बंगुरको मासु खाँदा सावधान ..ज्यानै जान सक्छ

बंगुरको मासु सामान्य किसिमले उसिनेर, साँधेर वा राम्रोसँग नपकाई खाएमा ट्राइकोनोसिस भन्ने रोग सर्न सक्छ । घरपालुवा सुँगुर होस् वा जंगलमा विचरण गर्ने बँदेल नै किन नहोस्, यस प्राणीलाई यो रोगको परजीवीको मुख्य आश्रयस्थल नै मानिन्छ । त्यसैले जथाभावी बंगुरको मासु सेवन गर्नु स्वास्थ्य जोखिममा पार्नु हो । फुच्चे गोल–जुका ट्राइकेनेला एस्पाइरालिसका कारण यो रोग लाग्छ । यस प्रजातिको परजीवीलाई ट्राइचिना पनि भनिन्छ । ग्रीक भाषाको यस शब्दको अर्थ रौंजस्तै भन्ने हुन्छ । तर सुँगुर, बंगुर तथा बँदेल जे नामले पुकारे पनि यसको मासु राम्ररी पकाएर सेवन गर्ने हो भने यो रोग लाग्नबाट बच्न सकिन्छ ।





नेपालमा उच्च जोखिम
विगतका दशकमा अमेरिकामा गरिएको सर्वेक्षणअनुसार बर्सेनि यस रोगका कारण सयदेखि डेढ सय मानिसको मृत्यु हुने गरेको पाइन्छ । एक अध्ययनले सुँगुर, बंगुर तथा बँदेलजन्य पशुको अधकल्चो पाकेको मासु सेवन गर्ने ७३ प्रतिशत मानिसमा यो रोग पाइएको देखाएको छ । होटल, रेस्टुरेन्टका रछ्यान अनि सहरी तथा ग्रामीण क्षेत्रका फोहोरमैला खुवाएर पालिएका बंगुर प्रजाति यो परजीवीको संक्रमणमा पर्ने गरेका छन् । यसकारण पनि कतिपय विकसित मुलुकमा यसरी बंगुर पाल्न कानुनीरुपमा प्रतिबन्ध नै गरिएको छ । तर नेपालमा भने बंगुर पाल्नका लागि प्रमुख आधार नै यही फोहोरमैला रहेको अवस्थामा यसको जोखिम निकै उच्च हुन सक्छ तर यसको प्राज्ञिक अनुसन्धान हुन सकेको छैन । आफ्नो पुख्र्यौली पेसाका रुपमा परम्परागतरुपमै बंगुर पाल्ने समुदाय पनि छन् । यसरी पालिएका बंगुरजन्य पशुले यताउता फोहोरमा डुलेरै आफ्नो आहारा खोज्ने गरेको पाइन्छ । व्यवस्थित रुपले बंगुर पालेर स्वच्छ मासु उपभोक्तासमक्ष पुर्याउने कार्य हुन सकेको पाइँदैन । त्यसैले जोखिम मोलेर भए पनि संक्रमित सुँगुरजन्य पशुको मासु खान उपभोक्ताहरु बाध्य छन् ।

रोगको लक्षण
प्राकृतिकरुपमा ट्राइकोनोसिसबाट संक्रमित बंगुर प्रजातिमा यसको प्रत्यक्ष लक्षण देखिँदैन । तर बंगुरमा अत्यधिक मात्रामा यो परजीवी पठाई गरेको एक अध्ययनमा भने बंगुरमा कटी–पक्षघातका साथै मूच्र्छा हुने गरेको पाइयो । मानिसमा चाहिँ यो परजीवीले आन्द्रा छेड्न पुग्यो भने झाडापखाला लाग्नुका साथै पेट दुख्ने हुन सक्छ । परजीवीबाट प्रदूषित बंगुर प्रजातिको पूरा नपाकेको मासु सेवन गर्दा यी परजीवी मानिसको रक्तसञ्चार प्रणालीमा प्रवाहित हुन पुगेमा भने ज्वरो आउने, अनुहार सुन्निने, आँखावरिपरि सुन्निने, छालामा दरफराएजस्तो हुने, नङको जरामा रक्तस्राव हुने लक्षण देखिन्छ । यसका साथै आँखाको सेतो रहने भागमा पनि रक्तस्राव देखिन सक्छ ।
यस रोगको तीक्ष्ण अवस्थामा भने मुटुको मांसपेशीमा हुने विकृति, मायोर्काडाइटिस, निमोनिया तथा मस्तिष्कमा इन्सेफलाइटिस हुन सक्छ । यी सबै लक्षण बिरामीमा एकै पटक देखिन पुगेमा उसले मृत्युवरण गर्नुपर्ने हुन्छ ।

रोगको निदान    
सामान्यतया पशुको मासु तयार गर्ने क्रममा पेट–आन्द्रासँग टाँसिएको बोसोमा स–साना पानीको थैलाजस्तो भेटिनु सामान्य मानिन्छ । यस्ता पानीका फोका धेरै भएमा त्यस्तो मासु खानयोग्य हुँदैन । तैपनि यसको भरमा ट्राइकोनोसिसको प्रकोप भनेर यकिन गर्नचाहिँ सकिन्न । बंगुर प्रजातिमा गोल–जुका ट्राइकेनेला एस्पाइरालिस हुने सम्भावना बढी भएकोले व्यवस्थित वधस्थल तथा मासुजाँचको सुनिश्चितता भएमा नै उक्त परजीवीको संक्रमण छैन भन्न सकिएला । तर हाम्रो जस्तो मुलुकमा प्रायः अव्यवस्थित मासु उद्योग र जथाभावी मासु उपभोग भइरहेको स्थितिमा यो कुरा पनि असम्भव देखिन्छ ।माथि पहिले नै उल्लेख गरिएका लक्षणहरु मानिसमा ठ्याक्कै मिलेमा यही ट्राइकोनोसिस रोग हो भन्ने अवस्था आउँछ । आँखावरिपरि र शरीरको मांसपेशी नपत्याउने गरी सुन्निएमा, बेला–कुबेला ज्वरो आउने अनि पिनासको लक्षण देखिएमा तथा बिरामीले अधकल्चो बंगुर प्रजातिको मासु खाने गरेको पाइएमा प्रयोगशाला परीक्षण नगरी पनि ट्राइकोनोसिस रोग हो भन्ने अनुमान गर्न सकिन्छ । त्यसपछि प्रयोगशालामा परीक्षण गराएर चिश्चित हुन सकिन्छ ।बंगुर प्रजातिको अधकल्चो मासु सेवन गरेको ३–४ हप्तामा मांसपेशीको नमुना जाँच गर्ने हो भने पनि यो रोग भए⁄नभएको संकेत पाउन सकिन्छ । अझ रगतको वेन्टोनाइट फलोकुलाटेसन जाँचलाई यो रोग भए⁄नभएको पत्ता लगाउने उत्तम प्रयोगशाला विधि मानिन्छ । यो जाँचले रोग भए⁄नभएको बेलैमा थाहा हुन्छ । यसबाहेक इलैजा प्रविधिबाट पनि छिटो र भरपर्दो किसिमले यो रोगको निदान गर्न सकिन्छ । वधस्थल, वधशाला अनि मासु जाँच गर्ने क्रममा बंगुर प्रजातिको मांसपेशीको छड्के जाँच गर्ने हो र त्यस्तो परजीवी भेटिएमा तुरुन्तै संक्रमित पशु र मासु नष्ट गरिदिने हो भने यो रोग लाग्ला भन्ने चिन्ता नै गर्नुपर्दैन ।

जोखिम न्यूनीकरण र बचावट   नेपालको परिप्रेक्ष्यमा बंगुरजन्य पशुको मासु खाने नै हो भने १६० डिग्री फरेनहाइटमा पकाएर मात्र खानुपर्छ । त्योभन्दा कम तापक्रममा पकाएर खाएमा रोगको सम्भावना अत्यधिक हुन्छ र ज्यानै जान पनि सक्छ । त्यस्तै होटल, रेस्टुरेन्ट आदिबाट संकलित फोहोर पदार्थ सुँगुरजन्य पशुलाई खुवाउनुअघि प्रशोधन गरिनुपर्छ वा त्यस्ता पदार्थ खुवाउन निषेध नै गरी बंगुरपालन व्यवस्थित गर्नुपर्छ । किनकि फोहोरजन्य पदार्थबाट नै बंगुरमा रोगको परजीवी संक्रमण हुने हो ।बंगुरको मासुबाट सर्ने यो रोगको उपचार खासै पत्ता लाग्न सकेको छैन । त्यसैले सतर्कता अपनाउनु नै बेस हुन्छ । बंगुर पालनको वैज्ञानिक व्यवस्थापन, वधस्थल अनुगमन अनि मासु जाँच तथा प्रमाणीकरणका साथै जनसमुदायमा यस रोगबारे सचेतना कार्यक्रम सञ्चालन गर्ने हो भने जोखिम न्यूनीकरण गर्न सकिन्छ ।्

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.