चलचित्र भन्‍दा त नाटक नै प्‍यारो

चलचित्र 'लुट'को सफलतासँगै अभिनेत्री सिर्जना सुब्बाको पनि चर्चा चुलियो। पारिजातको कथामा आधारित टेलिशृंखला 'साल्गीको बलात्कृत आँसु'मा राम्रो अभिनय देखाएकी सिर्जनाले ठूलो पर्दाको चलचित्र 'आवाज'बाट डेब्यु गरेकी हुन्।त्यसपछि उनले 'दीपशिखा'मा पनि अभिनय गरिसकेकी छन्।


उनी अभिनीत 'राहदानी', 'नतिजा', 'सूर्यग्रहण' र 'डाइङ क्यान्डल' चाँडै आउँदैछ। प्रस्तुत छ, अन्‍नपूर्ण पोस्ट्ले उनीसँग गरेको संक्षिप्त वार्ता :

भर्खरै सम्मानित हुनुभयो, के कारणले सम्मानित हुनुभयो जस्तो लाग्छ?

लिम्बू जातिको क्षेत्रमा आफ्नो तर्फबाट योगदान गरेबापत सम्मान पाएजस्तो लाग्छ। यसबाट मलाई महसुस भयो, मैले लिम्बू संस्कृतिमा केही योगदान गरेकी छु। मैले डकुमेन्ट्री बनाएँ, लिम्बू संस्कृतिमाथि।

म आफैं पनि लिम्बू गीतको म्युजिक भिडियोहरूमा खेलिरहेकी छु। यस्तै लिम्बू चलचित्रकर्मीहरूको संस्था याक्थुङ मुन्चइतको उपाध्यक्षका रूपमा काम गरिरहेकी छु। यसले लिम्बू चलचित्रसम्बन्धी अवधारणा बनाइरहेको छ।

कलाकार मान्छे कत्तिको व्यस्त हुनुहुन्छ?

कलाकार भएपछि व्यस्त भइन्छ नै। अघिल्लो वर्षको तिहारपछि नाटकमा व्यस्त भएँ। भदौ महिनामा मात्रै नाटक नगरेको हो। मण्डला थिएटरबाट 'डिग्री माइला', 'चरणदास चोर' दोहर्‍याइयो। 'लोरी', 'मीतज्यू' र 'हेत्छाकुप्पा' पनि गरियो।

नेपालबाहिरको नाटक 'मुठभेट' गरियो। नाटक न्यूनतम पनि एक महिना चल्छ। यस्तै नयाँ नाटक छ भने एकडेढ महिना लाग्छ, रिहर्सल गर्न। त्यसैले व्यस्तै छु।

तपाईं नाटक कलाकार कि चलचित्र कलाकार?

म आफूलाई खासगरी रंगकर्मी भन्छु। कामचाहिँ कलाकार हो, जता काम राम्रो हुन्छ त्यतै गरिन्छ। सामान्यत: नाटकसँगै अलि बढी नजिक छु।

नाटकमा निकै व्यस्त हुनुहुन्छ, तपाईंलाई चलचित्रभन्दा नाटक नै प्यारो लाग्छ कि क्या हो?

मेरो अभिनय यात्राको आधार नाटक नै हो। नाटक गर्दा आफूले भनेजस्तो वा चाहेजस्तो अभिनय गर्न पाइन्छ। नाटकको अभिनयमा आफूलाई आत्मसन्तुष्टि मिल्छ। आफूमा कति क्षमता छ, त्यो नाटकमा देखाउन सक्छौं।

चलचित्रमा महिला कलाकारलाई अधिकांश चलचित्रले 'सो पिस'को रूपमा मात्र देखाउने गरेका छन्। नाटक नै रमाइलो लाग्छ मलाई। मैले खेलेको चलचित्र प्राय: अलग धारको छ।

भर्खरै हङकङमा नाटक देखाएर आउनुभयो, त्यहाँ नाटकलाई कस्तो रूपमा लिँदा रहेछन्?

हङकङमा १२ वर्षपछि नाटक गएको रहेछ। १२ वर्षअघि अनाम नाट्य जमातले देखाएको नाटक कचहरीजस्तो रहेछ। यसपटक जसले नाटक हेरे, उनीहरू त्यो ठाउँमा नाटक हेर्ने पहिलो पुस्ताका रहेछन्, कहिल्यै पनि नाटक नहेरेका।

तीनवटा पुस्ता आएका थिए, नाटक हेर्न। कोही हजुरआमासरहका, कोही बुबासरहका र भर्खरै स्कुल पढ्दै गरेकाहरू पनि आएका रहेछन्। हामीले त्यहाँ 'लोरी' नाटक लगेका थियौं।

सामान्य कथा भएको नाटक हो यो, सरल रूपमा बुझिने। हङकङवासी नेपालीले नाटक हेरेर रमाइलो माने, राम्रो प्रतिक्रिया दिए। हाम्रो लागि यही उपलब्धि भयो।

नेपाली रजतपटमा पनि छाइरहनुभएको छ, आफ्नो मूल्यांकनमा तपाईं कस्तो खालकी नायिका हुनुहुन्छ?

चलचित्रमा नायिकाको भूमिका भए पनि म आफूलाई कलाकारमात्रै ठान्छु। नायिकाचाहिँ चलचित्रभरिमात्रै हो। नायिका भन्ने त भूमिकामात्रै हो। आफूलाई नायिका भनेर चिनाउँदा अप्ठ्यारो लाग्छ।

कहिलेसम्म अभिनय गरिरहनुहुन्छ, नाटक र चलचित्रमा?

कहिलेसम्म भन्ने नै छैन। मेरो अरू काम छैन। सोचेको पनि छैन। बुढेशकालसम्म नाटक र चलचित्र खेल्ने हो। म पूर्णकालीन कलाकार हुँ। अन्नपूर्ण पोस्ट

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.