जनकपुर बम काण्डका मुख्य योजनाकार मानिएका निलम्बित सभासद सञ्जय शाहका आफन्तलाई एमाओवादीले आफ्नो पार्टीमा भित्र्याएको छ ।
एमाओवादी अध्यक्ष प्रचण्डले उनीहरुलाई आइतबार जनकपुरमै पुगेर अबिर माला लगाएर पार्टीमा भित्र्याएका हुन् । प्रचण्डले रामशंकर पासवानको नेतृत्वमा साहका समर्थकहरुसहित झण्डै २ सय युवाहरुलाई अबिरमाला लगाएर पार्टीमा प्रवेश गराएको बताइएको छ ।
पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले जनकपुर बमकाण्डका योजनाकार भएको आरोपमा पक्राउ परेका सञ्जय साहसहितको सम्पत्ति रोक्का गर्नु गलत भएको बताए । उनले शाह दोषी भए–नभएको आफूले भन्न नमिल्ने तर, साहसहितको सम्पत्ति रोक्का गर्नु भने गलत भएको बताए ।
उनले यसबारे सदनमा आवाज उठाउने समेत बताए ।
यसअघि शाहकै पार्टी सद्भावनाले उनको पक्षमा सदनमा आवाज उठाएको थियो ।
शाह निर्दोष रहेको दाबी गर्दै पार्टी अध्यक्ष लक्ष्मणलाल कर्णले उनको र आफन्तहरुको नाममा रहेको सम्पत्ती रोक्का नगर्न माग गरेका थिए ।
उनले सुरुदेखि नै शाहलाई झुटा मुद्दा लगाइएर फसाइएको दाबी गर्दै संसद्को बैठकमा भनेका थिए– सरकारले सभासद् सञ्जय साहमाथि बमकाण्डको झुठा मुद्दा लगाएको र परिवार तथा अन्य नातेदारको पनि सम्पत्ति रोक्का गरिदिएको छ, यसको फुकुवा गर्न म जोडदार माग गर्दछु ।
उनले पैतृक सम्पत्ति रोक्काबारे छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग समेत माग गरेका थिए ।
जनकपुर बम काण्डका मुख्य योजनाकार भनिएका साहलाई प्रहरीले गत बैशाखमा पक्राउ गरेको थियो । धनुषाको सिमा क्षेत्रबाट प्रहरीको बिशेष टोलीले साहलाई पक्राउ गरेको थियो ।
जनकपुरको रामानन्द चौकमा छुट्टै मिथिला राज्यको माग गर्दै धर्नामा बसेकालाई लक्षित गरी दुई वर्ष अघि बम बिस्फोट गराइएको थियो । बिस्फोटमा कलाकार रञ्जु झासहित ५ जनाको मृत्यु भएको थियो । सो काण्डमा पक्राउ परेका अन्य अभियुक्तहरुले बिष्फोटको मुख्य योजनाकार साह भएको बयान दिएपछि प्रहरीले उनको खोजी तिव्र पारेको थियो ।
पक्राउ परेलगत्तै उनलाई सभासदबाट निलम्बन गरिएको थियो भने उनको र परिवारका नाममा रहेको सम्पत्ती समेत अहिले रोक्का गरिएको छ । साह धनुषा ४ बाट निर्वाचित भएका थिए ।
हिजोमात्रै जनकपुरमा आयोजित २२ दलीय सभाको लागि जनकपुर पुगेका प्रचण्डले आज शाहका आफन्तसहितका दर्जनौं युवाहरुलदाई पार्टीमा प्रवेश गराएका हुन् ।
Zest Khabar |
0 comments
Write Down Your Responses