काठमाण्डौं, असोज २३ – प्रधानमन्त्री सुशील कोइरालालसँग यूनिसेफका सद्भावना राजदूत आमिर खानले बिहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गरेका छन् । चर्चित भारतीय नायक आमिर खानलाई यूनिसेफले दक्षिण एसियामा बालबालिकाको पोषण प्रवर्धनका लागि सद्भावना राजदूत चयन गरेको छ । वार्तामा प्रधानमन्त्री कोइरालाले दक्षिण एसियाको आर्थिक सामाजिक विकासका पछाडि परेको बताएका थिए । उनले बालबालिका अवस्थामा विगतको तुलनामा सुधार आए पनि विकसित मुलुकको समान पुग्न नसकेको बताए । वार्तामा यूनिसेफका सद्भावना राजदूत खानले नेपाल र भारत दुवै देशका बालबालिकामा कुपोषण समस्याको रुपमा रहेको बताए । उनले दुवै देशमा ४० प्रतिशतभन्दा बढी बालबालिकामा पोषणको अभाव देखिएको पनि बताए । वार्तामा प्रधानमन्त्री कोइरालाले नेपाल अब राजनीतिक स्थायित्व, दिगो शान्ति र विकासको मार्गमा लागेकोले आर्थिक सामाजिक अवस्थामा सुधार हुनेमा आफू आशावादी रहेको बताए । उनले भने,“ म त नेपालको भविष्यप्रति असाध्यै आशावादी छु ।” उनले मुलुकको आर्थिक सामाजिक विकाससँगै बालबालिकाको अवस्थामा पनि सुधार आउने बताए । कुपोषणको कारण बालबालिकाहरु कम तौल हुनु, दुब्लोपातलो हुनु, रक्त अल्पता हुने, आयोडिनको कमीले गलगाँड आउने, भिटामिन एको कमीले रतअन्धो हुने जस्ता समस्या देखा पर्दछन् । पोषण नपुगेका महिलाहरुबाट जन्मेका बालबच्चामा पनि पोषणको कमी हुने भएकोले बालबालिका र आमाहरुको खाद्यमा पोषणको मात्रा बढाउन युनिसेफले सद्भावना राजदूतलाई अगाडि सार्दै आएको छ । शिशुहरुका लागि आमाको दूध नै सर्वोत्तम पोषण शक्ति मानिँदै आएको छ । तीन दिवसीय भ्रमणमा मंगलबार नेपाल आएका आमिर खान हिजो (बुधबार) कपिलबस्तुको पकडी स्वास्थ्य चौकीमा स्वास्थ्य अधिकारी र महिला स्वास्थ्य स्वयंसेविकाहरुसँगको अन्तरक्रियामा सहभागी भएका थिए । महिला स्वास्थ्य स्वयंसेविकाको सुव्यवस्थापन , गर्भवती महिलाको स्वास्थ्य परीक्षण र सुत्केरी सेवामा सरकारले दिएको प्रोत्साहनका साथै स्वास्थ्य चौकी तथा तालिमप्राप्त स्वास्थ्यकर्मीको उपस्थितिमा सुत्केरी गराउन अपनाइएका उपायले नेपालमा मातृृ शिशु मत्युदरमा कमी आएको छ । प्रधानमन्त्री कोइरालाले भारतीय चलचित्र जगतका चर्चित अभिनेता समेत रहेका खानलाई पोखरा जस्ता सुन्दर शहर घुम्ने फुर्सद मिलाएर आउन अनुरोध गरेका थिए । पदयात्रामा रुचि देखाएका खानले सपरिवार आउने इच्छा रहेको बताएका छन् । कपिलबस्तुको कार्यक्रम पछि बुधबार उनले भगवान गौतमबुद्धको जन्मस्थान लुम्बिनीको भ्रमण पनि गरेका थिए । प्रधानमन्त्रीसंग यूनिसेफका सद्भावना राजदूत आमिर खानको भेटका अवसरमा प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार मृदुला कोइराला यूनिसेफका नेपालका लागि राष्ट्रिय प्रतिनिधि तोमू होजुमी, यूनिसेफको दक्षिण एशियाकी क्षेत्रीय निर्देशक करिन हल्सोफ, राष्ट्रिय योजना आयोगका सदस्य डा.यज्ञबहादुर कार्की लगायतको उपस्थिति थियो । - See more at: http://www.ratopati.com/2014/10/09/172835.html#sthash.sxpQ81kW.EMFEc6LP.dpuf
प्रम कोइरालासँग आमिर खानको भेट
Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News
Powered by Blogger.
0 comments
Write Down Your Responses