प्रहरी हिरासतमै मृत्युपछि सिजुवामा तनाव, हवाइ फायर र अंशुग्याँस प्रहार
विराटनगर– चाडपर्वको बेला 'समान्य मदिरा सेवन' गरेको आरोपमा पक्राउ गरिएका एक स्थानीयको प्रहरी हिरासतमै मृत्यु भएपछि मोरङको दक्षिणपूर्वी गाविस सिजुवा शनिवार बिहानैदेखि तनावग्रस्त बनेको छ । प्रहरीले स्थितीलाई नियन्त्रणमा लिन हवाईफायर र अंशुग्याँस प्रहार गरेका छन्।
शुक्रवार राती ९ बजेतिर मदिरा सेवनको आरोपमा प्रहरीले नियन्त्रणमा लिएका सिजुवा बजारमा चिया पसल व्यवसाय गर्ने वर्ष ६० का मधु ताजपुरियाको प्रहरी हिरासतमै मृत्यु भएको छ। स्थानीय र मृतकका परिवारले उनलाई हिरासतमा कुटपिट गरिएकोले मृत्यु भएको आरोप लगाउँदै शनिवार विहानैदेखि इलाका प्रहरी कार्यालउ सिजुवा घेराउ गरे। प्रहरीले भने मेडिकल जाँचका लागि विराटनगरतर्फ लैजादै गर्दा बाटोमै ताजपुरियाको मृत्यु भएको दाबी गरेको छ।
मोरङ प्रहरीका प्रमुख एसपी ठूले राईले इलाका प्रहरी कार्यालय सिजुवा घेराउ गरेका स्थानीयले ढुंगामुढा गरेपछि स्थिती नियन्त्रणमा लिन ६ सेल अंशुग्याँस र पाँच राउण्ड हवाई फायर गरिएको जानकारी दिए । उनले स्थिती नियन्त्रणमा लिन विराटनगरबाट डिएसपी र उर्लावारीबाट इन्सपेक्टरको कमाण्डमा थप सुरक्षाकर्मी पठाइएको बताए। 'स्थानीयसंग कुराकानी गर्ने प्रयास भइरहेको छ,' एसपी राईले भने, 'स्थिती नियन्त्रणमा लिने हरसम्भव प्रयास जारी छ ।' आक्रोसित स्थानीयले यात्रुवाहक बसमा समेत तोडफोड गरेका छन्।
आक्रोसित स्थानीयले इप्रका सिजुवाका प्रमुख इन्सपेक्टर बाबुराम पोखरेलमाथि कारवाही र घटनाको न्यायिक छानविन माग गर्दै नाराबाजीमा उत्रिएका छन्। एक हजार भन्दा बढीको संख्यामा रहेका स्थानीयले इप्रका सिजुवालाई चारैतिरबाट घेराबन्दी गरेको घटनास्थलमा रहेका सञ्चारकर्मी बिनोद घिमिरेले जानकारी दिए।
http://www.nagariknews.com
0 comments
Write Down Your Responses