सहमति नभए सडकबाट नयाँ संविधान घोषणा : प्रचण्ड कांग्रेस-एमालेलाई भदौ मसान्तसम्मको अल्टिमेटम


 एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ कांग्रेस-एमाले सहमतिमा नआए सडकबाट नयाँ संविधान घोषणा गर्ने चेतावनी दिएका छन् ।
उनले विगतमा भएको सहमति अनुसार परिर्वतनकारी संविधान बनाउने सहमतिका लागि कांग्रेस-एमालेलाई भदौ मसन्तसम्मको अल्टिमेटम दिए । संघीय गणतान्त्रिक मोर्चाले शनिबार आयोजना गरेको कार्यक्रममा प्रचण्डले भने-’भदौंमहिनाभित्र परिर्वतनकारी संविधान बनाउने सहमति भएन भने हामी शान्तिपूर्ण जनविद्रोह गरेर क्रान्ति सम्पन्न गरौं ।’
आफूले जनविद्रोह भन्दा ठूला सञ्चार माध्यमहरुले गलत अर्थ लगाउने गरेको भन्दै उनले फेरि हतियार उठाउँ भन्न नखोजेको प्रष्ट पारे । कांग्रेस र एमालेका नेताहरुले शक्तिको भाषा मात्र बुझ्ने भन्दै उनले संविधानसभाभित्र र बाहिरबाट सशक्त दबाव आवश्यक रहेको बताए । उनले भने-’कांग्रेस एमालेका नेताहरुले जनयुद्ध केही होइन, मधेस आन्दोलन पनि केही होइन भन्ने जस्तो ठान्नु भएको छ । भेडा गोठाला जस्ता हुन् । पेलपाल गरिन्छ भन्ने ठान्नु भएको छ ।’
बाबुरामजी र म दौडिरहेको छु
प्रचण्डले आफ्नो नेतृत्वको मोर्चाले पहिचान र सामथ्र्यका आधारमा संघीयता र समयमै परिवर्तनकारी नयाँ संविधान खोजेको बताए ।
समयमै संविधान बनाउन सम्वाद समितिका सभापति डा. बाबुराम भट्टराई र आफू दिन रात खटेको तर, सरकार काममा तेल हालेर बसेको उनले आरोप लगाए । उनले भने-’मैले के हेरिराख्या छु भने कांग्रेस र एमालेलाई कुनै चासो छैन र छिटो संविधान बनाऔं, छलफल गरौं । ठूलो पार्टीको नाताले हामीलाई बोलाएर गृहकार्य गर्नुभदा उहाँ सभापतिको हैसियतले र म पार्टी अध्यक्षको हैसियतले दौडिरहेको छु । तर, उहाँहरु धकेलिराख्नु भएको छ ।’
कांग्रेस र एमालेका केही नेताहरुले शुक्रबारबाट चार वर्ष बाँकी छ संविधान बनाउन भन्न थालेको भन्दै उनले यो हो कांग्रेस र एमालेको मानसिकता ? भनि प्रश्न समेत गरेका छन् । उनले अघिल्लो संविधानसभामा जस्तै यो पटक पनि कांग्रेस र एमालेका कारण संविधान नबन्ने खतरा रहेको बताए ।
सात प्रदेश भन्ने अधिकार कहाँबाट पायो ?
राज्य पुनःसंरचना समिति र आयोगको प्रतिवेदनका आधारलाई चार बुँदे सहमतिले मानिसकेको भन्दै प्रचण्डले त्यस आधारमा नै संघीयता हुनु पर्ने बताए । ‘अहिले फेरि ३ प्रदेश, चार प्रवेश, सात प्रदेश भन्ने अधिकार कांग्रेस र एमालेले कहाँबाट पायो ? यो अधिकार कहाँबाट आयो ? त्यसो हो भने हिजोको स्वामित्व लिने किन भनियो ।’ उनले कांग्रेस र एमाले नेताहरुलाई प्रश्न गरे ।
सम्वाद समितिभित्र एमाले नेताहरुले संघीयताविरुद्ध नै प्रहार गरेपछि जनतालाई सन्देश मोर्चाको तर्फबाट गोष्ठीहरु गर्न सुरु गरिएको उनले बताए । देशका प्रमुखशहरसँगै ७५ जिल्लामा छलफल चलाइने भन्दै उनले यसलाई जनविद्रोहीको तयारी भनेका छन् । उनले भने-’सहमति बन्नेतिर गएन भने त्यसपछि सडकमा जानुको विकल्प रहँदैन । त्यो सडक आन्दोलनमा गएपछि त्यो सडक आन्दोलन संविधान घोषणा गरेर मात्र रोकिन्छ । जनता आफैंले संविधान घोषणा गरेर मात्र रोकिने स्थिति बन्छ ।’
जनयुद्ध, मधेस आन्दोलन र जनजाति आन्दोलनबाट आएकाहरु आन्तरिक द्वन्द्वमा जेलिएको र विफल जस्तै भएको भन्दै प्रचण्डले भने-’तर, समान मुद्धामा मिलेर गर्‍यौं भने हामी सक्छौं ।’
बैद्य माओवादी अनिवार्य शर्त
बैद्य माओवादीसहितका ३३ दललाई शान्ति प्रक्रियाको अंग र संविधान निर्माणको अनिवार्य शर्त भन्दै उनले सर्वदलीय सभाबाट संविधानको अन्तरवस्तुमा सहमति बनाउनु पर्नेमा जोड दिएका छन् । उनले भने-’यसतर्फ पनि रकारले कानमा तेल हालेर बसेको देखिन्छ । संविधान बनाउँछौं, बनाउँछौं भने पनि चार वर्ष लगाउने त होइन भन्ने गम्भीर प्रश्न उठेको छ ।’
कार्यक्रममा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले सत्ताधारी दलसंविधान निर्माण प्रक्रियालाई गति दिनेभन्दा बाधा व्यवधान खडा गर्न उद्यत् रहेको आरोप लगाए । स्थानीय निकायको निर्वाचनको विषय संविधान बन्न नदिने प्रपञ्चका साथ आएको भन्दै उनले संविधान घोषणा अघि निर्वाचनको कुरा गरिए प्रतिकार गर्ने चेतावनी दिए ।
फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले परिवर्तनकारी शक्तिलाई तहसनहस पारेर २०४७ सालकै संविधान जारी गर्ने षड्यन्त्र भएको बताए ।
-

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.