कता हराए जल शाह, निरूता सिंह, बिराज, दिलिप र रमेश

 आदिकवि भानुभक्तको जीवनीमा यादव खरेलले निर्माण गरेको फिल्म भानुभक्तमा शीर्ष भूमिका निभाएका दिलीप रायमाझीलाई नारायण पुरीले लक्ष्मणरेखा फिल्मबाट हिरो बनाए । तर उनी तुलसी घिमिरेको दर्पण छायाबाट एकाएक स्टार बने । त्यसपछिका केही वर्ष उनले पछाडि फर्केर हेर्नुपरेन ।
एकताका रमेश उप्रेती चर्चित मात्र होइन,उत्तिकै व्यस्त पनि थिए । रगत,करोडपति ,यो मायाले लौ न सतायोका भिलेन रमेशलाई स्व. दीपक रायमाझीले पराइघर फिल्मबाट हिरोमा बढुवा गरेका हुन् । हिरोमा बढुवा भएपछि उनलाई लिन निर्देशकहरुको हानाथाप नै पर्दथ्र्यो । बलिउडपछि नेपाली फिल्ममा कडा संघर्ष गरेर पिँजडाबाट हिरोका रुपमा डेब्यु भएका निखिल उप्रेती स्टन्ट हिरोका रुपमा स्थापित भए ।
पिँजडामा उनले सात तलामाथिबाट हाम फालेर दुनियाँलाई चकित पारे । त्यसपछि उनको भाग्य बल्यो । एक समय यस्तो पनि आयो कि निखिलाई लिन निर्माता,निर्देशकले वर्ष दिनसम्म कुरे । निखिललाई लिए फिल्म कन्फर्म हिट मानिन्थ्यो । डेढदशकको संघर्षपछि अग्नीपथबाट हिरो बनेका बिराज भट्टले आफूलाई छोटो समयमै स्टार बनाए । हुँदाहुँदा उनीविनाका फिल्म नै नचल्ने अवस्था आयो । जल शाह,विपना थापा,निरुता सिंह पनि एक समयमा निकै चर्चामा थिए । उनीहरुलाई प्रतिस्पर्धी हिरोइनका रुपमा हेरिन्थ्यो ।
विशेषगरी दयाराम दाहालको ठूल्दाइमा एकसाथ अभिनय गरेपछि जल र निरुता ‘डिमान्डेड’ भएका हुन् । उनीहरुका हातमा पनि फिल्म नै फिल्म हुने गर्दथ्यो । तर,कठै ! माथि उल्खिित ती ‘स्टार’हरु अहिले नेपाली फिल्म क्षेत्रमा ओझेलमा छन् । कतिपय त पलायन नै भइसके । कुनै समय आफ्नो बर्चस्व कायम राखेका उनीहरुमध्ये केही भने पुनः ‘स्ट्रगल’मा लागेका छन् । २०५७ देखि २०६५ सम्म दिलीपको स्टारडम उत्तिकै तेजिलो थियो । तर,त्यसपछि भने उनका फिल्म एकपछि अर्को फ्लप हुँदै गए । पहिले उनका हातमा टन्नै फिल्म हुन्थे तर उनले त्यसपछि फिल्म पाउनै छाडे । जसकारण उनी फिल्म निर्माणमा होमिए । तर यसमा पनि सफलता हात लागेन । अचेल दिलीप सुटिङमा व्यस्त हुने गरेका छन् । रमेश उप्रेतीको त के कुरा गर्नु ? दुई–चारवटा फिल्म चले भन्दैमा अहंता पलाएपछि उनलाई दर्शकले होइन,फिल्मकर्मीले नै साथ दिन छाडेका छन् । फिल्म हात पर्न छाडेपछि अमेरिका उडेका उनी केही समययता भने काठमाडौंमा नै छन् ।
नेपाली फिल्म पाउँदा पाउँदै मुम्बई संघर्षमा होमिएका निखिल उप्रेती आफ्नै निर्देशनमा भैरब निर्माण गरिरहेका छन् । अर्का नायक विराज भट्ट पनि भोजपुरी फिल्म भेट्न छाडेपछि नेपाली फिल्म खेल्नका लागि संघर्ष गरिरहेका छन् । नायकि निरुता सिंह अचेल काठमाडौंमै छिन् तर उनको हातमा अहिले कुनै फिल्म छैन । जल शाह अहिले अमेरिकामा छिन् । घरजम पछि फिल्मलाई बाइबाई गरेकी उनी अस्वभाविक मोटोपनाका कारण फिल्म क्षेत्रमा फर्किने सम्भावना क्षीण छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.