अर्ग्यानिक चियाको दोब्बर मूल्य
बहुसंख्यक किसानले प्रतिकिलो २५ रुपैयाँमा चियाको हरियो पत्ती बेचिरहँदा केहीले भने ६० रुपैयाँ हात पारिरहेका छन्। चियाको परिमाण उति नै भए पनि मूल्य दोब्बरभन्दा बढी हुनुको एउटै कारण हो– उनीहरुको उत्पादन स्वास्थ्यलाई असर नगर्ने अर्ग्यानिक हुन्छ।
रासायनिक मल र बिषादी प्रयोग नगरी कोल्बुङ गाविसका किसानले उत्पादन गरेको अर्ग्यानिक पत्ती प्रतिकिलो ६० रुपैयाँले बिक्री भइरहेको हो। यसले अर्ग्यानिक उत्पादन गर्नसक्दा चियाको अन्तराष्ट्रिय बजार अझै सुरक्षित देखाएको छ।
स्वदेशमा पहिलोपल्ट चियाको व्यावसायिक खेती सुरु भएको मानिने श्रीअन्तुमा ९५ प्रतिशत किसानले प्रतिकिलो २५ रुपैयाँमा हरियो पत्ती बेचिरहँदा छिमेकी गाविस कोल्बुङका बहुसंख्यक किसानले भने ६० रुपैयाँ थापिरहेका हुन्। श्रीअन्तुका एक हजार दुई सय जति किसानको चिया स्थानीय चारवटा कारखानामा प्रशोधन भई सस्तोमा कोलकाता निर्यात हुन्छ। कोल्वुङको अर्ग्यानिक चिया सुन्दरपानीस्थित गोर्खा टि स्टेटमा प्रशोधन भई जर्मनी निर्यात हुनेगर्छ। जर्मनी जाने चियाको मूल्य उच्च छ।
किसानलाई नै प्रत्यक्ष फाइदा दिलाउने उद्देश्यले श्रीअन्तुमा पनि अर्ग्यानिक उत्पादनको प्रयास नगरिएको होइन। त्यहाँस्थित इलाम टि प्रोड्युसर्स प्रालिका म्यानेजर कुमार केसीका अनुसार, सन् २००५ मा विषादीको मात्रा अत्यधिक पाइएपछि जर्मनी निकासी भएको चिया फिर्ता आएको थियो। 'त्यसलगत्तै हामीले गाउँभरीका किसान भेला पारेर अर्ग्यानिक उत्पादनमा जोड दियौं' १६ बर्षदेखि कारखाना सम्हालिरहेका केसीले भने, 'तर, किसानकै लापरवाही र हेल्चेक्रयाईंले अर्ग्यानिक उत्पादन भएन।'
सुरुमा चियालाई अर्ग्यानिक बनाउन सहमत किसानले लुकीछिपी रासायनिक मल र बिषादी प्रयोग गर्न नछोडेपछि आफ्नो प्रयास खेर गएको केसीले बताए। त्यसअघि किसानलाई समूहमा विभाजन गरी बगानलाई ब्लक/ब्लक बनाएर अर्ग्यानिक उत्पादन थालिएको थियो। श्रीअन्तुमा त्यसबेला चिया खेती गर्ने आठ सय किसानको माटो परीक्षणका लागि बैङ्कलौरसम्म पठाइएको थियो। रासायनिक मलले माटोमा अम्लियपन बढाएको देखिए पनि औषधिले ठिक पार्ने प्राविधिक सल्लाह थियो।
बैंङ्लौरबाट घण्टाको एक हजार भारतीय रुपैयाँ पारिश्रमिक दिएर ल्याइएका प्राविधिकको सल्लाह किसानले सुरुमा माने पनि बिस्तारै युरिया र बिषादीमै आशक्ति देखाउँदा अर्ग्यानिक हुननसकेको केसी बताउँछन्। 'हामीले नियमित अनुगमन गर्न नसके पनि किसान स्वयं सचेत हुनुपर्ने थियो' केसीले नागरिकसित भने, 'अर्ग्यानिक अभियानमा लागेको तीन/चार बर्षमै चियामा फेरि बिषादीको मात्रा उच्च देखियो र जर्मनी जान छोड्यो।' अहिले त्यहाँको चिया प्रतिकिलो भारु दुई सय ९० ले कोलकाता जान्छ।
श्रीअन्तुसहित धेरैतिरका किसानले चियाको थोरै मूल्य पाउने समस्या व्यहोरिरहँदा कोल्बुङका डिल्लीराम अर्याल भने खुसी छन्। सातामा एक सय किलो हरियो पत्ती उत्पादन गर्ने अर्याललाई न कम मूल्यमा चिया बेच्नुपर्ने चिन्ता छ, न रासायनिक मल नपाएर उत्पादन घट्ला भन्ने सुर्ता नै। सात वर्षदेखि रासायनिक मल र विषादीको प्रयोग रोकेर अर्ग्यानिक खेती थालेका अर्याल प्रतिकिलो ६० रुपैंयाँ पाइरहँदा खुसी भएका हुन्। कोल्बुङमा उनीजस्तै अर्ग्यानिक चिया बेच्ने किसान एक सय २१ छन्।
अर्ग्यानिक उत्पादन गर्दा चियाको लागत खर्चसमेत कम पर्ने उल्लेख गर्दै आचार्य प्रतिकिलो ६० रुपैयाँमा बेच्दा राम्रै फाइदा हुने बताउँछन्। 'किनको रासायनिक मल र बिषादी नहालेपछि उत्पादनमा लाग्ने खर्च स्वतः घट्छ' उनी भन्छन्, 'धेरै झार नआउनाले महिनैपिच्छे काट्नुपर्दैन, चिया टिप्न पनि धेरै खेताला चाहिँदैन।' पत्ती टिप्दा दिइने पारिश्रमिक र उत्पादन लागतबापत २० रुपैयाँ कटाउँदा पनि किलोमा ४० रुपैंयाँ फाइदा हुने उनको अनुभव छ। अर्ग्यानिक खेती गर्दा उत्पादन भने केही कम हुन्छ
'लागत घटेपछि थोरै उत्पादन थोरै भए पनि धेरै बचत गर्न सकिन्छ' अर्ग्यानिक चिया उत्पादनमा सघाइरहेको इको चिया उत्पादक सहकारी संस्थाका व्यवस्थापक गणेश अर्याल भन्छन्, 'किसानसँग बर्षभरको सम्झौता हुनाले सधैं एकै दरमा भुक्तानी दिइन्छ, हरियो पत्ती लिन पनि कारखानाकै गाडी आउँछ।' बढी मूल्यको लोभले कोल्बुङमा अर्ग्यानिक चिया उत्पादनको लहरै चलेको देखिन्छ। अर्यालका अनुसार, सहकारीले किसानबाट हरियो पत्ती खरिद गर्छ र गोर्खा टि स्टेटलाई दैनिक बिक्री गर्छ।
स्टेटका सञ्चालक उदय चापागाईंका अनुसार, कोल्बुङको उक्त सहकारीसँगै अर्ग्यानिक पत्ती संकलन गर्ने फिक्कलको सुन्दरपानी, पशुपतिनगरको बौद्धधाम, पञ्चकन्याको हिमशिखर चिया उत्पादक सहकारी संस्थाको चिया पनि त्यहीं प्रशोधन हुन्छ। इलाममा माइपोखरीस्थित जसवीरेको सन्दकफू चिया उद्योग र साँखेजुङको हिमालयन सांग्रिला चिया उद्योगले पनि अर्ग्यानिक चियामा प्रशोधनमा जोड दिइरहेका छन्। ती कारखानामा प्रशोधित तयारी चिया कोलकाता कम तेस्रो मुलुक बढी निर्यात हुन्छ।
nagariknews.com
0 comments
Write Down Your Responses