के हो इबोला भाइरस ? कसरी बच्ने ?
इबोला एक प्रकारको जीवाणु हो । यसलाई चिकित्सकीय भाषामा हेमोरेजिक फिभर भनिन्छ । सन् १९७६ मा कङ्गोको इबोला नदीको वरपरका घुमन्ते चमेरामा यो जीवाणु देखिएको थियो । इबोला नदीको नामबाटै वैज्ञानिकहरुले इबोला नामकरण गरिदिएको वरिष्ठ चिकित्सक सुन्दरमणि दीक्षितले जानकारी दिनुभयो ।
उहाँका अनुसार पछि यो जीवाणु चमेराबाट जङ्गली जनावरमा सङ्क्रमित हुन पुग्यो । जङ्गली जनावरबाट मान्छेमा सङ्क्रमित हुन पुग्दा अहिले सो जीवाणुको सङ्क्रमण रोक्न विश्वलाई चुनौती बनिराखेको छ ।
जीवाणुबाट सङ्क्रमित भएमा बाँच्ने सम्भावना केवल १० प्रतिशतमात्र हुन्छ । एक महिना अगाडि पुनः देखिएको यो जीवाणुको सङ्क्रमणबाट खासगरी दक्षिणी अफ्रिकी देशहरु गिनी, नाइजेरिया, लाइबेरिया र सियरालियोन यसबाट प्रभावित हुन पुगेका छन् ।
यो जीवाणुका कारण ती देशमा हालसम्म एक हजारभन्दा बढीको अकालमा मृत्यु भइसकेको बताइन्छ ।
इबोलाको लक्षण
ज्वरो आउनु, वाक्वाकी लाग्नु, घाँटीमा खसखस हुनु, मासंपेशीहरु तथा टाउको दुख्नु, शरीरमा दागहरु देखिनु जस्ता लक्षण यस रोगमा देखिन्छ । चिकित्सक दीक्षितका अनुसार पानी वा हावाका भरमा यो जीवाणु सङ्क्रमित हुँदैन तर सङ्क्रमितहरुका शरीरबाट निस्कने ¥याल, रगत, दिसा पिसाब, पसिना, वीर्य, श्वासप्रश्वासले सर्न सक्छ ।
बच्ने उपाय
हालसम्म यो जीवाणुविरुद्ध कुनै खोप, औषधि तथा एन्टिबायोटिक औषधि विज्ञानले पत्ता लगाउन सकेको छैन । विश्व स्वास्थ्य सङ्गठनले यो रोगबारे अध्ययन अनुसन्धान जारी नै रहेको जनाएको छ ।
सङ्गठनका अनुसार सङ्क्रमितलाई विशेषरुपमा निगरानीमा राखी उपचार गर्नु र अन्यमा सङ्क्रमित हुन नदिनु नै यसबाट सुरक्षित हुने एकमात्र विकल्प हो ।
अहिले इबोलाबाट अफ्रिकी मुलुक गिनी, नाइजेरिया, लाइबेरिया र सियरालियोन नराम्री प्रभावित हुन पुगेको छ । विश्व स्वास्थ्य सङ्गठनले स्वास्थ्य सङ्कटकाल घोषणा गरी उच्च सतर्कता अपनाउन आग्रहसमेत गरेको छ ।
यसैबीच, परराष्ट्र मन्त्रालयले इबोला सङ्क्रमित अफ्रिकी मुलुक गिनी, नाइजेरिया, लाइबेरिया र सियरालियोनको भ्रमण नगर्न नेपालीलाई आग्रह गर्दै अत्यावश्यक कामको सिलसिलामा जानुपरेमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
———————————————–
इबोलाको लक्षण र बच्ने उपाय
अफ्रिकामा महामारीका रुपमा फैलिएको इबोलाबारे नेपालमा पनि सतर्कता अपनाइएको छ । आखिर के हो त इबोला रोग ? यसैसन्दर्भमा इन्टरनेटमा उपलब्ध सामाग्रीका आधारमा गरिएको खोजीअनुसार इबोलाबारे यहाँ केही जानकारी दिने प्रयास गरिएको छ :
इबोला जातका विभिन्न पाँच प्रकारका भाइरसको आक्रमणबाट लाग्ने इबोला रोग लाई रक्तश्राव ज्वरो समेत भनिन्छ । यो भाइरसको आक्रमणपछि रोगीको सरीरका आन्तरिक अंग तथा बाह्य भागमा समेत अनियन्त्रित रुपमा रक्तश्राव हुने भएकाले यसलाई रगत बग्ने ज्वरो भनिएको हो ।
पश्चिम अफ्रिकाका विभिन्न देशमा अहिले महामारीकै रुपमा रहेको इबोला रोगका कारण विश्व स्वास्थ्य संगठनले अन्तराष्ट्रिय स्वास्थ्य संकटकाल समेत घोषणा गरिसकेको छ ।
सन् १९७६ मा पहिलोपटक सुडानको नजरा र कंगोको याम्बुकुमा मानिसमा महामारीकै रुपमा देखा परेेको यो भाइरसको नाम इबोला रहनुका कारण कंगोको याम्बुकु गाउँ इबोला नदीको किनारमा रहेकाले हो ।
इबोला निकै प्राणघातक रोग हो र भाइरसको संक्रमण भैसकेपछि ५० देखि ९० प्रतिशत सम्मको रोगीको मृत्यु हुने गरेको छ ।
कसरी सर्छ ? इबोला भाइरस विभिन्न जंगली जनावरबाट पहिलो पटक अफ्रिकामा मानिसमा सरेको हो । जंगली जनावरको मासु खाने तथा बढि सम्पर्कमा आउने मानिसहरुमा भाइरस संक्रमित जंगली जनावरको रगत, अन्य जैविक रस, मासु आदिबाट भाइरस मानिसमा सर्दछ । खासगरी चिम्पान्जी, गोरिल्ला, बाँदर, सुँगुर, मृग, दुम्सी तथा सबैभन्दा बढि चमेराबाट यो भाइरस मानिसमा सर्दछ ।
इबोला भाइरस मानिस बाट मानिसमा समेत निकै तिब्र रुपमा सर्दछ । खासगरी रगत, अन्य जैविक रस, काटिएका अंगहरुबीचको प्रत्यक्ष सम्पर्कबाट यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ । साथै यौन सम्पर्कका बेला आउने विर्य तथा योनीरसको माध्यमबाट समेत इबोला भाइरस सर्दछ । यो रोगका कारण मरेको मानिसको अन्तिम संस्कारका बेला लासको सम्पर्कमा आउने मानिसमा समेत यो भाइरस सर्ने जोखिम हुने विज्ञहरुको भनाइ छ । साथै स्वास्थ्यकर्मी तथा रोगीको सुसारेमा समेत रोगको संक्रमणको जोखिम बढि हुन्छ ।
लक्षण इबोला भाइरस रोग निकै खतरनाक तथा घातक विषाणुजन्य रोग हो । भाइरसको संक्रमणका कारण मानिसमा अत्यधिक ज्वरो आउने, निकै कमजोर बन्ने, मांशपेशी दुख्ने, टाउको दुख्ने जस्ता लक्षण देखिन्छन् । भाइरसले आक्रमण गरको २ देखि २१ दिनभित्रमा यसका लक्षण मानिसमा देखिन्छन् । ती लक्षणहरु सामान्यतया निम्न छन्-
· उच्च ज्वरो
· टाउको दुख्ने
· जोर्नी तथा मांसपेशीमा पीडा हुने
· घाँटी तथा पेट दुख्ने
· निकै कमजोरी महसुस हुने
· भोक हराउने
· सास फेर्न गाह्रो हुने
भाइरसको आक्रमण बढ्दै जाँदा संक्रमितलाई बान्ता आउने, पखाला लाग्ने, छालामा डावर तथा रातो धब्बा आउने, मृगौला तथा कलेजोले काम गर्न छाड्ने जस्ता जटिल लक्षण देखिन्छन् । रोग छिप्पिँदै जाँदा सरीरका भित्री अंग तथा बाहिरी भागबाट समेत रगत बग्न थाल्छ । नाक, आँखा तथा कान, योनी, गिजाबाट समेत रगत बग्छ भने खकारमा समेत रगत देखिन थाल्छ । आन्द्राबाट समेत रगत बग्न थाल्छ । धेरै रगत बगेर समेत रोगीको मृत्यु हुने खतरा हुन्छ ।
उपचार रगतको परीक्षण पश्चात इबोला भाइरस पत्ता लगाउन सकिन्छ । यद्यपि भाइरसको कुनै प्रभावकारी औषधि भने छैन । धेरै भ्याक्सिनहरु परीक्षण गरिएका भएपनि अहिलेसम्म कुनैपनि खोप आधिकारिक रुपमा प्रयोगमा ल्याइएको छैन । त्यसैले रोगीलाई औषधि भन्दा पनि स्याहारको आवश्यकता हुन्छ । रोगीलाई ढाडस दिने, पर्याप्त मात्रामा पानी खुवाउने, पानीसँगै नुन, चिनी जस्ता लवणहरु समेत घोलेर खुवाउनुपर्छ ।
रोकथाम र नियन्त्रण इबोला भाइरस मानिससँग बढी सम्पर्कमा आउने जंगली जनावर, जस्तै बाँदर तथा सुँगुर जस्ता घरपालुवा जनावरबाट सर्ने भएकाले यस्ता जिवसँगको सम्पर्कमा विशेष सावधानी अपनाउनुपर्छ । घरपालुवा जनावरको खोर सफा गर्दा सोडियम हाइपो क्लोराइड जस्ता डिटरजेन्टले सफा गर्नुपर्छ ।
भाइरस संक्रमण देखिएमा संक्रमित क्षेत्रलाई निर्मलीकरण गर्ने, रोगी पशुपक्षीलाई नष्ट गर्ने र मरेका तथा मारिएका संक्रमित पशुपक्षीलाई होसियारी पूर्वक गाड्ने वा जलाउने गर्नुपर्छ ।
इबोला रोगको कुनै प्रभावकारी उपचार नभएको हुँदा यसको रोकथाममै जोड दिनु आवश्यक छ । त्यसको लागि निम्न विषयमा सजगता अपनाउनुपर्छ-
१. जंगली जनावर तथा घरपालुवा समेतको मासु खाँदा होसियारी अपनाउने, काँचो तथा राम्ररी नपाकेको मासु नखाने, रोगी जनावरको मासु नखाने । मासु खाँदा राम्ररी पकाएर मात्र खाने ।
२.इबोला लागेको रोगी मानिसको सम्पर्कमा आउँदा होसियारी अपनाउने । रोगीको बढी नजिक नजाने, उसले प्रयोग गरेका वस्तुहरु निर्मलीकरण नगरेसम्म प्रंयोग नगर्ने, घरमै समेत यस्ता रोगीको स्याहार गर्दा पञ्जा तथा अन्य सुरक्षाका उपाय अपनाउने । व्यक्तिगत सरसफाइमा ध्यान दिने ।
३. इबोलाबाट मरेका मान्छेको शवलाई प्रभावकारी रुपमा व्यवस्थापन गर्ने, लासबाट समेत भाइरस सर्ने जोखिम भएकाले होसियारी पूर्वक गाड्ने वा जलाउने गर्नुपर्छ ।
0 comments
Write Down Your Responses