले सर्वोच्च नाइके अबु बाकर अल–बग्दादीलाई मोहम्मदका उत्तराधिकारीका रुपमा मान्दै आएको छ । उसकै नेतृत्वमा २००४ बाट इस्लामिक स्टेटले इराक र सिरियाका विभिन्न भागमा खालिफा राज्य स्थापना गर्ने अभियान सुरु गरेको हो । अल बग्दादीले इराकस्थित अमेरिकी जेलमा ४ वर्ष विताएर २००९ मा जेलबाट छुट्ने क्रममा ‘हाम्रो भेट न्युयोर्कमा हुनेछ’ भन्ने फिल्मी शैलीको धम्की दिएको बताइन्छ ।
अहिले उसकै नेतृत्वको जिहाद संगठन अमेरिकाका लागि सबैभन्दा ठूलो चुनौती भएको राष्ट्रपति ओबामा र रक्षामन्त्री चक हेगलले बताइसकेका छन् । अमेरिकन रिसर्च एण्ड डिभलपमेन्ट कर्पोरेशनका अनुसार आइएस विश्वमा अहिलेसम्मकै सबैभन्दा बढी अकूत आर्थिक हैसियत भएको आतंकवादी संगठन हो । यस संगठनसँग कम्तिमा पनि २ अर्ब डलर बराबरको सम्पत्ति र आतंकवादका बन्दोवस्ती सामाग्रीहरु छन् ।
आइएसका सम्पूर्ण आर्थिक आम्दानीको ५ प्रतिशतमात्र चन्दाको रुपमा प्राप्त गर्छ । गत जुनमा इराकको उत्तरी शहर मसुल कब्जा गरेपछि स्थानीय बैंकबाट लुटिएको झन्डै ४ करोड ९० लाख डलर र मसुलकै अन्य बैंकबाट कब्जा गरेको ठूलो परिमाणको सुन उसको अहिलेसम्मकै सबैभन्दा ठूलो आम्दानी हो । आफ्नो कब्जा क्षेत्रमा गुड्ने टक चन्दा, पश्चिमा मुलुकका नागरिकको अपहरण फिरौती, अवैध निकासी र सवारीका साधनबाट आउने फिरौती उठौती आइएसको दैनिक आम्दानीको श्रोत हो । यस अनुसार, इराक र सिरियाका प्रान्त कब्जामा लिएका जिहादीले आतंकवादी राज्य नै चलाएका छन् ।
इन्टरनेटका सामाजिक सञ्जालमा निरन्तररुपमा जिहाद र आतंकवादलाई समर्थन गर्न आइएसले सञ्चार सामाग्रीहरु प्रेषण गर्छ । गुणस्तरीय भिडियो सन्देश र सामाजिक सञ्जाललाई भरपुर उपयोग गर्नसक्ने आइएस मिडिया विभागको खुबी कयौं अमेरिकन कम्पनीभन्दा उच्चस्तरीय भएको विज्ञहरु बताउँछन् । विषेशतः पश्चिमा मुलुकका युवालाई जिहादी अभियानमा आकर्षित गराउन उत्पादित यस्ता सन्देशलाई निरुत्साहित गर्न ह्वाइटहाउसले जिहादीलाई किन समर्थन गर्नु हुँदैन भन्ने भावको भिडियो नै प्रेसण ग¥यो ।
आइएसको जिहादमा पश्चिमा मुलुकका नागरिकको संलग्नता उलेख्य बढेपछि अमेरिका, ब्रिटेन, फ्रान्स लगायतका मुलुक चिन्तित हुनु अश्वभाविक होइन् । विश्वकै खतरनाक आतंकवादी समूहका लडाकु घर फर्किएर आफैँविरुद्ध आक्रमणमा उत्रने भय र राष्ट्रिय सुरक्षाका चुनौती उत्तिकै छन् ।
आइएसमा अमेरिका ब्रिटेन, फ्रान्सलगायतका मुलुकका करिब ३ हजार लडाकुहरु भर्ना भएको हालैका तथ्याकले देखाएका छन् । सम्भवतः, यसकै प्रभाव हुनसक्छ, अष्ट्रेलियामा सर्वसाधारणको हत्या गरी पश्चिमा मुलुकमा पनि आफ्नो उपस्थिति देखाउने आइएसको प्रयत्न असफल पारेको प्रधानमन्त्री टोनी एबटले दाबी गरे ।
बहना अनेक भएपनि अर्को मुलुकमा सेना पठाइ युद्ध गर्नुको एउटै उद्देश्य हो, रणनीतिक स्वार्थको रक्षा । इराकमा बढ्दो सुन्नी लडाकुको प्रभाव अमेरिकी क्षेत्रीय साझेदार र राष्ट्रिय सुरक्षाका लागि खतरनाक छ ।
त्यस्तै, युद्धपछिको भयावह अवस्थाको पुनः निर्माणको जिम्माको नाममा सैन्य सामाग्री, विकास योजना, तेल कारोबारलगायतका स्वार्थका लागि प्रभाव जमाउन इराक युद्ध पश्चिमका लागि महत्वको विषय हो । सेप्टेम्बर ९÷११ को घटनापछि अफगानिस्तानमा अमेरिकी नेतृत्वमा नेटो सेनाले उपस्थिति जनायो । अरबौ डलरको युद्धबाट शून्य प्रायः उपलब्धि पाएको अमेरिकी सेनाले इराकमा समेत एक दशक लामो युद्ध अन्त्य गरी गत वर्ष सेना फिर्ता बोलाएका ओबामाले पुनः इराकमै कारबाही सुरु गरेका छन् ।
तत्कालीन इराकी राष्ट्रपति सद्दाम हुसैनले आम विनासकारी हतियार राखेको निहँुमा इराकमा अमेरिकी कारबाही सुरु गरिए पनि भयावह अवस्थाको धार्मिक विभाजनलाई अमेरिकाले उति चासो नदिएकाले अहिलेको अवस्था आएको आरोप लगाउनेहरु छन् । शिया र सुन्नी मुस्लिम विभाजित इराकमा अमेरिकी उपस्थितिले शियालाई समर्थन पुग्नु नै सुन्नी समूह आक्रामक हुनुको मुख्य कारण पनि हो ।
इराकमा अमेरिकी युद्ध अन्त्य भए पनि यसले निम्त्याएको धार्मिक विभाजन अमेरिकाकै लागि चुनौती भएको छ । इराकबाट अमेरिकी सेनाको फिर्तीपछिको भयावह अवस्थाबीच हुर्किएको प्रतिउत्पादन अहिलेको तत्कालीन ‘अलकायदा इन इराक’ अर्थात् सुन्नी आइएस हो । अमेरिका बाहिरिएसँगै सुन्नी मुस्लिमको आक्रामक प्रभाव, अमेरिकी हातहतियार सुसज्जित इराकी सेनाको हतियारमा कब्जा र मुख्य रणनीतिक सहरहरु नियन्त्रणमा लिइ स्वराज्यको घोषणासँगै आइएस हालःसम्मकै खतरनाक आतंकवादी संगठनका रुपमा उदायो ।
सुरुवाती समय अलकायदासँग सम्बद्ध भएपनि हालको आइएस स्वचालित छ । विश्व समस्यामा अमेरिका अभिभावक भएकाले कयौं समस्याको समाधान गरेको उदाहरण दिँदै ओबामाले आइएस आतंकवादी निशानाको सुरुमा पहिचान, प्रहार र अन्त्यमा ध्वस्त नै पार्ने सार्वजनिक घोषणा गरिसकेका छन् । यसमा विश्वका ४० मुलुकले साथ दिने अमेरिकाले जनाएलगत्तै फ्रान्सले आइएसका विभिन्न अखडामा हवाइ कारबाही सुरु गर्‍यो ।
सिरिया र इराकको ठूलो भू–भाग (सिराक) कब्जा गरी खालिफा लगाएका आतंकवादीविरुद्धको कारबाहीका लागि स्थल सेना नपठाउने ओबामाले संकल्प गरेपनि हरेक वैकल्पिक सैन्य कारबाही टेबलमा राखेका अमेरिकी सैन्य अधिकारीहरु स्थल कारबाहीको सम्भावना नकार्दैनन् । यसको अर्थ मध्यपूर्वको मँहगो युद्धमा अमेरिका नचाहँदा नचाहँदै होमिनु हो, पुनःआरम्भ भइ नै सक्यो ।
अमेरिका धार्मिक विभाजनका कारण क्षतविक्षत बनेको इराकमा क्षणिकका लागि सैन्य कारबाही समाधान भएपनि धार्मिक समुदायको राजनीतिक समाधान नखोज्ने हो भने भविष्यमा पनि अझ खतरानाक आइएसजस्ता समूहको सामना गर्न अमेरिका तयार रहनुपर्छ । इराक समस्याको दीर्घकालीन समाधानका लागि अरबौं डलरको सैन्य कारबाहीसँगै उचित राजनीतिक समाधानका लागि पहल नभए केवल तीतो पाठमात्र हुनसक्छ ।
(स्तम्भकार राजनीति शास्त्रका विद्यार्थी हुन् । उनी नेपालको सगरमाथा टेलिभिजनको अन्तर्राष्ट्रिय ब्युरोमा कार्यरत थिए ।)
- See more at: http://www.nepalsandesh.com/2014/09/21/104526#sthash.OAdBXccG.CfYhMPID.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.