योग्यता नपुगेका शिक्षकबाट अध्यापन गराएको भन्दै अभिभावक आन्दोलित


 
 सर्वोच्च अदालतको आदेश विपरीत उच्च माविले योग्यता नपुगेका शिक्षकबाट अध्यापन गराउँदा शैक्षिक गुणस्तर खस्किएको भन्दै काठमाडाँैको उत्तर पूर्वी भेगस्थित सहयोगी उच्च मावि गोकर्णका अभिभावक आन्दोलित भएका छन् ।

उच्चमाविमा दुईजना शिक्षक उच्चमाध्यमिक शिक्षा परिषद्ले तोकेको शैक्षिक योग्यताभन्दा कम योग्यता भएकाहरू रहेको अभिभावक योगेन्द्र दुलालले बताउनुभयो । उनीहरूबाट अध्यापन नगराउनका लागि सर्वोच्च अदालतले समेत आदेश जारी गरिसक्दा पनि आदेशको पालना नभएको दुलालले गुनासो गर्नुभयो ।

उच्चमाविमा अध्यापन गराउनका लागि कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेमा स्नातक तहमात्र उत्तीर्ण गरेका प्रावि तहका स्थायी शिक्षकलाई कक्षा दिँदा शिक्षाको गुणस्तर खस्किई विद्यार्थी अनुत्तीर्ण हुने दर बढ्न थालेको उहाँले गुनासो गर्नुभयो ।

पटकपटक उमावि प्रशासनलाई योग्यता नपुगेका शिक्षक हटाउन अनुरोध गर्दा पनि अटेर गरेपछि जिल्ला शिक्षा कार्यालय काठमाडाँैमा उजुरी दर्ता गरिएको पनि उहाँले बताउनुभयो ।

उमाविका प्राचार्य निर्माणकुमार न्यौपानेले पटकपटक योग्यताको प्रमाणपत्र पेस गर्न भने पनि दुईजना शिक्षकले स्नातकोत्तर योग्यताको प्रमाणपत्र पेस नगरेको जानकारी दिनुभयो ।

स्नातकोत्तर उत्तीर्ण गरेको शैक्षिक योग्यताको प्रमाणपत्र पेस नगर्नेमा शिक्षाशास्त्र अध्यापन गराउने शिक्षक चन्द्रबहादुर केसी र होटल व्यवस्थापन अध्यापन गराउने शिक्षक जीवन श्रेष्ठ रहेको प्राचार्य न्यौपानेले बताउनुभयो ।

होटल व्यवस्थापनका लागि भने उच्च माध्यमिक शिक्षा परिषद्ले स्नातक मात्र उत्तीर्ण गरे पनि हुने भन्ने निर्णय गरी परिपत्र जारी गरेकाले पनि केही गर्न नसकिएको उहाँले जानकारी दिनुभयो । केसीले भने शैक्षिक योग्यताको प्रमाणपत्र पेस गर्नुको सट्टा २५–३० जनाको समूह ल्याएर थर्काएको प्राचार्य न्यौपानेले गुनासो गर्नुभयो ।

नेकपा (एमाले)को क्षेत्रीय सदस्य हुँ, माथिसम्म पहुँच छ भन्दै केसीले स्नातक मात्र उत्तीर्ण गरे पनि आफूले पढाउन पाउनुपर्ने दाबी गर्दै कक्षा लिइरहेको उहाँले बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिले नै निर्णय गर्दा पनि केसीले अटेर गरेर कक्षा लिइरहेको समितिका पूर्वअध्यक्ष रमेश सिग्देलले बताउनुभयो । जतिपटक हामीले निर्णय गर्दा पनि केसीले मानेनन् उल्टै हामीलाई विभिन्न मानिसबाट थर्काउन लगाए– सिग्देलले भन्नुभयो ।

जिल्ला शिक्षा कार्यालय काठमाडाँैका जिल्ला शिक्षा अधिकारी शङ्कर गौतम भने उच्च माविसम्बन्धी विषय उच्चमावि शिक्षा परिषद्ले हेर्ने भएकाले उजुरी पर्दा पनि जिल्ला शिक्षाका तर्फबाट केही गर्न नसकिएको बताउनुहुन्छ ।

उच्च मावि शिक्षा परिषद्का उपाध्यक्ष हेमकुमार मिश्र भने स्नातक मात्र गरेकाले दस जोड दुईमा पढाउन पाउने नियम नभएकाले परिषद्मा उजुरी परे नियमानुुसार कारबाही गरिने बताउनुहुन्छ ।

, ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.