जीवित श्रीमान्लाई मरेको भन्दै मृत्युदर्ता

रुकुम, असोज ३१ – मान्छेले धनका लागि के–के गर्दोरहेछ भन्ने कुरा रुकुमको एउटा घटनालाई हेरे पुग्छ । धनकै लागि रुकुममा एउटा अचम्मको घटना सृजना भएको छ । रुकुम बाँफिकोट २ छिनखेत निवासी ५३ वर्षीय रुद्र बहादुर मल्ल जीवित छन् तर उनलाई कानुनी रुपमा मृत्यु गराईएको छ । यसरी जीउँदो मान्छेलाई कानुनी रुपमा मृत्यु गराउने अरु कोही नभएर उनकै श्रीमती बलकुमारी मल्ल हुन् । उनले श्रीमान रुद्र बहादुर मल्ल ०६२ असारमा भारतमा गएको मौका छोपी मृत्यु दर्ता गराएकी हुन् । श्रीमतीले २०६३ साल माघमा आफ्नो मृत्यु दर्ता गरेको रुद्र मल्लले देखेसो पोखे ।   श्रीमती बलकुमारीले पैसाकै लागि जग्गा बेच्न आफ्नै श्रीमानलाई मरेको भन्दै झुटो मृत्यु दर्ता गरेकी हुन् । श्रीमती बलकुमारी पनि कति बाठी ? आफ्नो श्रीमान कमाउन भनी भारत गएको मौका छोपी गाविस कार्यालयमा गई मृत्यु दर्ता गराएकी हुन् । श्रीमती बलकुमारीले श्रीमानलाई मृत्यु दर्ता मात्र गराइनन् उनले छिनखेतमा रहेको जग्गा पनि बिक्री गरिसकेको श्रीमान रुद्र बहादुर मल्लले बताए । आफ्नै श्रीमतीले आफूलाई मृत्यु भएको भनी जग्गा बेचेको देख्दा श्रीमान रुद्रबहादुर मल्ल भने छांगाबाट खसेजस्तै भएका छन् । न्यायको लागि सदरमुकाम खलंगामा आएका रुद्रले भने– श्रीमतीले यस्तो गर्लिन् भन्ने म कल्पना पनि गर्न सक्दिनँ, तर उनले यसो किन गरिन् ? म आफैँलाई थाहा छैन, रुद्रले दुखेसो पौख्दै भने । श्रीमान–श्रीमती मिलेर घरजम गरि खाउँला, जीवन सँगै काटौँला भनेर पो बिहे गरिएको हो, यसरी मार्न त गरिएको होईन नी ? उनले प्रतिप्रश्न गरे ।   अहिले न्यायको लागि श्रीमान रुद्र बहादुर मल्लले अदालतमा मुद्दासमेत दिईसकेको बताए । नेकपा माओवादी समर्थित मल्ल आफूलाई थप केही हुने डरले हालै नेपाली काँग्रेस रुकुममा पार्टी प्रवेश पनि गरेका छन् । उनलाई नेपाली काँग्रेस रुकुमका सह सचिव भिमबहादुर खड्काले अविर आवरण गरेर पार्टी प्रवेश गराएका हुन् । यसरी आफ्नै श्रीमतीले श्रीमानको मृत्यु दर्ता गरी जग्गा बेच्नुको मुख्य कारण भने श्रीमान रुद्र बहादुर मल्लले कान्छी श्रीमती बिहे गरेको कारण आवेगमा आई मृत्यु दर्ता गरेको हुन सक्ने बताईएको छ । श्रीमान रुद्रबहादुर मल्ल अहिले कान्छी श्रीमतीसँगै बस्दै आएका छन् ।

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.