सवारी नियम उल्लङ्घन गर्नेको जानकारी दिनेलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले एकसय रुपैयाँको रिचार्ज कार्ड दिने भएको छ । सवारी नियम उल्लङ्घन गरिएको पुष्टि हुने गरी ट्राफिक प्रहरीलाई जानकारी दिएमा तुरुन्तै रिचार्ज कार्ड प्रदान गर्ने ट्राफिक प्रहरी प्रमुख प्रवीण आचार्यले जानकारी दिए । यातायात व्यवसायी समिति गोरखासँगको समन्वयमा ट्राफिक प्रहरीले रिचार्ज कार्ड दिने भएको हो । “प्रहरीले कहाँबाट पैसा ल्याएर रिचार्ज दिन्छ भन्ने प्रश्न आउन सक्छ”–प्रमुख आचार्य भन्छन्–“यातायात व्यवसायी समितिसँगको समन्वयमा यस्तो योजना ल्याएका हौँ ।” ट्राफिक प्रहरीले व्यस्त चोकमा हेल्प डेस्क स्थापना गरेर रिचार्ज कार्ड अभियान सुरु भएको बताएको छ । गोरखाको हरमटारी चोक, क्षेत्र नम्बर २ प्रवेश गर्ने बाह्रकिलो बजार चोक, क्षेत्र नं ३ को घ्याम्पेसाल चोक, दोस्रो व्यापारिक केन्द्र आरुघाट बजार, क्षेत्र नं २ को पालुङटार, भच्चेक, छोप्राकको चोरकाटेलगायतका ठाउँमा पनि हेल्प डेस्क स्थापना गरेको ट्राफिक प्रहरीले जनाएको छ । हेल्प डेस्कमा स्थानीय बासिन्दालाई ट्राफिक नियमबारे जानकारी दिने पर्चालगायतका सामग्री राखिएको छ । आचार्य भन्छन्– “अक्षर नचिनेकालाई आवाजमार्फत ट्राफिक नियमबारे सामान्य जानकारी दिएका छौँ” । सवारी चालकले ट्राफिक नियम उल्लङ्घन गरेको जो–कोहीले देखेमा प्रहरीको पैसा नलाग्ने टेलिफोन १०० मा तुरुन्तै सम्पर्क गरेर जानकारी दिन सर्वसाधारणलाई ट्राफिक प्रहरीले अनुरोध पनि गरेको छ ।
सवारी नियम उल्लङ्घनको जानकारी दिनेलाई एक सयको रिचार्ज कार्ड
Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News
Powered by Blogger.
0 comments
Write Down Your Responses