बेलायती विदेशमन्त्री फिलिप ह्यामन्डले बेलायती अंग्रेजी उच्चारण भएको व्यक्तिले अमेरिकी पत्रकार जेम्स फोलीको हत्या गर्नु बेलायतप्रति ठूलो विश्वासघात भएको आइतबार बताए।
बेलायती राहदानी भएका हत्यारा हाल इराक र सिरियामा युद्ध गर्न गएको तथा उसले बेलायत फर्केर आक्रमण गर्नसक्ने चिन्ता लन्डनमा व्यक्त हुन थालेका बेला विदेशमन्त्री ह्यामन्डको भनाइ आएको हो।
इस्लामिक स्टेट (आइएस) लडाकु समूहले गएको मंगलबार फोलीको हत्या भएको भिडियो सार्वजनिक गरेको थियो। फोलीलाई सन् २०१२ मा सिरियामा बन्धक बनाएपछि उनी फेला पर्न सकेका थिएनन्। लन्डनका स्थानीय बासिन्दाकै जस्तो अंग्रेजी उच्चारण भएको र टाउको छोपिएको एक जनाले फोलीको हत्या गरेको भिडियोमा देखिएको थियो।
‘द सन्डे टाइम्स' पत्रिकाले सरकारका वरिष्ठ अधिकारीलाई उद्धृत गरी गुप्तचर सेवाले फोलीको हत्याराको पहिचान फेला पारेको जानकारी दिएको छ। पत्रिकाले ती अधिकारीको नाम उल्लेख गरेको छैन भने हत्याराबारे थप जानकारी पनि दिएको छैन।
यसै साता ‘सन्डे टाइम्स'मा एक लेख प्रकाशन गर्दै विदेशमन्त्री ह्यामन्डले यस्तो गम्भीर अपराधमा संलग्न अपराधी बेलायतमा हुर्केको सोच्दा पनि कहाली लाग्ने उल्लेख गरेका थिए। लेखमा यस्तो कार्य मुलुक, बेलायती मूल्य तथा बेलायती जनताको अडानप्रति विश्वासघात भएको उल्लेख उनले गरेका थिए।
आइएसले इराक तथा सिरियाको ठूलो क्षेत्र नियन्त्रणमा लिइ त्यसलाई पश्चिमी मुलुकमाथि आक्रमण गर्ने आतंकवादी आधारभूमि बनाउन खोजेको ह्यामन्डले चेतावनी दिएका थिए। उनले आइएसलाई नरोके ढिलोचाँडो बेलायतमा पनि आक्रमण गर्ने बताए।
बेलायतले इराकमा आइएस लडाकुसँग लड्न स्थल सेना पठाउन भने अस्वीकार गरेको छ। बेलायतमा मुसलमान युवालाई कट्टरपन्थी बनाउने क्रियाकलापमा रोक लगाउन सरकारमाथि दबाब परेको छ। कट्टर केही युवा विदेशमा युद्ध प्रशिक्षणका लागि जाने गरेका छन्।
बेलायतका गुप्तचर संस्थाहरूले गएका केही वर्षमा करिब ५ सय बेलायती नागरिक सिरिया र इराक गएर युद्धमा सामेल भएको जानकारी दिएका छन्।
बेलायती गृहमन्त्री टेरेसा मेले सरकारले कट्टरपन्थी बनाउने क्रियाकलाप रोक्न नयाँ पाइला लिनसक्ने बताएकी छन्। यसमा लडाकू समूहमाथि प्रतिबन्ध गर्ने आदेश पनि आउन सक्छ। विपक्षी लेबर पार्टीले यसबारे विस्तृत विवरण दिन सरकारले ढिला गरेको आरोप लगाएको छ।
‘फोलीको हत्या विश्वासघात हो'
Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News
Powered by Blogger.
0 comments
Write Down Your Responses