सीपीले ‘भैंसी बाँध्ने’भन्दा संघीयतावादी रिसाए मैनालीले हाम्रो अपमान गर्नुभयो : गोपाल दहित

 संवैधानिक तथा राजनीतिक सम्वाद समितिमा माले महासचिव सीपी मैनालीले प्रदेशहरुलाई गाईभैंसीलाई जस्तै किलोमा बाँध्नुपर्छ भनेपछि हंगामा भएको छ ।
समितिको मंगलबार बसेको बैठकमा अब बन्ने प्रदेशहरुमा गभर्नर राख्ने कि नराख्ने भन्ने विषयमा छलफल भएको थियो ।
समिति सदस्य मैनालीले तराईमा भैंसीलाई चराउन लैजाँदा ५०/६० मिटरभन्दा लामो पघाहा लगाउने (बाँध्ने) गरेजस्तै प्रदेशलाई पनि केन्द्रको किलोमा बाँध्नुपर्ने बताएका थिए । ‘केन्द्र भनेको किलो हो र प्रदेशहरु भनेको पघाहामा बाँधिएको बस्तु जस्तै हो’ मैनालीले भने ।
तर, समितिमा रहेका मधेसी एवं जनजाति सभासदहरुले मैनालीले आफूहरुको अपमान गरेको भन्दै आपत्ति जनाए । ‘उपेन्द्र यादव, अशोक राईसहितका सभासदले विरोध गरेपछि बैठकमा खैलाबैला भयो’ एक सभासदले अनलाइनखबरसँग भने ।
मैनालीले अपमानजनक शब्द प्रयोग गरेकाले आफूहरुले विरोध गरेको थरुहट तराई पार्टीका अध्यक्ष गोपाल दहितले बताए । ‘पहिलो त उहाँले प्रदेशलाई अपमानित शब्द प्रयोग गर्नुभयो । हामीले संविधानले दिएको अधिकार प्रयोग गर्ने गरी स्वयत्तता खोजेको हो, देश विखण्डन गर्ने होइन’ दहितले अनलाइनखबरसँग भने-’मैनालीले तराईको अभ्यासलाई उपहास गर्न खोज्नुभयो ।’
मधेसी र जनजाति सभासदहरुको विरोधपछि सभासद मैनाली चुप बसेका थिए । यद्यपि यस विषयमा बुधबारको बैठकमा समेत कुरा उठ्न सक्ने जनजाति सभासदहरुले बताएका छन् ।


0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.