रूप बदल्ने केटी


मंसिर २१ - उनी एन्लोलिना जोलीजस्तै देखिन्छिन् । अथवा ऐश्वर्य राय । माइली साइरसजस्तै वा रिहान्ना पनि । कन्फ्युजन मेट्न यु-ट्युबको 'डीओपीई २१११' पेज लग-अन गर्नुपर्छ । वास्तवमा उनी कोही जस्तो देखिन्नन् । तर, टिपिकल तामाङ वर्णकी उनीसँग आफ्नै अनुहारमा भ्रम पैदा गर्न सक्ने अद्भूत सौन्दर्य शिल्पी छ । त्यसैले उनी कुनै न कुनै सेलिबि्रटीको बान्कीमा पदार्पण हुन्छिन्, बेलाबखत ।

प्रमिस तामाङ । नेपाली समाजमा खासै परिचित नाम होइन यो । यद्यपि विश्व समुदायमाझ उनको ख्याति यसरी चुलिँदो छ, जुन उचाइ कमै नेपाली सेलिबि्रटीले हासिल गरेका छन् । त्यो पनि, विलकुल फरक क्षेत्रबाट । सरसर्ती चिनाउनुपर्दा, यिनी 'यु-ट्युब मेकअप गुरु' हुन् । यही भर्चुअल आलोकमा टेकेर यिनले विश्वकै पारखीहरूलाई 'सौन्दर्य ज्ञान' बाँडिरहेकी छन् ।



अतः यु-ट्युब, फेसबुक, टि्वटर जस्ता माध्यमबाट प्रमिसलाई लाखौं तन्नेरीले पछ्याइरहेका छन् । प्रमिसको खास खुबी त्यसबेला झल्कन्छ, जब सौन्दर्य प्रसाधनका साथ उनी यु-ट्युब भिडियोमा प्रकट हुन्छिन् । आफ्नै अनुहार लिपपोत गर्छिन् । र, अपत्यारिलो ढंगबाट दोस्रो सेलिबि्रटीमा रूपान्तरण हुन्छिन् । लाग्छ, उनको अनुहार आफैंमा खुला क्यानभास हो, जहाँ अनेकौं रूपरंग पोतिन्छन् ।

प्रमिसको यु-ट्युब पेजमा त्यस्ता दर्जनौं भिडियो छन्, जसमा उनले आफूलाई मोनालिसादेखि माइकल ज्याक्सनसम्मको रूपमा दुरुस्तै उतारेकी छन् । उनी कहिले खतरनाक देखिन्छिन् त कहिले मायालु पनि । कहिले आक्रामक देखिन्छिन् त कहिले सौम्य । आफ्नो अनुहारमा विविधता पस्कन सक्ने कौशलकै कारण यिनले उपमा पाएकी छिन्, 'रूप बदल्ने केटी ।'

यिनी रूप त बदल्छिन् नै, साथसाथै मेकअप टिप्स पनि दिइरहेकी हुन्छिन् । प्रमिसको मेकअप सिकाउने यु-ट्युब पेजमा २६ लाख बढी सदस्य छन् । भिडियो हेर्नेको संख्या करोडौं छ । फेसबुकमार्फत ५ लाख २७ हजार बढी प्रशंसकले पछ्याइरहेका छन् । प्रसिद्ध बेलायती पत्रिका द सन, डेली मेल, हफिङटन पोस्टलगायतले उनको सौन्दर्य-जादूको वर्णन गरेको छ ।

याहु वेबसाइटमा समेत यी नेपाली मेकअप गुरुको फिचर प्रकाशित छ । अपत्यारिलो प्रसिद्धिले उनी स्वयंलाई चकित तुल्याएको छ । भन्छिन्, 'मलाई विश्वास गर्न गाह्रो भइरहेको छ ।' मेकअपसम्बन्धी उनले कुनै प्रशिक्षण लिएकी छैनन् । प्रमिसले 'आत्माबाटै' स्वतःस्फूर्त यो ज्ञान हासिल गरेको बताएकी छन् । कस्मेटिक कलामा उनको विशेष दख्खल झल्कन्छ ।

आखिर को हुन् प्रमिस तामाङ ? सर्वत्र चासो छाएको छ । गोरखा, खैरेनीमा जन्मिएकी उनको खास नाम प्रतिज्ञा तामाङ हो । नेपाली कल्चरल नृत्यमा रुचि राख्ने प्रतिज्ञाले आफूले नृत्य गरेको भिडियो सामाजिक सञ्जालमा अपलोड गरेकी थिइन् । जेम्स क्यामरुन निर्देशित फिल्म 'अवतार' बाट प्रभावित उनले 'नाभी' को स्वरूपमा आफूलाई उतारिन् र फेसबुकमा अपलोड गरिन् ।

त्यसलाई धेरैले रुचाए र प्रतिक्रियाहरू पठाए । अन्ततः उनले पहिलोपटक त्यो मेकअप भिडियोलाई यु-ट्युब पेजमा राखिन्, २००९ मा । ठीक यहींबाट उनको जीवनले नयाँ मोड लियो । त्यसपछि उनी निरन्तर विभिन्न सेलिबि्रटीको स्वरूपमा देखा पर्न थालिन् । एन्जोलिना जोलीका रूपमा उतारिएको उनको मेकअप सर्वाधिक चर्चित भयो, जुन यु-ट्युबमा अहिलेसम्म २ करोड २३ लाख बढी पटक हेरिएको छ ।

यही भिडियो हेरेर भियतनामी मूलका स्टिभ फानले प्रमिसलाई साथी बनाए र पछि जीवनसाथी । स्टिभ विश्व प्रसिद्ध मेकअप आर्टिस्ट मिसेल फानका भाइ हुन् । यी २२ वर्षीया प्रमिस अमेरिकाको फ्लोरिडामा बसोबास गरिरहेकी छन् । अन्तरदेशीय विवाहका लागि परिवारले कुनै रोकतोक नगरेको बताउने उनी आफ्नो सुखमय दाम्पत्यबाट दंग छिन् । भन्छिन्, 'मलाई परिवारवाट राम्रो सपोर्ट छ ।'

आफू अमेरिका भए पनि बुवाआमा नेपालमै भएको उनले बताएकी छन् । केही वर्षअघि नेपाल घुम्न आएकी प्रमिसलाई पोखरा असाध्यै मन पर्ने स्थानमा पर्छ । उनको जिब्रो नेपाली खान्कीमै बढी लोभिएको छ । भन्छिन्, 'चिल्लो-पिरो चना चटपटे खान मन पर्छ ।' उनी जनावर र पशुपक्षीको पनि सौखिन हुन् । प्रमिस नेपाली कल्चर नृत्य, हिपहप र ब्रेक डान्स गर्न मन पराउँछिन् ।

किशोरवयदेखि नै मेकअपप्रति रुचि रहेको उनले बताएकी छन् । '१४ वर्षको उमेरदेखि नै मेकअप गर्न रुचाउँथें,' प्रमिस भन्छिन्, 'त्यसपछि निरन्तर यसको अभ्यास गरिरहें ।' अन्ततः निरन्तरको यही प्रयासले उनलाई प्रसिद्धिको चुलीमा पुर्‍यायो । अझै पनि उनी भन्ने गर्छिन्, 'म सामान्य केटी हुँ, मेकअपलाई प्रेम गर्ने ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.