बाबुको मृत्युपछि छोराका हत्यारालाई कारबाही गर्ने प्रतिबद्धता
छोराको हत्यारामाथि कारबाहीको माग गर्दै अनशन बस्दै नन्दप्रसाद अधिकारी र उनकी पत्नी । अनशनकै अवस्थामा नन्दप्रसादको सोमबार वीर अस्पतालमा निधन भएको छ ।
आफ्ना १७ वर्षीय छोराको हत्यामा संलग्नहरुलाई कारबाही गर्नुपर्न माग गर्दै ११ महिनादेखि अनशनमा बसेका गोरखा फुजेलका नन्दप्रसाद अधिकारी दम्पत्तिमध्ये नन्दप्रसादको मृत्यु भएको भोलिपल्ट सरकारले अधिकारी हत्याका संलग्नलाई कारबाही गर्ने प्रतिबद्धता जनाएको छ ।
सरकारले गोरखा फुजेल गाविस–७ का नन्दप्रसाद अधिकारी दम्पतीका छोरा कृष्णप्रसादको हत्यामा संलग्न दोषीलाई कानुनी कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँहरूले आरम्भ गर्नुभएको न्यायिक उपचारको प्रक्रियालाई निरन्तरता दिने समेत जनाएको छ ।
छोरा कृष्णप्रसादका हत्यारालाई कारबाहीको माग गर्दै गत कात्तिक ७ गतेदेखि अनशन थाल्नुभएका पिता नन्दप्रसादको हिजो निधन भएकामा गहिरो दुःख व्यक्त गर्दै सरकारले उहाँको शव बुझेर सद्गत गर्न मृतकका परिवारजनमा अनुरोध गरेको छ ।
साथै, सरकारले मृतककी श्रीमती गङ्गामाया अधिकारीलाई मुलुकको प्रचलित कानुन तथा न्यायिक प्रक्रियामा विश्वास गर्दै अनशन अन्त्य गर्न पुनः आग्रह गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार एक विज्ञप्ति जारी गरी श्रीमती अधिकारीको अनशन अन्त्यका निम्ति आवश्यक सहयोग गरिदिन मानवअधिकारकर्मीलगायत नागरिक समाजसँग अनुरोध गरेको छ ।
‘सरकार मुलुकको प्रचलित संविधान, कानुन, अन्तर्राष्ट्रिय प्रतिबद्धता, न्यायका मान्य सिद्धान्त, सर्वोच्च अदालतका फैसला तथा राष्ट्रिय मानव अधिकार आयोगका सिफारिसका आधारमा मानव अधिकार उल्लङ्घन हुन नदिन लागिपरेको र कथंकदाचित उल्लङ्घन भइहालेमा जुनसुकै व्यक्तिलाई कानुनको दायरामा ल्याई पीडकलाई दण्ड र पीडितलाई न्याय दिलाउन प्रतिबद्ध छ’, विज्ञप्तिमा भनिएको छ ।
सरकारले अधिकारी दम्पतीको भोगचलन, स्वामित्वमा रहेको चलअचल सम्पत्तिबाट विस्थापित हुनुपरेकाले त्यसको क्षतिपूर्तिका सन्दर्भमा राहत, पूर्ववत् पुनःस्थापना, उचित क्षतिपूर्ति र सुरक्षाको भरपर्दो प्रबन्ध गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।
अधिकारी दम्पतीका छोराको हत्यामा संलग्न रहेको अनुसन्धानबाट देखिएका रुद्र आचार्य नेपाल बाहिर रहेको जानकारी प्राप्त भएकाले उनलाई पक्राउ गर्न अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) मार्फत् सूचनासमेत जारी गरिसकिएको स्मरण गराउँदै सरकारले अधिकारी दम्पतीको अनशन असान्दर्भिक भइसकेको स्पष्ट गरेको छ ।
0 comments
Write Down Your Responses