‘६ एकान ६'ले बाँड्यो बोनस
गत वर्षको सुपरहिट फिल्म ‘६ एकान ६'ले आफ्ना कलाकार तथा प्राविधिकलाई बोनस वितरण गरेको छ। फिल्म सात महिनाअघि चलेको थियो। फिल्म सफल हुनमा सम्पूर्ण प्राविधिक तथा कलाकारको मेहनत कारक रहेको भन्दै बोनस बाँडिएको निर्माता तथा अभिनेता दीपकराज गिरीले बताए।
‘एउटा फिल्म सफल हुनमा स्पटब्वाईदेखि निर्देशकसम्मको उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ। तर फिल्म हिट भएपछि उनीहरुलाई खासै सम्झदैनौं। उनीहरुले गरेको मेहनतलाई सम्मान गरौं भन्ने अभिप्रायले हामीले सकेको लाभांश वितरण गरेका हौं,' दीपकले भने।
कार्यक्रममा फिल्मको तर्फबाट दिवंगत निर्देशक शिव रेग्मीको परिवारलाई ५१ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरियो। त्यसैगरी सुनकोशी बाढी पीडितलाई २५ हजार र चलचित्र पत्रकार संघलाई १५ हजार रुपैयाँ दिने पनि कार्यक्रममा घोषणा गरियो।
गत साल पुस २७ मा प्रदर्शन भएको फिल्मले देशविदेश गरी ७० लाख रुपैयाँ आम्दानी गरेको थियो। दिनेश डिसी निर्देशित फिल्ममा नीर शाह, दीपकराज गिरी, शिवहरि पौडेल, जितु नेपाल, केदार घिमिरे, सीताराम कट्टेल, सन्दीप क्षेत्री, राजवल्लभ कोइराला, नीता ढुंगाना आदिको अभिनय रहेको छ। कार्यक्रममा निर्देशक डिसी र अभिनेत्री ढुंगाना उपस्थित थिएनन्।
nagariknews.com
0 comments
Write Down Your Responses