ढुक्क हुनोस्: दूध अमृत नै हो

som-khanal
सोम खनाल
केही दिन यता नेपाली भाषामा प्रकाशित हुने केही अनलाईन पत्रिकाहरूमा “दूध अमृत कि बिष ?”, “दूध एक रोचक जानकारी”, “याद गर्नुहोस गार्ई, भैंसीको दूध मानिसको लागि घातक विष हो”, “आश्चर्य हैन त !” “गाइ भैंसीको दुधबारे बुझ्नै पर्ने कुरा”लगायतका शिर्षकमा निरन्तर प्रकाशित भईरहेका केही सामाग्रीरूले आम जनमानसमा भ्रम पर्न गएको महसुस भएको छ । त्यसैले त्यस्तो भ्रम निबारणको लागि बैज्ञानिक अनुसन्धानबाट प्राप्त तथ्यहरूलाई समाबेश र बिष्लेशण गरी यो आलेख तयार गरिएको छ । सर्बप्रथम: म आफू नेपालमा दुग्ध बिज्ञान प्रबिधिको क्षेत्रमा २०५३ साल देखि काम गरिरहेको; फुलब्राईट छात्रबृत्तिमार्फत अमेरिकाको साउथ डकोटा स्टेट विश्वबिध्यालयबाट दुग्ध बिज्ञान प्रबिधिमा स्नातकोत्तर गरेर र हाल अमेरिकाकै ‘युनिभर्सिटी अफ विस्कनसीन-म्याडिसन’ (जुन दुग्ध बिज्ञान प्रबिधिमा करिब १०० बर्ष अघिदेखि अनुसन्धान शुरू गर्ने अमेरीकाकै पहिलो विश्वबिद्यालय हो) मा दुग्ध बिज्ञान प्रबिधिमै बिद्याबारिधी गरिरहेको मानिस हुँ । त्यसैले दूधको बारेमा भए गरेका बैज्ञानिक अनुसन्धानका अध्ययन बिष्लेशण गर्ने काममा सरोकार राख्दछु । त्यसैले यस लेखमा प्रस्तुत हुने अधिकांश बिषयहरूलाई मेरा निजी बिचार मात्र नभएर, बैज्ञानिक खोज अनुसन्धानबाट प्राप्त सर्बस्वीकार्य निष्कर्षलाई सरल भाषामा प्रस्तुत गर्दै दूधको बारेमा चलाईएको अनर्गल हल्लालाई चिर्ने कोशिसका रुपमा बुझिदिनु हुन पाठकबृन्दमा अनुरोध छ ।
उपरोक्त शिर्षकहरूमा छापिएका “लेख” र “लेखक” र लेखको श्रोत:
बुझ्दै जाँदा माथिका शिर्षकहरूमा लेखिएका ‘कथित’ लेखहरूका नेपाली’लेखक’ अंग्रेजी बिषयमा स्नातकोत्तर गरेका र उच्च माबिमा अध्यापन गर्ने एकजना शिक्षक रहेछन् । उनले छपाएका लेखहरूलाई झट्ट हेर्दा त्यहा उठाईएका कुराहरू उनको गहन अध्ययन र बिश्लेषणबाट निकालिएका निष्कर्शहरू जस्तो भान पर्दछ । तर त्यो सत्य होईन । ति “कथित लेखहरू” Robert M. Kradjian नामका एकजना स्तनको शल्यक्रिया गर्ने सनकी डाक्टरले लेखेको THE MILK LETTER: A MESSAGE TO MY PATIENTS शिर्षकको वाहियात लेखलाई टाकन टुकन मिलाएर उल्था गरि तयार गरिएका छन् । Robert M. Kradjian दूध सेवन गर्नु हुन्न भनेर हल्ला चलाउने एक अमेरिकी हुन् । उनी पोषण बिज्ञानका ज्ञाता होईनन्, त्यसैले सचेत अमेरिकीहरूले उनका दूध बिरोधी कुरालाई एक कानले सुनेर अर्को कानले उडाईदिन्छन् । यो लेखलाई नेपालीमा उल्था गरेर कपटपुर्ण तरिकाले आफ्ना बिश्लेषणको रूपमा प्रस्तुत गर्ने (नेपाली) लेखक अंग्रेजी शिक्षणका ज्ञाता त होलान् तर बैज्ञानिक तथ्यहरूलाई बिश्लेषण गरेर निष्कर्शको रुपमा प्रस्तुत गर्न योग्य ब्यक्ति भने होईनन् । उनले यी लेखहरूमा आफ्नो अंग्रेजी भाषा-ज्ञानको भरपूर दुरुपयोग मात्र गरेका छन् ।
Robert M. Kradjian कै कुरा गर्दा पनि उनी क्यालिफोर्निया राज्यमा बस्छन् र आफ्नो पेशाको अलाबा दूध बिरोधी अभियान पनि चलाउछन् । तर समग्र अमेरिकामा दैनिक २५ करोड लिटर भन्दा बढी र Robert M. Kradjian बस्ने क्यालिफोर्निया राज्यमै दैनिक ५ करोड लिटर भन्दा बढी दूध उत्पादन हुन्छ । अमेरिकामा बार्षिक सरदर ३००० मेट्रिक टनको दरले दूध उत्पादन र खपतमा बृद्धि भईरहेको छ । यदी Robert M. Kradjian ले भने जस्तो दूध बिष भैदिएको भए सचेत अमेरिकीहरूले “बिष”को उत्पादन र सेवन किन गर्थे होला र !
दूधलाई बिष साबित गर्न प्रयास गर्ने Robert M. Kradjian र उनका नेपाली उल्थाकारले अधि सारेका केही कुतर्कहरूमा: दूधमा रहेका हर्मोनले मानव शरीरलाई हानी गर्छ, दूधले मधुमेह गराउछ, दूधमा रहेको ल्याक्टोज पचाउन नसकिने भएकोले दूध खानु हुँदैन, क्याल्सियमका लागि दूध जरूरी छैन, क्याल्सियम नभए पनि हुन्छ, दूधले एलर्जी गराउँछ, मुटुको रोग लगाउँछ, शरीरको अधिक बृद्धि गराउँछ, आदि आदि अनेक तथ्यहीन र सर्वथा बेतुके कुराहरू अघि सारेका छन् । उक्त कुतर्कहरू देहाय अनुसारका बैज्ञानिक तथ्यका आधारमा गलत, अतिसयोक्तिपूर्ण, भ्रामक र सर्बथा तथ्यहीन छन् ।
हर्मोनले खासै केही असर गर्दैन :
दूधका दुष्मनहरूले दूधमा पाईने हर्मोनहरूको कारण दूध बिष हो भनेका रहेछन् । तर यो सत्य होईन । अनेक प्रकारका हर्मोनहरू प्राणी तथा वनस्पती श्रोतबाट प्राप्त हुने हरेक खाद्य बस्तुमा पाईन सक्छन् । यदी यी हर्मोनहरू बिष हुन्थे भने हामीले खाने हरेक खाद्य बस्तुलाई बिष मान्नु पर्ने हुन्छ । हाम्रो शरीरले पनि त्यस्ता कयौं हर्मोनहरू बनाईरहेको हुन्छ । हाम्रो शरीरमा बाह्य वा शरीर भित्रै उत्पादन हुने हर्मोनहरू कतिबेला सकृय वा निस्कृय हुने भन्ने बिकसित संयन्त्र बिद्यमान रहेको हुनाले अनाबश्यक हर्मोनहरूलाई अन्य खाद्य बस्तु झै शरीरले पचाई दिन्छ र दिशा पिसाबको माध्यमबाट निस्कासित गरिदिन्छ । गाईबस्तु दुहुंदा सुईको रूपमा दिईने अक्सीटोसीन हर्मोनले हामीलाई हानी गर्छ भन्ने निश्कर्ष पनि कहि कतै निकालिएको छैन, बरू प्रसिद्ध जर्नल “नेचर” मा सन २००५ मा प्रकाशित लेख अनुसार मानिस तथा पशुमा प्रेम वा विश्वासको भाव जगाउने हुनाले अक्सीटोसीनलाई बिश्वास जगाउने हर्मोन (Trust hormone) पो भनिएको छ  (हे. Vol 4352_June 2005_nature_03701) ।
यद्यपी सकेसम्म “स्वाभाबिक तवरले दूध उत्पादन गर्न पर्छ” भन्ने स्वच्छ दूध उत्पादन अबधारणाको आधारमा त्यस्तो हर्मोनको सुई नदिनु उचीत हुन्छ भनिएको हो । र यस्तो अबधारणा निर्माण गर्नेहरू पनि दूध उत्पादक किसान र दुग्ध बैज्ञानिकहरू नै हुन् । यसका अलावा दूधमा पाईने ‘मेलाटोनिन’ भन्ने हर्मोनले मीठो निन्द्रा निदाउन मद्दत गर्ने र यो पार्किन्सन्स र अल्साईमर जस्ता बुढ्यौलीमा लाग्ने रोगको निदानमा उपयोगी हुने देखेर फिनल्याण्ड जस्ता अति बिकसित देशमा अधिक’मेलाटोनिनयुक्त दूध’ उत्पादन गरि बेच्ने समेत गरिएको पाईन्छ (हे. Nord J Psychiatry 2005;59:217-221) ।
मधुमेह र दूधको सम्बन्ध छैन :
आलोचकहरूले गाईबस्तुको दूधको कारण मधुमेह हुन्छ भनेर नितान्त निराधार र भ्रामक कुरा गरेका छन् । उल्था गरिएको नेपाली लेखमा त झन प्यांक्रियाजका “बेटा आईसलेट सेल”, “इन्सुलिन” आदि शब्दावलीको प्रयोग यस्तरी गरिएको छ कि लेखक आफै ति कोषहरूको अध्ययन गरेका पोख्त बैज्ञानिक हुन् । तर यथार्थ त्यस्तो होईन, लेखकका लागि यी शब्दहरू सबै “अरेका कुरा” मात्र हुन्, यी शब्दहरूलाई केलाउन सक्ने उनी आधिकारिक ब्यक्ति हुदै होईनन् । भएको चाही के हो भने ऊटको बाहेक अन्य पशु बस्तुको दूधमा मानव दूधमा नपाईने एउटा बेटा ल्याक्टोग्लोबुलिन नामको प्रोटिन पाईन्छ । त्यसैले बैज्ञानिकहरूले कतै यो प्रोटिन र मधुमेहको सम्बन्ध छ कि भनेर १९९० को दशकमा केही अनुसंधानहरू गरेका थिए । ति मध्ये केही प्रारम्भिक अनुसन्धानले त्यस्तो सम्बन्ध हुनसक्ने खालको अवधारणा प्रस्तुत गरेका पनि हुन्, तर पछि गरिएका बिस्तृत अध्ययनले बेटा ल्याक्टोग्लोबुलिनको सेवन गर्नु र मधुमेह हुनुसंग कुनै सम्बन्ध छैन भन्ने प्रष्ट पारेका छन् (हे. Diabetes_ November_ 1999_vol. 48_ no. 11_ 2145-2149) । तर दूधका दुष्मनहरूले भने तिनै खारेज भईसकेका नितान्त प्रारम्भिक अबधारणामात्र प्रमाणको रूपमा उल्लेख गर्छन् र उही सुगा रटाई दोहोर्याउछन् । के चाही सत्यको नजिक छ भने, शीसुहरू जन्मेको छ महिना सम्म उनीहरूको आन्द्रा पातलो हुनाले केही ठूल्ठूला अणुहरू पनि सोसिएर रगतमा जान सक्दछन् र तीनले भबिष्यमा कुनै न कुनै किसिमका हानी पुर्याउने सम्भावना हुन सक्दछ । त्यसैले जन्मेको छ महिना सम्म भरसक शिशुहरूलाई आमाको दूधमात्र खुवाउनु नै उत्तम मानिन्छ (हे. Journal of Proteome Research2008, 7, 2165–2167) । तर सबै शिशूहरू उत्तिकै भाग्यमानी कहाँ हुन्छन् र ! कतिका आमाले प्रसब अबस्थामा नै ज्यान गुमाउछन् भने कति आमाहरूको पर्याप्त मात्रामा दूध आउदैन । त्यस्तो अबस्थामा शिशुहरूलाई खुवाउने एकमात्र बिकल्प भनेकै गाईबस्तुको दूध वा सोवाट बनाईएका शीसु आहार (फर्मुला) हुन् । हामीले नै देखेका छौ, कयौ त्यस्ता बाबु नानीहरू जो आमाको दूध चाख्न पनि नपाईकन केवल गाईभैसीको दूधको भरमा हुर्केका छन् । उनीहरुका लागि गाईबस्तुको दूध अमृत भयो कि बिष ? त्यो हरकोहीले सहजै अनुमान गर्न सकिने कुरा हो ।
दूधको एलर्जी बढाई-चढाई मात्र हो:
दूधका दुष्मनहरूले मानिसहरूमा हुने एलर्जीको सबै भन्दा ठूलो कारण दूध हो भनेर नितान्त असत्य कुरा गर्ने गरेका छन् । बास्तबमा एलर्जी भनेको सबैलाई हुने कुरा होईन । प्रोटिन पाईने हरेक खाद्य बस्तुले कसै कसैलाई एलर्जी गराउन सक्दछन् । बदामले सबै भन्दा धेरै मानिसलाई एलर्जी गराउने गरेको पाईन्छ । स्कूले उमेरका बच्चाहरूलाई बदामको एलर्जीबाट बचाउन कतिपय बिकसित देशका स्कूल आसपासमा बदाम मिसाईएको खाद्य बस्तु बेच्न समेत मनाही गरिएको पाईन्छ । रूखमा फल्ने नट्सहरू (काजु, पेस्ता, ओखर आदी) ले पनि कसै कसैलाई एलर्जी हुन्छ । कतिपयलाई अण्डाले एलर्जी हुन्छ भने कोहीलाई गहुंको कारण एलर्जी हुन्छ । यसरी बदाम, रूखमा फल्ने नट्स, अण्डा, दूध, गहू, भट्टमास, माछा, र खोलसहितका माछा (सेल फिस)लाई एलर्जि गराउन सक्ने आठ मूख्य खाद्य वस्तु मानिएको छ (हे.http://www.foodallergy.org/allergens)। यूरोप र अमेरिकाको तथ्यांक हेर्ने हो भने १०० मा औषत ३ जना बच्चाहरूलाई दूधको कारण एलर्जी हुने गरेको देखिन्छ । र, त्यस्तो एलर्जी पनि बच्चा तीन बर्षको भएपछि आफै हराएर जाने गर्दछ (हे. Ann Allergy Asthma lmmunol2002;89(Suppl):33-37) । जुन खाद्य बस्तुले जुन मानिसलाई एलर्जी हुन्छ त्यसका लागि मात्रै त्यो खराब हुन्छ । यसरी एलर्जीका दृष्टिकोणबाट हेर्दा पनि तीन बर्ष मूनीका सरदर ९७ प्रतिशत र सो उमेर भन्दा माथीका प्राय: शतप्रतिशत जनसंख्याका लागि दूध अमृतै हो ।
ल्याक्टोज नपच्दैमा केही हुन्न !:
दूधमा हुने दुई-ईकाई चिनी (डाईस्याकाराईड) लाईल्याक्टोज भनिन्छ । ल्याक्टोजलाई पचाउन ल्याक्टेज भन्ने ईन्जाईमले यसलाई ग्लुकोज र ग्यालाक्टोज भन्ने एक ईकाई-चिनीहरूमा टुक्राउनु पर्छ । कतिपय मानिसको आन्द्रामा त्यो ल्याक्टेज भन्ने ईन्जाईम बन्दैन । त्यसैले ल्याक्टोज शरीरले सोष्न सक्दैन, यस्तो अबस्थालाई ल्याक्टोज इन्टोलरेन्स भनिन्छ । त्यसरी ल्याक्टोज नपच्दा हदै भए पेट कुटुक्क दुख्न सक्ला, डकार आउला, पाद आउला वा एकदुई फेरा पातलो दिशा होला, तर त्यसले कुनै ठूलो असर गर्दैन । अमेरिकाको पर्डु विश्वबिध्यालयमा गरिएको एउटा बृहत बैज्ञानिक अध्ययनले पनि ल्याक्टोज नपच्ने कुरालाई अनाबश्यक रूपमा बढाई चढाई गरिएको भन्ने पुष्टि गरेको छ (हे. J. Nutr. 136: 1107–1113, 2006) । ल्याक्टोजको मात्राको कुरा गर्ने हो भने पनि गाई भैसीको दूधमा भन्दा मानव दूधमा करीब डेढ गुणा बढी (अर्थात ७%) ल्याक्टोज पाईन्छ । यदि ल्याक्टोज नपच्ने कारणले नै दूधलाई बिष मान्ने हो भने त झन् बढी ल्याक्टोज पाईने अमृतसरी आमाको दूधलाई नै बिष भन्नुपर्ने भयो, जुन सर्बथा गलत हो । ल्याक्टोज पचाउन नसक्ने मानिसहरूले ल्याक्टोज कम भएका दुग्ध पदार्थ खानु पर्छ । दूधलाई फटाएर छेनाबाट तयार गरिएका चिज, रसबरी, छुर्पी, पनीर जस्ता पदार्थमा ल्याक्टोज हुदैन । दहीमा पनि दूधमा भएको ल्याक्टोज ल्याक्टिक अम्लमा परिणत भईसकेको हुनाले न्यून मात्रामा मात्र ल्याक्टोज पाईन्छ, त्यसैले ल्याक्टोज पचाउन नसक्ने मानिसले दही मज्जाले पचाउन सक्दछन् ।ल्याक्टोज पचाउने क्षमता नभएका र मधुमेह भएका मानिसहरूका लागि मोही त झन् अमृत समान नै हुन्छ ।
क्लाल्सियम सम्बन्धी झूटको खेती:
दूधका दुष्मनले दूधमा अत्याधिक पाईने क्याल्सियम समेतलाई बेकामे तत्व भनेका छन् । त्यसलाई प्रमाणित गर्न जापानको “ओनिकावा” टापुका बासिन्दाले क्याल्सियम नै सेवन नगरे पनि स्वस्थ छन् भने बेतुके तर्क दिएका छन्, जुन अत्यन्त हास्यास्पद छ । मानिसको शरीरको सम्पूर्ण वजनको २% क्याल्सियमले ओगटेको हुन्छ । एउटा ७० केजी तौल भएको मानिसको शरीरमा करिब डेढ केजी क्याल्सियम हुन्छ । त्यसैले अमेरिकाको इन्स्टिच्यूट अफ मेडिसिनले स्वस्थ रहन दैनिक १ ग्राम क्याल्सियमको सेवन गर्नैपर्छ भनेर तोकिनै दिएको छ (हे. J. Nutr. 136: 1107–1113, 2006) । हाम्रो शरीरको सबैभन्दा महत्वपूर्ण अंग मूटुका मांसपेशीलाई चलायमान राख्न क्याल्सियम नितान्त जरूरी हुन्छ । त्यसैले प्रकृतिले “क्याल्सियम गोदाम”को रूपमा शरीरमा हाडको निर्माण गरिदिएको छ । मानिसको १०० मिलिलिटर रगतमा १० देखि ११ मिलि ग्राम क्याल्सियम अनिवार्य हुनैपर्दछ । यदि रगतमा सो भन्दा बढी क्याल्सियम भयो भने हाम्रो शरीरले बढि भएको क्याल्सियम ‘गोदाम’ अर्थात हड्डीमा संचयको लागि पठाउँछ । त्यसको बिपरीत यदि रगतमा क्याल्सियमको मात्रा कम हुन गयो भने, शरीरले गोदाम (हाड खियाएर) बाट रगतमा क्याल्सियम पठाउने ब्यबस्था मिलाउँछ । यसरी रगतमा क्याल्सियमको मात्रा अनुसार हड्डीमा क्याल्सियम थप्ने वा हड्डी खियाएर क्याल्सीयम रगतमा पठाउने भन्ने कुरालाई ‘भिटामीन डि’ र ‘प्याराथाईरोईड हर्मोनले’ मिलेर नियन्त्रण गर्छन् (हे.Nature Reviews Molecular Cell Biology 4, 517-529 (July 2003)। यो सर्बस्वीकार्य र अत्याधिक बुझिएको बिषय हो । त्यतिमात्र होईन हाम्रो शरीरका बिभिन्न महत्वपूर्ण कोषहरूको बिचमा संचार-संकेतको आदान प्रदान गरेर अन्तरकोषिय समन्वय मिलाउनको लागि क्याल्सियम अति आबश्यक तत्व हो । यसले आन्द्रा वा पाचन प्रणालीमा हुन सक्ने क्यान्सरलाई नियन्त्रण गर्न पनि अतिनै महत्वपुर्ण भूमिका निर्बाह गरेको हुन्छ भन्ने तथ्य समेत अनुसंधानहरूबाट स्थापित भएको छ (हे. Journal of Cellular Biochemistry, Supplement 22:65-73 (1995) । यस दृष्टिकोणबाट हेर्दा एक कप दूध पिएरै ३०० मि.ग्रा. क्याल्सियम पाईने र दूधको सेवनबाट शारिरका बिभिन्नखाले कोषहरूको बिचमा राम्रो आपसी समन्वय रहन जाने तथा अन्य कारणबाट हुन सक्ने क्यान्सरको खतरालाई समेत रोक्ने भएकाले दूध अमृत नै भएको पुष्टि हुन्छ । यस्तो महत्वपुर्ण खनिजक्याल्सियम र त्यसको भरपर्दो श्रोत दूध बिना पनि मानिस स्वस्थ रहन सक्छ भन्नुजति मुर्खता के होला ? जहासम्म ओनिकावाका बासिन्दाको कुरा छ, उनीहरू दूध कम खाने आदिबासीहरू हुन् तर दूध नै खाँदैनन् भन्ने होईन । उनीहरू तुलनात्मक रूपमा दूध कम खान्छन् तर माछा, बंगुरको मासु (हड्डी सम्म नछाडी), अण्डा आदि खाने गर्दा रहेछन् र उनीहरूको शरीरलाई चाहिने न्यूनतम पोषण पुर्याउने रहेछन् । ओनीकावाका बासिन्दाहरूको तुलनात्मक लामो आयू हुनुमा सन्तुलित खाना, मोटोपनाको कमी, पर्याप्त ब्यायाम, वा बंशाणुगत कारणले समेत काम गरेका होलान भन्ने बैज्ञानिकहरूको मत रहेको छ (हे.Ann. N.Y. Acad. Sci. 1114: 434–455 (2007) । त्यहाका बासिन्दाले तुलनात्मक रूपमा कम दूध सेवन गरेर नै धेरै बाँचेका हुन भनेर कुनैपनि बैज्ञानिक अनुसन्धानले भनेको छैन । यो केवल दूधका दुस्मनहरूको बतासे अनुमान मात्र हो ।
दूधले मुटुको रोग लाउछ भन्नु तथ्यलाई बंग्याउनु हो:
हाम्रो शरीरको लागि क्याल्सियम अति नै महत्वपूर्ण छ, र दूधमा प्रचूर मात्रामा क्याल्सियम पाईन्छ भनेर भनेर माथिनै उल्लेख गरि सकिएको छ । स्वस्थ रहेर नियमित रक्त संचालनका लागि मुटुका मांसपेशी द्रुत गतिमा खुम्चनु र फैलिनु पर्दछ, र त्यसको लागि क्याल्सियम अति नै जरूरी हुन्छ । त्यसैले अत्याधिक क्याल्सियम पाईने दूधको सेवन मूटु स्वस्थ र कृयाशील राख्नका लागि जरूरी हुन्छ । अत्याधिक चिल्लो पदार्थको सेवनले रगतका धमनीहरू बुजिने रोग (Atherosclerosis) लाग्न सक्ने हुनाले हामीले फ्याटको मात्रा कम भएको दूध खाने गर्नु पर्दछ । गाईको दूधमा सरदर ४ प्रतिशत र भैसीको दूधमा ६ प्रतिशत फ्याट हुन्छ । तसर्थ रक्तचापमा पुर्याउने असरको हिसाबले हेर्दा भैसीको भन्दा गाईको दूध खानु उचित देखिन्छ । यद्यपी ‘तर’ काटेर वा कृम निकालेर फ्याटको मात्रा घटाईएको भएमा गाई, भैसी दूबैको दूधले रक्तचापमा खासै असर गर्दैन । त्यसैले मोटोपना भएका र रगतमा २०० मि.ग्रा. प्रति १०० मिलि भन्दा बढी कोलेष्टेरोल तत्व भएका मानिसले धेरै फ्याट भएको दूध, अण्डा आदि सेवन गर्न उचित हुन्न । त्यस्ता मानिसहरूका लागि पनि दही मथेर नौनी झिकि बनाएको मोही अतिनै लाभकारी हुन्छ । नौनी झिकिसकेको मोहीमा न्यून मात्रामा मात्र फ्याट बांकी रहन्छ, जसको कारण फ्याटबाट हुन सक्ने जोखिम घट्छ । यसका अलावा त्यस्तो मोहीमा ‘फ्याट ग्लोब्यूल मेम्रेन प्रोटीन’ नामका अत्यन्तै लाभकारी प्रोटिन पाईन्छन् । त्यस्ता प्रोटीनयुक्त मोहीको नियमित सेवनले क्यान्सर हुन बाट बचाउने र रगतमा कोलेष्टेरोको मात्रा घटाउन पनि मद्दत गर्छ भन्ने तथ्य  अनुसन्धानहरूले पुष्टि गरेका छन् ( हे. International Dairy Journal 18 (2008) 436–457) । यसरीमूटुरोग वा रक्तचाप र दूध सेवनको सम्बन्धलाई केलाउँदा दूधमा रहेको फ्याट मात्र केही हदसम्म दोषी देखिन्छ । तर दूधबाट त्यस्तो फ्याटलाई सजिलै हटाएर वा घटाएर सेवन गर्न सकिने तथ्यलाई बिर्षेर ‘दूधले मूटू रोग लगाउँछ’ भन्नु जस्तो भ्रामक कुरा के होला? त्यसैले फ्याट कम गरेको दूध, तथा दही मथेर नौनी झिकि बनाएको मोहीले मुटुरोग वा रक्तचापका रोगीहरूलाई झन घटाउँछ, त्यसैले दूध अमृत नै हो ।
दूधले अत्याधिक शारिरिक बृद्धि गराउँछ भन्नु गलत हो :
दूधको बिरुद्दमा अभियान चलाउनेहरूले पेश गर्ने गरेको अर्को (कु) तर्क दूधको कारण सामान्य भन्दा चांडो शरीरको बृद्धि हुन्छ भन्ने हो । यो कथनमा कत्ति पनि दम छैन । पश्चिमा देशका मानिसहरू सन्तुलित र कहिलेकाँही चाहिने भन्दा बढी पोषणयुक्त खानाहरु खाने गर्छन् र उनीहरू चाडै बढ्छन् पनि । त्यति हुदा पनि उनीहरूको उमेर अनुसार शरीरको उचाई र तौल ठीकै हुने गर्छ । रेष्टुरेण्टमा पाईने अनेक प्रकारका चिल्लोयुक्त जंक खानेकुरा खाने र ब्यायाम नगर्ने कारणहरूले मोटोपना देखिए पनि नियमित ब्यायाम गर्ने र सन्तुलित भोजन गर्नेहरूको तौल र शरीरको आकारमा असामान्यपना देखिदैन । नेपालको हकमा बढी पोषण हुने त कुरै छाडौ, अधिकांश बढ्दो उमेरका किशोर किशोरीहरू प्रोटीन नपुगेर उल्टै कुपोषणको शिकार हुने गर्छन् । “सुकेका नितम्ब र फुकेको पेट” नेपाली महिला पुरुषहरूको शारिरिक बनावटको पहिचान नै हो भने पनि हुन्छ । त्यसो हुनुमा बढ्दो उमेरमा यथेष्टमात्रामा प्रोटीन र क्याल्सियमको सेवन गर्न नपाउनु नै प्रमुख कारण हुन् । बढ्दो उमेरमा उनीहरूले प्रसस्त मात्रामा दूध, दही, महि आदी खान पाएका भए उनीहरूको शारिरिक बनावट पनि सलक्क मिलेको हुने थियो र उचाई पनि बढी हुने थियो ।
अन्य तर्कहरू पनि हावादारी छन्:
अनर्गल प्रचार गर्न कम्मर कसेकाले केही नचलेपछि सुन्दै अचम्म लाग्ने हावादारी कुरा पनि गर्ने गर्दछन् । उदाहरणको लागि दूधमा रहेको ‘केसीन’ भनिने प्रोटीन चिजबिजहरू टास्ने गम बनाउन प्रयोग हुने भएकाले यो हाम्रो आन्द्रामा टाँसिन्छ भनिएको रहेछ । संसारमा दुई प्रयोजनका लागि कारखानाहरूले केसीन प्रोटीन छुट्याउछन् । एउटा औद्योगिक प्रयोजनको लागि, जुन प्राय सडेर मानव उपयोगको लागि अवान्छित हुन थालेको दूधबाट बनाईन्छ । र अर्को खाद्य प्रयोजनको लागि । औद्योगिक प्रयोजनमा केसीनलाई टांक आदि बनाउन, गम बनाउन, कागज वा कपडालाई चिल्लो बनाउने कच्चा पदार्थको रूपमा प्रयोग गरिने सत्य हो । त्यसो गर्न केसीनलाई कयौ रसायनहरूसँग प्रतिकृया गराएर परिबर्तन गरिएको हुन्छ । त्यसो भन्दैमा शुद्द दूधमा रहेको केसीनलाई हानिकारक भन्न मिल्दैन । त्यसो त चामल या चिनीलाई पनि त रक्सी बनाउन प्रयोग गरिन्छ नि, तर चिनी र भातले रक्सीको जस्तो मात लाग्छ त ? ईलामका किसानले अमेरिकामा कुकुरको आहारा बनाउन छुर्पि निर्यात गर्छन् । अब के छुर्पीलाई कुकुरको आहारा भनेर हामीले खानु हुन्न भन्न मिल्छ ? कदापी मिल्दैन ।
उन्नत जातका गाईहरूले अत्याधिक दूध दिने हुनाले त्यस्तो दूध बिषाक्त हुन्छ भन्ने तर्क पनि सुनिने गरेको छ, जुन पनि सर्बथा असत्य छ । गाईहरूको उत्पादकत्व बढाउनका लागि नश्ल सुधार र सन्तुलित पोषण जस्ता स्वीकृत रणनीतिहरू अपनाईन्छ । यीनै रणनीतिलाई अधिकतम उपयोग गरेर उत्पादकत्व बढाउदैमा दूध बिषाक्त हुदैन । पोषणले उत्पादकत्वमा कस्तो प्रभाब पार्छ भन्ने थाहा पाउन नवलपरासी जिल्लाको भेडाबारीमा रहेको गोरखा ब्रुअरी आसपासका गाउँमा गएर हेर्न सकिन्छ । ति बस्तीहरूका किसानले बियर उत्पादनबाट निस्केको पौष्टिक ‘कट’ गाईबस्तुलाई खुवाउँछन्, जसको कारण त्यस्ता गाईबस्तुहरू हृष्टपुष्ट र अन्यभन्दा दुधालु हुने गर्दछन् । पश्चिमा देशहरुले भट्टमासको पीना, तोरीको पिना, मकै, चोकर जस्ता पोषिला दाना र अल्फाअल्फा, जस्ता घांसको पराल (साईलेज)को साथमा यथेष्ट पानी, खनिज र भिटामीनहरूको समेत कमी हुन नदिई गाईबस्तुको पोषण योजना बनाएका हुन्छन् । जस अनुसार पशुको शरिर ठिक्कको तर उत्पादकत्व अधिक हुने गरि मिलाईएको हुन्छ । दशकौको त्यस्तो प्रयासका कारण कयौं पुस्तापछि उत्पादनशील पशुको नश्ल तयार भएको हुन्छ । तर दूधको बारेमा कुप्रचार गर्नेहरूले केवल एक सुई दिएर मिनेटभरमा थारो गाईको कल्चौडोमा २० लिटर दूध तयार गरिन्छ, जसरी कुतर्क गर्छन्, जुन सर्बथा झूट मात्र हो ।
उपसंहार:
संसारमा अनेक थरी सोचाई भएका मानिस भेटिन्छन् । ‘यो संसारमा बांचेर केही हुन्न, सबैले सामूहिक आत्महत्या गर्नुपर्छ’ भनेर मानिसलाई मर्न उक्साउने मानिस समेत यही संसारमा छन् । त्यस्तै उल्टो बुद्धि एका-दुई मानिसहरूले हजारौ लाखौ बर्षदेखि अमृतको रूपमा स्वीकारिएको दूधलाई पनि केही नितान्त’आलाकांचा र अप्रमाणित’ अनुसन्धानको दुहायी दिदै ‘बिष’ हो भनेर दुष्प्रचार गर्नमा आफ्नो सम्पूर्ण शक्ति र सामर्थ्य लगाएर आफूसंग रहेको थोरबहुत बौदिकताको को समेत दुरुपयोग गरेको पाईन्छ । यसबाट कोही पनि उपभोक्ताले भ्रममा पर्न जरूरी छैन । बरू बजारमा पाईने दूध सडेको वा मिसावट भएको पो छ कि, प्रशोधन गर्ने कारखाना को स्वच्छता कस्तो छ, किसानहरुले दूध उत्पादनमा लापरवाही गरेका छन् कि भन्ने बारेमा चाही उपभोक्ताहरूले सधै सचेत हुन जरूरी छ । अस्वच्छ तरिकाले तयार गरियो भने अमृत पनि अमृत रहँदैन । तर स्वच्छता कायम गरिएर उत्पादन, प्रशोधन वा बितरण गरिएको शुद्द दूध हरेक उमेरका मानिसलाईस्वस्थ र तन्दुरुष्त रहन नभई नहुने पदार्थ हो । त्यसैले दूध अमृत नै हो ।
som.khanal@fulbrightmail.org
dainiknepal.com

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.